ठूला दल कुम्ल्याउने सुरमा, मधेसी दल “बडे मियाँ तो बडे मियाँ, छोटे मियाँ सुभान अल्ला !”

ठूला दल कुम्ल्याउने सुरमा, मधेसी दल “बडे मियाँ तो बडे मियाँ, छोटे मियाँ सुभान अल्ला !”

 

तीन दल र मधेसी राजनीतिक नेतृत्वको अदूरदर्शिता, संकीर्णता र निहित स्वार्थले आज देश बन्धकमा परेको छ । फलतः हिमाल, पहाड, मधेस सर्वत्र नराम्रोसँग असन्तुष्टी र आक्रोश हुर्किदै गएको छ । खासगरी मधेस एक सय दिनभन्दा बढी समयदेखि आन्दोलित छ । त्यसकै निहुँमा भारतको वर्तमान अभिजात वर्गीय शासनसत्ताले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको छ । यसरी देश आज सर्बत्र अपूर्व अत्यासमा परेको छ ।

दिल्लीको दुर्दान्त दबाव खेप्न र खप्न नेपाली जनता अभिशप्त छ । दुबैतर्फका शासनसत्तामा रहेका शक्ति र दलहरुले हिजोदेखि नै निरन्तर भन्ने गरेको दुई देश बीचको सुमधुर, घनिष्ठ र बिशेष सम्वन्धका कारण देशको अबस्था कति दयनीय र गएगुज्रेको भएको रहेछ त्यो कुरा भने एकदमै प्रस्ट हुँदै गएकोे छ । नेपालको सत्तामा सुरुली खेलेका दल र तिनका नेताहरुले अझै पनि जनताका सामु सही कुरा राखेनन् र समस्या समाधानको सही बाटो पहिल्याएनन् भने स्थिति अझ पेचिलो, जटिल र सर्वत्र सकसपूर्ण हुनजाने निश्चित छ ।

आफ्नै मधेस नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई ‘‘राष्ट्रद्रोही’’ प्रमाणित गर्न खोज्नु या त्यस्तो कसरत गर्नुले मधेसलाई भित्तैसम्म धकेल्ने र भारतमै पुर्‍याउने जस्तो नियत राखेको देखिन्छ । यसले नेपालको राष्ट्रियतालाई सबल बनाउन होइन कि अझ कमजोर बनाउन मात्र भूमिका खेल्दछ ।

बितेको साढे तीन महिनादेखि यता मधेसको अशान्तिको वातावरणले नेपाललाई अहिलेसम्म पुर्‍याएको भौतिक क्षतिको मात्रा अकल्पनीय भए तापनि समयको अन्तरालमा कुनै दिन त्यसको परीपूर्ति हुनसक्ने त अपेक्षा गर्न सकिन्छ । तर, यो अवधिमा विशेषगरी मधेस र सम्पूर्ण नेपालीलाई दुःखको सागरमा डुबिरहन बाध्य हुन पर्दा सत्तामा रजगज गरेर बसेका कुनै शासक दलले पनि देश र मधेसका समस्यातर्फ मुण्टो फर्काउन आवश्यकता किन ठानेनन् ? कम गम्भीर प्रश्न छैन ।

बेलाकुबेलको दिल्ली दौडाहा र निरन्तर निष्कर्षहीन र श्रृंखलाबद्ध बार्ताको नाटक मात्र तिनको दैनिकी हुने गर्दै आएको छ । यस्तो व्यवहारले आम नेपाली जनता र खाशगरी मधेस समुदायलाई संरक्षण र सुरक्षा दिने कोही अभिावक छैन भन्ने लाग्नु झन् कम खतरनाक कुरा होइन ।
वास्तवमा यस प्रकारको मनोविज्ञानले सम्पूर्ण नेपालका र त्यसमा पनि मधेसका बालबालिकाको मनमस्तिष्कमा निरन्तर घर गर्दै गयो भने कुनै बेला तिनले आफ्नो शासन आफै गर्नुपर्ने कुरा नसोच्लान् भन्न सकिन्न । यस्तो अत्यन्तै अकल्पनीय र गम्भीर विषय बुझ्न नसके जस्तो गरेर बुझ पचाउने र केवल सत्ता र पैसाको गोटी चालमा मात्र शासक दलहरू व्यस्त भइरहँदा आज तिनको नेतृत्वलाई देख्ने नेपाली जना लज्जाबोधले पानीपानी हुनुपर्ने स्थिति बन्दै गएको छ ।

