थारुहरुको गुरिया (गुरही) पर्वमा छचल्किन्छ भाइबहिनीको माया

थारुहरुको गुरिया (गुरही) पर्वमा छचल्किन्छ भाइबहिनीको माया

कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएका हुन्छन् । यस्ता पर्वसँग जोडिएका कथाकिंवदन्तीमा भन्ने गरिन्छ, पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देवदेवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि । गुरिया (गुरही) पर्वबारे पनि यस्ता रोचक प्रसङ्ग छन् ।

यस पर्वबारे वयोवृद्ध र अग्रजहरु भन्ने गर्छन्, ‘गुरही (गुरिया) पर्व थारुहरुले मान्ने सबभन्दा जेठो अर्थात पहिले मनाउने पर्व हो ।’ तर मैले भन्ने गरेको छु, ‘थारुहरुको नयाँ वर्ष माघ १ देखि लाग्छ, प्रायः फागुनमा होली (धुरेहरी), चैतमा चैते दशैं आउँछ, होली र चैते दशैंलाई थारुहरु मान्छन् भने गुरही (गुरिया) पर्व कसरी जेठो अथवा वर्षको पहिलो पर्व भयो ?’

यसको सही जवाफ मैले पाउन सकेको छैन । आफूूलाई तर्कसंगत नलागे पनि पुर्खा पुरनियाहरु अहिले पनि गुरही (गुरिया) पर्वलाई जेठो भन्दै र मान्दै आएका छन् । 

‘थारुहरुको नयाँ वर्ष माघ १ देखि लाग्छ, प्रायः फागुनमा होली (धुरेहरी), चैतमा चैते दशैं आउँछ, होली र चैते दशैंलाई थारुहरु मान्छन् भने गुरही (गुरिया) पर्व कसरी जेठो अथवा वर्षको पहिलो पर्व भयो ?’

गुरही कि गुरिया पर्व ?

गुरही भनेको दाङ्गको भाषामा झिङ्गौरा हो भने नेपाली भाषामा गाइने कीरा हो । यो पर्वमा कसैले गुरही–गुरहा, कसैले केटी–केटा वा दुलहा–दुलहीको प्रतीकको रुपमा कपडाको पुतला, खेलौना बनाउँछन् । हिन्दी भाषामा यस्ता पुतला, खेलौनालाई गुडिया भन्ने गरिन्छ । त्यही गुडिया शब्द थारु भाषाको उच्चारणमा गुरिया हुन पुगेको देखिन्छ ।

हुन त थारु भाषामा गुरिया भन्नाले मोतीमालालाई जनाउने गर्दछ । तर यो पर्वमा कपडाको पुतला, खेलौना प्रयोगको कारणले गुडियाबाट नै गुरिया हुन पुगेको स्पष्ट हुन्छ । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व भन्ने गरिन्छ ।

के हो गुरही (गुरिया) पर्व ?

गुरही (गुरिया) पर्व श्रावणको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात नागपञ्चमीको दिनमा मनाइने गरिन्छ । यस पर्वले भाइ र बहिनीबीचको प्रेम र अटूट सम्बन्धलाई स्मरण गराउँछ र अझ प्रगाढ बनाउन मद्दत गर्छ । यो पर्वमा केटी/महिलाले गुडिया (पुतला) अर्थात गुरिया फाल्ने गर्दछन् र केटा/पुरुषले सोंटा, कोर्रा, लट्ठीले पिट्छन् र दुवै पक्ष रमाउँछन् । यसको अर्थ यो भाइ, बहिनीले वा महिला, पुरुषले पुतलासँगै दुर्गुण, अवगुणलाई फाल्ने, रोगब्याध, दुःखकष्टलाई फाल्ने र नसताओस् भनी कामना गर्ने, गल्ती नदोहोर्‍याउने बाचा गर्ने, आपसमा मायाप्रेम साट्ने, ससाना बालबालिकाप्रति माया दर्शाउने पर्व हो । यसमा थारुहरुले अप्रत्यक्ष रुपमा नागको पनि सम्झना र पूजा गर्ने गर्दछन् । 

यो पर्व नागपञ्चमीकै दिनमा पर्ने हुनाले यसको सम्बन्ध नाग वा नाग जातिसँग अवश्य छ । नागपञ्चमीमा अप्रत्यक्ष रुपमा घुघरी वा भुजा चढाई गुरुवाले नागको पनि पूजा गर्दछन् ।

के के गरिन्छन् ?

