नेपाली भाषा साहित्यका उन्नायक भानुलाई कसरी बुझ्ने ?

नेपाली भाषा साहित्यका उन्नायक भानुलाई कसरी बुझ्ने ?

जनता र राष्ट्रको सेवा गर्न, भ्रष्टाचार र ढिलासुस्तीविरुद्ध उत्रन र देशको गौरव बढाउन भानुभक्तको साहित्यिक प्रकाशले अहिले पनि नेपाली समाजलाई उज्यालो दिन्छ र घच्घच्याउँछ ।

१०३औं भानु जयन्तीको सन्दर्भमा


नेपाली भाषा र साहित्यका प्रथम उन्नायक आदिकवि भानुभक्तलाई मानिन्छ । वास्तवमा त्यसबेला जनताको बोलीचालीमा मात्र सीमित रहेको नेपाली भाषामा साहित्य लेखन आरम्भ गरेर उनले साहित्यमा जनबोली र जनभाषाको जग बसाले । भानुभक्त कालको तत्कालीन घोर सामन्ती राणाशाही एकतन्त्री समाजमा चलेको संस्कृत भाषाको एकाधिकारलाई त्यसरी तोड्नु सामान्य कुरा थिएन । त्यसका निमित्त भानुभक्तले ठूलो संघर्ष गर्नुपरेको थियो ।

उनी स्वयम ब्राह्मण परिवारका सदस्य भएर पनि उच्च पुरोहित वर्गको भाषाको रुपमा रहेको संस्कृत भाषालाई छाडेर उनले जनबोली रहेको नेपाली भाषालाई अवलम्बन गर्ने हदसम्मको साहसिलो विद्रोह गरे । त्यही ‘अपराध’बापत उनले डर, त्रास, धम्की ब्यहोर्नु परेको थियो र धेरै खप्की पनि खानु परेको थियो । त्यसबेलाका कतिपय संस्कृत भाषाका कवि र साहित्यकारले भानुभक्तलाई ‘सरस्वतीको पेट चिर्ने गँवार’ भनेर छुद्र गालीगलौज गर्ने र धारे हात लगाएर सराप्ने काम गर्न पनि बाँकी राखेनन् । कतिपयले ‘भानुभक्त कविराँड’ भन्ने कल्की भिराउन पनि पछि परेनन् ।

अन्धकारमय सामन्ती आर्थिक–समाजिक प्रणालीबाट उत्पन्न शोषण र विकृतिको उकुसमुकुसमा भानुभक्त छटपटाइरहेका थिए र त्यसबाट मुक्त हुने बाटो खोजिरहेका थिए ।

वास्तवमा त्यस समयको श्लेष भाषामा भाुनभक्तवविरुद्ध बहुतै तीखो व्यंग्य पनि धेरैले कसे । तर भानुभक्त ती कुनै पनि खालका दबाव, प्रताडना र अपमानबाट कत्ति पनि विचलित भएनन् । ‘‘लोकको गरौं हित भनी’’ भन्ने उच्च भावना र उदात्त लक्षका साथ उनी अघि बढिरहे जनताको बोलीचालीमा सीमित भाषामा लेखन गर्ने कार्यमा । वास्तवमा उनी यसरी नेपाली भाषाको संरक्षक र संवर्धक बनेरै छाडे, त्यस्तो राणाकालीन तिमिर अन्धकारमा पनि । संस्कृतमा रहेको वाल्मीकि रामायणलाई नेपालीमा काव्यात्मक रुपमै अनुवाद गरे उनले ।

यसरी प्रस्ट के देखिन्छ भने अन्धकारमय सामन्ती आर्थिक–समाजिक प्रणालीबाट उत्पन्न शोषण र विकृतिको उकुसमुकुसमा भानुभक्त छटपटाइरहेका थिए र त्यसबाट मुक्त हुने बाटो खोजिरहेका थिए । त्यसैको अभिव्यक्तिको रुपमा जनभाषालाई अँगाल्ने र नेपाली जनजीवनका विविध पक्षमा साहित्यलाई प्रयुक्त गर्ने काममा भानुभक्त लागेको उनका साहित्यिक कृतिबाट देखिन्छ ।

उनका ‘सासु–बुहारी,’ ‘ओकलाङ्गका जैसी बाहुन,’ ‘गजाधर सोतीका परिवार’बारे चित्रण गरिएका कविताले उनलाई नेपाली जनजीवनको एउटा पक्षको मर्मज्ञ बनाएको छ । नेपाली समाजलाई शोषण र उत्पीडन गर्ने सामन्ती प्रशासन प्रणालीबाट आफू स्वयम र जनताले देखिभोगिराखेका अनुभवलाई उनले कवितामार्फत जीवन्त रुपमा व्यक्त गरेका अभिव्यक्तिले आज पनि भ्रष्ट प्रशासनयन्त्रको कानमा सुइरोले घोचेजस्तै घोच्दछन् र भ्रष्टाचारीको मनमा ढ्याँग्रो ठोक्दछन् । ‘बिन्ती डिठ्ठा बिचारीसित म कति गरुँ चुप रहन्छन् नबोली बोल्छन् ता ख्याल ग¥या झै अनि पछि दिनदिन् भन्दछन् भोलि भोली’ जस्ता कविता कृतिद्वारा भ्रष्टाचार ढिलासुस्ती, जनताप्रतिको अनुत्तरदायी तथा लापरबाहीपूर्ण व्यवहारप्रति भानुभक्तले यसरी बज्र बाँण प्रहार गर्दै त्यस्ता प्रवृत्तिलाई घृणा गरेका थिए त्यतिबेला ।

