हाम्रो बारे

Back to homepage

खाँट्टी राष्ट्रिय सञ्चारको परिकल्पना

sanbad-sanchar-and-esamata

किन

नेपालका लागि खाँट्टी राष्ट्रिय सञ्चारको आवश्यकता छ, जसले सबैजसो नेपालीका समाचार र विचारलाई अभिव्यक्त गरोस् । खसोखास भन्दा ‘मूलधार’का सञ्चारमाध्यममा नेपालका उपेक्षित समुदाय, लिंग र वर्गबारे समाचार र संश्लेषण यथोचित मात्रामा समेटिएका छैनन् । बरु, घरीघरी भ्रामक समाचार र संश्लेषण सम्प्रेषण गर्दै ती समुदायका सवालप्रति नकारात्मक धारणा बनाउने काम गरिएको छ । त्यसैले जल्दाबल्दा घटना र संश्लेषणको सम्प्रेषण गर्दै सबै समुदाय, लिङ्ग र वर्गका समाचार र धारणा पनि नछुटाउने साँच्चीकै राष्ट्रिय मिडिया चाहिएको हो । कुनै पनि समुदाय र वर्गको सवाल नछुटाउने राष्ट्रिय चरित्र बोकेको मिडियाले लोकतन्त्रलाई सदृढ पार्नेछ, राष्ट्रिय एकतालाई मजबुत बनाउनेछ र नागरिकलाई देश विकासमा लाग्न प्रेरित गर्नेछ ।

विभिन्न व्यक्ति र समुदायबाट पहिले भएका सकारात्मक प्रयासले देशमा राजनीतिक, सामाजिक र सांस्कृतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेले पनि ‘मूलधार’का सञ्चारमाध्यमलाई सशक्त चुनौती दिन ती प्रयास सफल भएनन् । संयुक्त प्रयासबाट ‘मूलधार’का सञ्चारमाध्यमलाई दिगो र सशक्त चुनौती दिँदै प्रतिस्पर्धामा उत्री साँच्चीकै समावेशी र खाँटी राष्ट्रिय मिडिया निर्माण गर्न सम्भव छ भन्ने विश्वासका साथ ‘संवाद सञ्चार सहकारी’ स्थापना गरिएको हो ।

कसरी

संवाद सञ्चार सहकारी बनाउन विभिन्न समुदायका अगुवाहरूदेखि लिएर विषयविज्ञहरूबीच लामो गृहकार्य गरिएको थियो । आफ्नै पैसा खर्च गरेर लामा–लामा बैठक बसी विभिन्न गृहकार्य गर्दै सहकारीको रणनीति बनाउने काम गरिएको थियो । यसले सहकारीको भावनाअनुसार सेयर उठाउने काम गरिरहेको छ नै, प्रत्येक सदस्य यसको मिसनअनुसार स्वैच्छिक रूपमा पनि खट्ने र आफूले सक्दो मात्रामा सदस्य बनाउने काममा लागिपरिरहेका छन् । यसका सम्पादकदेखि प्रबन्धक र अन्य पदाधिकारीले कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्मको काम एकसाथ गरिरहेका छन् ।

यसरी सहकारीका मूल्य–मान्यतालाई आत्मसात् गर्दै क्रियाशील रहेको यस संवाद सञ्चार सहकारीले विज्ञहरूसँगै विभिन्न सेयरहोल्डरमार्फत  एक वर्षभन्दा लामो अध्ययन र देश–विदेशमा छलफलपछि व्यावसायिक योजना तयार पारी दिगो राष्ट्रिय मिडियाको कार्ययोजना बनाएको छ । योजना र रणनीति बनाउन सिपालु विज्ञहरूको समूहले बनाएको बिजिनेस प्लानलाई परिमार्जन गरिएपछि सबै समुदायको स्वामित्व हुनेगरी ‘संवाद सञ्चार सहकारी’लाई विस्तार गर्न थालिएको छ ।

एक समुदायप्रति मात्रै लक्षित एकल प्रयासभन्दा पनि आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, खस आर्य, महिला, दुर्गम क्षेत्र र सबै सरोकारवालाको सहकार्यले ठूलो बजार बनाउन तथा दिगो हस्तक्षेप गर्न सहज पार्नेछ । पर्याप्त मात्रामा उपलब्ध लेखन जनशक्ति र अन्य स्रोत–साधनलाई कमजोर व्यवस्थापनले परिचालन गर्न नसकेका अगाडिका अनुभवबाट शिक्षा ग्रहण गर्दै यस सहकार्यले भने व्यावसायिकता र व्यवस्थापन पक्षलाई सुदृढ गरी सफलता चुम्ने योजना बनाएको छ । अनुभवी प्रशासक र आर्थिक विज्ञहरूबाट पारदर्शी र जवाफदेहितालाई आधार मानेर आर्थिक र प्रशासनिक नियमावली बनाउन थालिएको छ । सञ्चालक समितिमा प्रशासन, अर्थ र अन्य क्षेत्रका विज्ञलाई राखी सहकार्यलाई अनुगमन गरिएको छ ।