नागपञ्चमीको दिनमा मनाइने यस पर्वमा थारु समुदायका घरहरुमा खुर्मा, बरिया (पुरीजस्तो) जस्ता परिकार तेलमा पकाइने गरिन्छ । घरघरमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । गच्छेअनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटी र महिलाहरुले कपडाका रङ्गीचङ्गी टुक्रा चिरकुटबाट पुतला बनाउने गर्दछन् । कसैले ती पुतलालाई गुरही (गाइने कीरा) मानी पिट्ने गर्दछन् भने कसैले बहिनीका अवगुण मानी पिट्ने गर्दछन् । पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज (ढकिया बनाउँदा प्रयोग गरिने सामग्री)को प्रयोगले सुन्दर, रङ्गीचङ्गी बनाइएको हुन्छ ।

ठूला केटा वा पुरुषले सोंटासँग खासै सरोकार राख्दैनन्, उनीहरु गुरही (गुरिया) पिट्दा सामान्य लट्ठी, केराका हरियो डाँठले पनि पिट्ने गर्दछन् । सूर्यास्त हुने बेलातिर केटी र महिलाहरु गुडिया (गुरिया) र घुघरी लिई आफ्नो भेषभूषामा सजिएर चौबाटो/चौराहामा पुग्छन् । केटा र पुरुषहरु पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा, लट्ठी लिई चौराहा (चौबाटो) पुग्छन् । गुरुवाले कुश राखी, मकैको भुजा, दारु, घुघरी चढाई पुजा गरिसकेपछि जम्मा भएका केटी र महिलाहरु गुरिया (गुरही) चौराहामा फाल्छन् र केटा र पुरुषहरु सोंटा, कोर्रा, लट्ठीले पिट्छन् । केटीहरु गुरिया (गुरही) फाल्ने बेला र केटाहरु पिट्ने बेलामा रोगब्याध नलागोस्, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटा वा पुरुषले केटी वा महिलासँग घुघरी माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् । कतिपय गाउँमा पिटिएका यी गुरिया(गुरही) सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।

tharu-gurahi-parba

तस्बिर : Tharu Entertainment page “हामार पहुरा”

यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । त्यसैले यसमा उनीहरुलाई सहभागी गराउनु अभिभावकहरु आफ्नो कर्तव्य ठान्छन् । कतिपय अभिभावक उनीहरुलाई बोकेरै सहभागी पनि गराउने गर्दछन् । गुरिया/गुरही पिटिसकेपछि पिटेको सोंटा, कोर्रा, लट्ठीलाई ल्याएर मानिसहरु गोठमा वा घरमा राख्ने गर्दछन् । यसो गर्‍यो भने दुःख, कष्ट, रोग, ब्याध लाग्दैन, भूत, प्रेत, पिसाचको प्रभाव पर्दैन र घरपरिवारमा सुख, शान्ति हुन्छ भन्ने जनविश्वास छ ।