आफू काराबासमा बसेको बेला जेलभित्रको अवस्था कति दारुण थियो, त्यसको चित्रण गर्दै ‘लामखुट्टे उपियाँ उडुस यी सँगि छन् यिन्कै लहड्मा बसी । लामखुट्टेहरु गाउँछन् यी उपियाँ नाच्छन् म हेर्छु बसी’ जस्ता व्यंग्यात्मक र विम्बात्मक कविता लेखेर प्रकारान्तरले नेपाली समाजमा लामखुट्टे र उपियाँरुपी शासक वर्गको शोषण रहेको कुरा औल्याउन पनि उनी पछि परेका छैनन् ।

उनका ‘सासु–बुहारी,’ ‘ओकलाङ्गका जैसी बाहुन,’ ‘गजाधर सोतीका परिवार’बारे चित्रण गरिएका कविताले उनलाई नेपाली जनजीवनको एउटा पक्षको मर्मज्ञ बनाएको छ ।

तत्कालीन समयमा शासक वर्गको स्तुतिगान र प्रशस्ति लेख्ने र दरबारको प्रिय पात्र बनेर तथाकथित नाम कमाउन चाकडी गर्ने प्रचलन थियो । नयाँ संस्करण र नयाँ रुपमा आज पनि हाम्रो समाजमा सत्ता र शक्तिको पछि लाग्ने यो प्रचलन निरन्तर जारी रहेको छ । शासक वर्गले साहित्यकार, कलाकार, इतिहासकार, पत्रकार, बुद्धिजीवी समाज तथा मानवशास्त्रीलाई आफ्नो प्रभावमा पारेर या किनेर समेत आफ्ना कमजोरीलाई लुकाउन भएभरका प्रशस्ती गान गर्न लगाउने परम्परा नै थियो अद्यापि छँदैछ नयाँ नयाँ संस्करणमा । तर भानुभक्त भने त्यस्तो चाकरी प्रथाको खारेजीको पक्षमा थिए भन्ने कुरा उनको दरबारिया उच्च वर्गीय ‘भाषा विद्रोह’ले प्रस्ट पार्दछ । लोकको हित गर्ने भनेर लेख्न आरम्भ गर्ने उनको मनशायले पनि यो कुराको पुष्टि गर्दछ । उनले व्यक्ति स्तुति लेख्दा पनि लेखेनन् ।

यद्यपि उनले तत्कालीन सामाजिक चेतनाका परिप्रेक्षमा ‘रामायण’ र ‘राम गीता’जस्ता सैद्धान्तिक रुपले तत्कालीन शासक वर्ग राणाशाहीलाई मद्दत पुग्नसक्ने साहित्य पनि नलेखेका होइनन् । ‘वधु शिक्षा’मा तत्कालीन प्रचलनअनुसार ‘हाँस्नु हुन्न कदापि नारी जनले वेश्या हुन्या हास्तछन्’ जस्ता आजको आँखाले हेर्दा नारीहरुको अपमान गर्ने खालका कविता पनि लेखेका थिए । तथापि भानुभक्तको विद्रोहात्मक स्वभावलाई तत्कालीन राणा शासकहरुले राम्ररी बुझेका थिए नै । उनको त्यो स्वभावलाई तह लगाउन पनि खोजेका थिए । तर दाजु रामजस्तो, भाइ भरतजस्तो, पत्नी सीताजस्ती हुनुपर्दछ भन्ने रामायणको सन्देशले सामन्ती दरबारिया राणाशाहीको आपसी अन्तरविरोधलाई मत्थर पार्न र शासनमा राणा दाजुभाइहरुको रोलक्रम मिलाउन त्यसले निकै मद्दत गर्दथ्यो ।

त्यसैले नै त्यो रामायण प्रकाशन र प्रचार गर्न राणाहरुले दिएका थिए भन्ने कुरा बुझ्न सकिन्छ । फलतः जनभाषा नेपाली भाषाले राष्ट्रव्यापी हुने अवसर पायो र अन्ततः त्यसले राष्ट्रिय एकताको भावानलाई बलियो पार्न र अझ विकसित तुल्याउन पनि केही न केही सहयोग पु¥यायो । वस्तुतः नेपाली भाषा सिंगो राष्ट्रको यसरी राष्ट्रिय भाषा बन्ने आधार खडा भयो । त्यसैले भाषा साहित्यको माध्यमबाट राष्ट्रिय एकतालाई सबल बनाउने कामको श्रेय भानुभक्तलाई अवश्य जान्छ । अनि त्यसैले उनलाई एउटा विशिष्ट भाषा एवं साहित्यसेवी मात्र मानिएको छैन, राष्ट्रिय एकताको सूत्रलाई अघि सार्ने एक जना सबल सूत्रधार पनि मानिएको छ ।