सबै कुरा नकोट्याए पनि अहिलेको एउटा ज्वलन्त समस्या भूकम्प पुनःनिर्माण प्राधिकरण प्रमुखको नियुक्तिमा प्रमुख दलहरूले खेलिरहेको झुत्ती मात्र हेर्दा पनि यसको गठन गरेर मुलुकलाई यथाशीघ्र पुनर्निर्माण अभियानमा डोर्‍याउने, जुटाउने चासो र चिन्ता कसैको पनि देखिएको छैन । सबै प्रमुख पार्टीहरूको नजर घोषित अघोषितरुपमा त्यो भूकम्प उद्धारका निमित्त मित्र राष्ट्रहरुबाट आउने भनिएको ७ खर्ब रुपैयाँमा केन्द्रित देखिन्छ । यस्तो जनताको पीडा र मर्मबाट फाइदा उठाउने घोर जनविरोधी मनोवृत्ति र राष्ट्रका समस्यालाई ब्यापार बनाएर फाइदा लिने प्रवृत्तिले देश पटक्कै बन्दैन र जनताले कहिले पनि राहत र सुखको सानोतिनो अनुभूति पनि गर्न पाउँदैन । अहिलेसम्मको अनुभवले पनि यही कुरा सिद्ध गरेको छ ।

मधेसका बालबालिकाको मनमस्तिष्कमा कुनै बेला तिनले आफ्नो शासन आफै गर्नुपर्ने कुरा नसोच्लान् भन्न सकिन्न । यस्तो अत्यन्तै अकल्पनीय र गम्भीर विषय बुझ्न नसके जस्तो गरेर बुझ पचाउने र केवल सत्ता र पैसाको गोटी चालमा मात्र शासक दलहरू व्यस्त हुनुले लज्जाबोधले पानीपानी हुनुपर्ने स्थिति बन्दै गएको छ ।

वास्तवमा अहिलेको चलनचल्तीको मापदण्डलाई हेर्ने र केलाउने हो भने भूकम्पबाट ध्वस्त संरचना पुनर्निर्माणका निमित्त दाताबाट प्राप्त हुने भनिएको त्यो ७ खर्ब आफ्नो हातले खर्च गर्न पाइयो भने डेढदेखि दुई खर्ब नै कुम्ल्याउन पाइने यो अवसर हातबाट उम्किन नदिन सत्ताधारी प्रमुख प्रतिपक्षी दलको नेतृत्व लागिपरेको देखिन्छ । राष्ट्रिय पार्टी भनिएका दलका नेतृत्व यस्तो छ भने मधेसी दलमा त झन् ‘बडे मियाँ तो बडे मियाँ, छोटे मियाँ सुभान अल्ला’ भन्ने उखान चरितार्थ हुने गर्दै आएकोे छ ।

देशमा प्रजातन्त्रको पुन:स्थापना (२०४६) र गणतन्त्रात्मक लोकतन्त्रको स्थापना (२०६३) देखियता बिरलै मात्र सत्ता बाहिर रहेका मधेसी दलको नेतृत्वको ‘राजनीतिक बालीनाली’मा आज मधेस आन्दोलन त झन ‘बम्पर उपहार’ बनेको छ । जनताका समस्या हल गर्ने भन्दा पनि उनीहरु त्यसलाई सुरक्षित राख्न सकिने हो होइन भन्ने कुरामा मात्र चिन्तित छन् । देश र जनताको हक, हित, सुरक्षा र समुन्नतिप्रति कुनै सरोकार उनीहरुको छैन । यस्तो विडम्बनायुक्त अवस्थामा बाँच्न बाध्य हामी नेपालीको अवस्था आगामी दिन के कस्तो हुने हो अन्यौलपूर्ण र अनिश्चित छ ।