गुरिया (गुरही) पर्वबारे कथा किंवदन्ती

पौराणिक कालमा आर्य र अन्य जातिबीच प्रतिस्पर्धा र बैरभाव थियो । कुनै बेला आर्य र नागवंशबीच बैबाहिक सम्बन्ध पनि थियो र समयक्रममा बैरभाव पनि । ऋषि जरत्कारुकी पत्नी नाग जातिकी थिइन्, जसबाट आष्टिक ऋषि जन्मेका थिए । पाँच पाण्डवकी माता कुन्तीका माता पनि नागकन्या थिइन् । महाभारतका अभिमन्युका पुत्र राजा परीक्षित थिए, जसलाई तक्षक नागले डसेको थियो । परीक्षितका छोरा जन्मेजय राजा भएपछि सोही रिसले नागजातिको भीषण संहार गरेका थिए । तर समय बित्दै जाँदा तिनै तक्षक नागको चौथो पिँढीकी एक कन्याको विवाह राजा परीक्षितको चौथो पिँढीमा हुन पुग्यो । केही समयपछि विवाहित नागकन्याले एक महिलासँग आफू नाग वंशको भएको र यो कुरा कसैसँग नभन्न आग्रह गरिन् । ती महिलाले पनि अर्की महिलासँग उनी नाग वंशकी कन्या भएको तर अरुलाई नभन्न आग्रह गरिन् । यसो गर्दागर्दै यो कुरा शहरमा फैलियो र नाग वंशका महाराजसम्म पुग्यो । महिलाको मनमा कुनै पनि कुरा लामो समयसम्म टिक्दैन भन्ने रिसले राजा आगो भए र शहरका सबै केटी र महिलालाई चौराहामा जम्मा गर्न लगाए । उनले सबैलाई कोर्राले पिट्न लगाए र मारे । त्यस बेलादेखि नै गुडिया पिट्ने चलन चलेको हो भन्ने पनि एउटा भनाइ छ ।

अर्काे प्रसङ्ग यस्तो छ । एउटा शहरमा राजाका छोराछोरी (दाजु–बहिनी) बस्थे । उनीहरु एकअर्कालाई निकै माया गर्थे । दाजुचाहिँ भगवान भोलेनाथ र कालीका भक्त थिए र दिनदिनै मन्दिर जान्थे । त्यहाँ एउटा नाग देखिन्थ्यो । उनी नागलाई दिनदिनै दूध खुवाउँथे । सर्प भगवान भोलेको अति प्यारा प्राणीमध्ये पर्छ, उनको गहना मानिन्छ । भक्त बालकलाई देखेर नाग निस्कन्थ्यो । उ बालकको खुट्टामा मायाले लतपटिन्थ्यो र मणि छोडेर बिलाउँथ्यो । 

कथा, कहानी, किंवदन्तीमा भाइबहिनी, महिलापुरुष दुवैको संलग्नतामा अवगुण, दुर्गुणलाई फाल्ने, रोग–ब्याध, दुःख–कष्टलाई फाल्ने, पिट्ने र सुख, शान्तिजस्ता राम्रा कुराको कामना गर्ने गरिन्छ ।

एक दिन पुजा गर्न निस्कने बेला बहिनीले आफू पनि मन्दिर जाने अड्डी लिइन् । दुवै जना चना, केराउ, मटराको घुघरी, दूध, (परिकार), मकैको भुजा लिएर मन्दिर गए । मन्दिरमा पुग्दा नाग फेरि देखा पर्‍यो र दाजुको खुट्टामा मायाले बेरियो । बहिनीलाई लाग्यो, मेरो दाजुलाई नागले डस्यो । उनले चना, केराउ, भुजा, दूध राखेको ढकियाले पिटेर सर्पलाई मारिदिइन् । दाइले सर्पबारे बहिनीलाई पूरा कहानी बताए । कहानी सुनेर बहिनी निकै रोइन् र पश्चाताप गरिन् । दाजुका लागि सर्प र बहिनी बराबर थिए । घटनापछि त्यहाँ भएका मानिसले भने ‘सर्प देवताको रुप हुन्छ, त्यसैले बहिनीलाई दण्ड र सर्पलाई पूजा जरुरी छ, तर बहिनीले दाजुको प्राण बचाउन मात्र यसो गरेकीले बहिनीको रुपमा गुडियाले हरेक वर्ष दण्डित हुन आवश्यक छ, यसले दाजु–बहिनीको माया–प्रेम अझ बढेर जान्छ ।’

त्यसबेलादेखि दाजुभाइ, दिदीबहिनीको माया–प्रेमलाई अमर बनाउन यो समुदायमा नागपञ्चमीको दिनमा केटीले गुरिया फाल्ने र केटाले पिट्ने चलन चलेको हो ।