उनले तत्कालीन सामाजिक चेतनाका परिप्रेक्षमा ‘रामायण’ र ‘राम गीता’जस्ता सैद्धान्तिक रुपले तत्कालीन शासक वर्ग राणाशाहीलाई मद्दत पुग्नसक्ने साहित्य पनि नलेखेका होइनन् ।

अहिलेसम्मको नेपाली साहित्यको इतिहासको खोजी र विश्लेषण गर्नेहरुले जनता र राष्ट्रको हितमा लेख्ने एवं सामन्तवादप्रति प्रहार गर्ने कामको शुभारम्भ आदिकवि भाुनभक्तबाटै भएको औँल्याएका छन् । त्यसमा पनि विशेषगरी साहित्यका पात्रहरु उच्च खानदानी परिवारका सदस्य हुनुुु पर्ने, अभिजात्य र कुलीन वर्गका तथा धीरोदत्त हुनपर्ने जुन मान्यता त्यसबेलासम्म थियो त्यसलाई भाुनभक्तले चिरेको र तोडेको देखिन्छ । उनका आफ्ना साहित्यिक पात्रहरु पहाडतिर भीरपाखामा घाँस काटेर जीवन गुजारा गर्ने र त्यसबाट उब्रेको पैसाले सार्वजनिक हितको लागि खानेपानीको कुवा खन्ने जस्ता साँच्चै नै जनताका प्रतिनिधि पात्र रहेका छन्् । भानुले त्यसबेला त्यसरी श्रम गरी खाने पात्रबाट प्रेरणा जुन लिएका छन् समाज बिकासको त्यस चरणमा रहेका विश्वका समकालीन मुलुकहरुको साहित्यमा समेत त्यस्तो प्रवृत्ति बिरलै पाइने कुरा हो ।

‘भरजन्म घाँसतिर मन दिई धन कमायो,
नाम केही रहोस् पछि भनेर कुवा खनायो,
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भइकन आज यस्तो’

यो भानुभक्तको साहित्यिक प्रस्थान बिन्दु हो, जसले आरम्भदेखि नै त्यस्ता गरिब, निमुखा, निच्छल जनतालाई ब्युँझाउने, उठाउने भावना उनमा लुकेको थियो भन्ने कुरा छर्लंग हुन्छ । जनसाधारणबाट अभिप्रेरित हुँदै भाषा र साहित्यको माध्यमबाट जनताको सेवा गर्ने दिशामा लाग्न खोज्ने भानुभक्तले तत्कालीन सामाजिक परिवेशमा जति महत्वपूर्ण लेखन गरे, त्यसलाई आजको आँखाले हेरेर मूल्यांकन र विश्लेषण गर्नु र यो पुगेन त्यो पुगेन भन्नु वस्तुगत र यथार्थपरक निश्चय नै हुँदैन ।

वस्तुतः साहित्य र संस्कृति कुनै दिव्य शक्तिको देन नभई सामाज विकासको क्रममा उत्पन्न हुने र त्यसमा परिवर्तन हुँदा साहित्य कला र संस्कृति पनि परिवर्तन हुँदै जाने मानसिक क्रियकलाप हो । यो कुरा नेपाली भाषाप्रति भानुभक्तको योगदान र साहित्य रचनाले पनि केही न केही प्रस्ट पार्दछन् नै । निश्चय पनि साहित्य र संस्कृति पनि खास आर्थिक–राजनीतिक व्यवस्थाको प्रतिविम्ब हुने गर्दछन् । त्यसबाट भानुभक्तीय साहित्य पनि निरपेक्ष छैन र हुने कुरा पनि अवश्य होइन । तर उनको भाषा साहित्यप्रतिको मूल प्रवृत्ति, दिशा र योगदान नै हो जसलाई मूल्यांकनको कसी बनाउँदै निष्कर्षमा पुग्ने आधार बनाइनु पर्दछ । जनता र राष्ट्रको सेवा गर्न, भ्रष्टाचार र ढिलासुस्तीविरुद्ध उत्रन र देशको गौरब बढाउन भानुभक्तको साहित्यिक प्रकाशले अहिले पनि नेपाली समाजलाई उज्यालो दिन्छ र घच्घच्याउँछ । तत्कालीन सामाजिक परिवेशजन्य उनका कमजोरीलाई छाडेर जनताबाट सिक्ने र जनतालाई सिकाउने मूल प्रवृत्ति नै आदिकवि भानुभक्तबाट साहित्यकर्मीले ग्रहण गर्नुपर्ने र सिक्नुपर्ने आजको मूल शिक्षा हो । यस अर्थमा नेपाली साहित्यका आदिसूर्य भानुलाई सतत नमन गर्नैपर्दछ । असल परम्परालाई अघि बढाउन र कायम राखि राख्नका निमित्त ।

लेखक बारेः

लोकनारायण सुवेदी

सुवेदी नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।