सहकार्यलाई दलीय पूर्वाग्रहबाट जोगाउन सञ्चालक समिति, सम्पादकमण्डल र संवाददाताको दलगत सम्बन्ध प्रस्ट्याउँदै, दलीय स्वार्थमा यस सहकारीमा काम नगर्ने प्रतिबद्धता व्यक्त गरिनेछ । सकेसम्म दलहरूबाट स्वतन्त्र, नसके विभिन्न दलसँग सम्बन्धित व्यक्तिबाट पारदर्शी तरिकाले नियुक्त गरी कनै दलविशेष हाबी हुने सम्भावनालाई रोकिनेछ । पछाडि पारिएका समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै सबैको आवाजलाई न्याय, समानता र मानवअधिकारको सिद्धान्तअनुसार सम्प्रेषण गरी सामुदायिक द्वन्द्वको सम्भावनालाई व्यवस्थित गरिनेछ ।

सुरुमै विज्ञापनबाट आयआर्जन गर्न गाह्रो हुने भएकोले नौलो र व्यवस्थित तरिकाले विज्ञापन र शुभकामना संकलन गरी यस सञ्चार गृहलाई दिगो बनाइनेछ । हाम्रा सबै समुदायका सदस्य, संस्था र न्यायपे्रमी व्यक्तिहरू हाम्रा अमूल्य स्रोत र संरक्षक हुन् । नेपालीहरूले वर्षभरि मनाउने चाडपर्वका शुभकामना लिँदै वर्षभरि आयआर्जन गर्न सकिन्छ । उदाहरणका लागि, उधौली–उभौली -वैशाख–मंसिर) चाडमा सयजना राई, सयजना लिम्बू, पचासजना सुनुवार -कोइँच), पच्चीसजना याक्खाबाट एक–दुई हजारको दरले शुभकामना विज्ञापन उठाइएमा करिब तीन लाख वा छ लाख रकम उठाउन सकिन्छ । यी जातिका २० वटा संस्थाबाट दशहजारको दरले मात्रै विज्ञापन उठाइएमा पनि अर्को दुई लाख रूपियाँ उठ्छ । यसरी नै ल्होसार, मोहनी, न्हूदँ -नयाँ वर्ष), छठ, होली, ईदजस्ता राष्ट्रिय पर्वमा वर्षमा एउटा समुदायबाट एकपल्ट मात्रै शुभकामना विज्ञापन उठाइयो पनि वर्षभरि आयआर्जन गर्न सकिन्छ ।

त्यस्तै सम्बन्धित समदायहरूका व्यवसायीहरूबाट विज्ञापन, ती समुदायका सरकारी कर्मचारीहरूबाट सरकारी विज्ञापन, विदेशमा रहेका सम्भावित दाता र बजारबाट विज्ञापनमार्फत आयआर्जन गरिनेछ । यस प्रयोजनका लागि विभिन्न जाति र समुदायका संघसंस्थासँगै शुभचिन्तकहरूको सहयोग लिइनेछ । यसका निम्ति लक्षित समूहका पाँच वटा लामो सूची तयार गरिनेछः १) सम्भावित दाताः व्यक्ति र संघसस्थाहरू, २) उपेक्षित समुदायका व्यवसायीहरू, ३) सरकारी सेवामा रहेका उपेक्षित समुदायका सदस्यहरू, ४) विदेशमा रहेका सम्भावित दाताहरू, ५) विज्ञापन दिने कम्पनीहरू ।

यसै क्रममा सुरुमा www.esamata.com नामक विचारप्रधान वेबपोर्टलबाट काम थालिएको छ । यसका लागि पहिलो वर्षको पुँजीगत लगानी र लागत खर्च ५० लाख देखिएको छ, जसलाई दोस्रो वर्षमा नाफा–घाटा सन्तुलन -ब्रेक इभन प्वाइन्ट) मा पु¥याउन सकिन्छ । केही समयमै समाचारमा आधारित अनलाइन मल्टिमिडिया -अडियो, भिडियो, प्रिन्ट) थालिनेछ । पहिलो वर्षमै वेबपोर्टलमा छापिएका र अन्य सामग्रीबाट किताब छाप्दै विद्युतीय सञ्चार नपुगेका ठाउँमा पनि विचार सम्प्रेषण गरी आयआर्जन गरिनेछ । स्रोत साधन, व्यवस्थापन र अन्य व्यक्तिका अनुभव जुटेपछि सञ्चारमाध्यमका अन्य क्षेत्रमा पनि काम विस्तार गर्ने योजना छ ।

यस सञ्चार सहकारी सफल भएमा दुई तरिकाले नेपाली सञ्चार क्षेत्रमा परिवर्तन आउने छ । १) साँच्चीकै राष्ट्रिय सञ्चारमाध्यम निर्माण हुनेछ, जसले समसामयिक र जल्दाबल्दा राजनीतिक–आर्थिक–सामाजिक समाचार एवं विचार सम्प्रेषण गर्दा कुनै पनि समुदाय, लिंग र वर्गका सवाललाई छुटाउने छैन । २) यस सञ्चार सहकारीका विभिन्न माध्यमले समाचार, विचार र विज्ञापन बजारको हिस्सा लिएपछि अन्य सञ्चार गृहलाई पनि साँच्चीकै राष्ट्रिय बन्न दबाब सिर्जना हुनेछ । यस अभियानमा लागेका हामीलाई तपाईंहरूको सहयोग र सल्लाह जुटेमा दिगो समावेशी राष्ट्रिय सञ्चारमाध्यमको निर्माण र विकास गर्न सकिने दृढ विश्वास हामीमा छ ।

Write a Comment

Leave a Reply