अर्को किंवदन्तीअनुसार एक व्यक्ति त्यौहार मान्न आफ्नी बहिनीलाई बोलाउन गएको थियो । बहिनीको बिहा धनीमानी घरमा भएको थियो । गरिब दाजुलाई देखेर उसले मानमर्यादा राख्नमा बेवास्ता गरी । उसको बेवास्ता र अपमानका कारण दाजु घर फिर्ता भयो । बहिनी एक्लै माइती आई । बहिनीको बानीब्यहोराका कारण माइती पक्षले पनि जति गर्नुपर्ने हो, मानमर्यादा गरेन । बिदाइको दिनमा माइती पक्षले बहिनीलाई नदी पार गरेपछि, अब कहिल्यै नआउनु भनी बिदाई गरे रे । नागपंचमीको दिन बिदाइ गरिएको थियो । त्यसबेलादेखि नै कपडाको गुरिया (गुरही)लाई पिट्ने र नदीमा सेलाउने चलन चलेको भन्ने गरिन्छ ।

त्यसैगरी, अर्को किंवदन्तीअनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीमा मनुवाहरुको हालखबर बुझ्न एकजना परीलाई पठाएका थिए रे । मानवरुपमा आएकी चमत्कारी परी धेरै वर्षसम्म हालखबर बुझ्दाबुझ्दै पृथ्वीलोकका मानिससँगको मायामोहले बाँधिइन् । समय पूरा भएपछि देवलोक (स्वर्ग)का राजा इन्द्रले परीलाई बोलाए । मानिसहरुले तिनी फर्किएमा आफूहरु समस्यामा पर्ने बताए । उनले मानिसहरुको रोग, ब्याध, दुःख, कष्ट आफूसँगै लिएर जाने बताइन् । मानिसहरुले उनलाई भब्य मानसम्मानका साथ बिदाइ गरे । त्यो दिन नागपञ्चमी थियो । त्यसबेलादेखि गुरही (गुरिया) पिट्ने चलन चलेको हो भन्ने भनाइ छ ।

निष्कर्षमा भन्न सकिन्छ, यसबारे समुदायमा अनेक किंवदन्ती चलेका होलान् । ती प्रायःजसो केटी वा महिलासँग जोडिएका छन् । जे भए पनि यस पर्वमा गुरही वा केटीको प्रतीकको रुपमा होस्, खराब चरित्रका कुनै व्यक्तिको प्रतीकको रुपमा होस्, कपडा नै प्रयोग गरिन्छ र कपडाको गुडिया वा खेलौना नै बनाइन्छ । त्यही गुडिया शब्द नै थारु भाषाको बोलचालमा गुरिया वा गुरही हुन पुग्यो ।

यो पर्व नागपञ्चमीकै दिनमा पर्ने हुनाले यसको सम्बन्ध नाग वा नाग जातिसँग अवश्य छ । नागपञ्चमीमा अप्रत्यक्ष रुपमा घुघरी वा भुजा चढाई गुरुवाले नागको पनि पूजा गर्दछन् । पहिलेदेखि चल्दै आएको यो पर्वमा भाइबहिनीबीचको प्रेम झल्काउने गरिन्छ । अतः यसलाई भाइ–बहिनीको आपसी प्रेम स्मरण गर्ने दिनको रुपमा पनि बुझ्ने गरिन्छ । यससम्बन्धी कथा, कहानी, किंवदन्तीमा भाइबहिनी, महिलापुरुष दुवैको संलग्नतामा अवगुण, दुर्गुणलाई फाल्ने, रोग–ब्याध, दुःख–कष्टलाई फाल्ने, पिट्ने र सुख, शान्तिजस्ता राम्रा कुराको कामना गर्ने गरिन्छ । गुरिया पिटेपछि, सेलाएपछि गाउँघरमा सुख शान्ति हुन्छ भन्ने जनविश्वास छ ।

फिचर तस्बिर : Tharu Community

 

क्याटेगोरीः थारु, संस्कृति

लेखक बारेः

दिलबहादुर चौधरी

थारुहरुका अधिकारका लागि क्रियाशील नागरिक अभियन्ता