वर्तमान नेपाली राजनीतिको समकालीन क्षितिजमा कतै टाढाटाढासम्म हेर्दा एउटा मात्र पनि नीति, निष्ठा र नैतिकतायुक्त नेतृत्वको दृष्टिगोचर हुँदैन जसमाथि जनताले बिश्वास र भरोसा गर्न सकून् ! यस्तो अविश्वसनीय राष्ट्रिय स्थितिमा कसले कसरी र कहिले मधेसको समस्या समाधान हुने हो केही भन्न सकिने स्थिति छैन । अनि भारतसँग बिग्रिएको सम्बन्धलाई पूर्ववत् तुल्याउन र अझ राम्रो चरणतिर अग्रसर तुल्याउन सक्ने हो कतै कुनै आशलाग्दो स्थिति छैन । मोदी सरकारले नेपालमाथि लगाएको अमानवीय नाकाबन्दीविरुद्ध भारतका प्रतिपक्षी दलहरु, बुद्धिजीवनी र कूटनीतिज्ञहरुले गम्भीर प्रश्न उठारहेको र भारतको राज्यसभामा समेत ठूलो बहसको विषय भइसकेको बेलामा पनि नेपालले त्यसबाट उचित र न्यायपूर्ण फाइदा लिन सकेन । केवल गैरकूटनीतिक भाषा बोलेर मात्र भारतसँगको अपूर्व रुपमा बिग्रिएको अहिलेको सम्बन्ध सुध्रिन सक्तैन भन्ने कुरा सत्ताधारी प्रमुख प्रतिपक्षी दलहरुले बुझ्न नसकेको या बुझ्न नचाहेको जस्तो देखिन्छ ।

अनि आफ्नै मधेसी नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई ‘‘राष्ट्रद्रोही’’ प्रमाणित गर्न खोज्नु या त्यस्तो कसरत गर्नुले मधेसलाई भित्तैसम्म धकेल्ने र भारतमै पुर्‍याउने जस्तो नियत राखेको देखिन्छ । यसले नेपालको राष्ट्रियतालाई सबल बनाउन होइन कि अझ कमजोर बनाउन मात्र भूमिका खेल्दछ । हुनत भारतको मोदी सत्ताले नेपालमाथि नाकाबन्दी गरेको कुरा स्वतः अन्तर्राष्ट्रिय करण भएको छ । तर यसबाट पनि नेपालले कुनै ठोस फाइदा लिने कदम चालेको छैन ।

चीनसँगको सम्वन्धलाई पनि बिश्वसनीय र भरपर्दो किसिमले अघि बढाउने उत्सुकता र आवश्यक तत्परता देखाउन पनि पटक्कै सकेको देखिदैन । विश्वको सर्वशक्तिमान पहिलो शक्तिको रुपमा उदाउन र खडा हुन लागेको चीनसित अनेक विवाद र अप्ठ्याराहरु हुँदाहुँदै पनि विश्वका भारत लगायतका देशहरु चीनसँग बहु आयामिक सम्बन्ध बिस्तार गर्न लालायित छन् र कसरत गरिरहेका छन् । तर कुनै आधारभूत बिवाद नरहेको नेपाल भने चीनसँग आवश्यक इन्धन, औषधी र अन्य बस्तु तथा उपकरणहरु ल्याउने एउटा ठोस र मूर्त सम्झौता गर्न पनि सकिरहेको छैन । बैकल्पिक उपायहरु गर्ने व्यवहारिक र प्रभावकारी कुनै कदम चालिएको छैन । यसले गर्दा अनेक शंका उपशंकाहरु पैदा भएका छन् ।

इन्धनको अभावले चौतर्फी समस्याको चपेटामा परेर सकशै सकस बेहोरिइरहेको नेपाललाई त्राण दिन अझै पनि राजनीतिक नेतृत्वले कुनै सुझबुझ र संवेदना देखाउन सक्तैन भने कुनै अर्थ–सामाजिक आधारबिनाको खोक्रो राष्ट्रबादको थोत्रो डम्फू बजाएर मात्र यो समस्या समाधान हुनेवाला छैन । यसका लागि गम्भीरताका साथ आन्तरिक समस्या सुल्झाउन र चीन तथा भारत लगायत सबै छिमेकी तथा परका राष्ट्र समुदायसँग सम–मैत्री सम्बन्ध कायम गर्ने प्रष्ट, पारदर्शी र परिणामदायी नीति अख्तियार गर्नु अत्यावश्यक छ । अन्यथा नेपाल र नेपाली जनताका समस्या समाधान गर्ने सही बाटोमा देशलाई सही किसिमले डोर्‍याउन सकिने छैन ।

अहिलेसम्मको भारत निर्भर गतिविधि, मनोवृत्ति र प्रवृत्तिलाई हेर्दा र केलाउँदा योभन्दा अर्को कुनै निष्कर्षमा पुग्ने आधार फेला पर्दैन ।

क्याटेगोरीः तेर्सो धर्का

अन्य लेखहरुः