नेवारलाई ग्याँसच्याम्बरमा राख्न उक्साउने यिनी को हुन् ?

प्रहरी प्रशासनले कस्तो कारबाही गर्छ ?

नेवारलाई ग्याँसच्याम्बरमा राख्न उक्साउने यिनी को हुन् ?

हामी नेपाल भन्ने नाम गरेको एकै देशको भूगोलभित्र बसे पनि, एकै रंगको नागरिकता भिरे पनि भित्रभित्रै अनेक छौं, फरक छौं । यो हामीमध्ये कसैबाट छिपेको छैन । फेसबुकमा मेरो जात छैन, मेरो थर छैन भनेर ‘नेपाली’ भइटोपल्नेहरुभित्र कति तल्लो स्तरको नस्लवादी चिन्तन भरिएको हुन्छ भन्ने कुरा बेलाबेलामा देखिन्छ । अनि यिनीहरुनै बेलामौकामा भेला भएर सबै जातको पहिचान माग्नेहरुलाई जातिवादीको बिल्ला भिराइदिएर पानीमाथिको ओभानो बन्न खोज्छन् ।

प्रसंग आफूलाई रातो आर्य रेणु (@RedREnu) नामले चिनाउने एक कालो चश्मा लगाएकी भद्र महिलाले मे १८, २०१६ का दिन ट्विटरमार्फत दिएको सार्वजनिक अभिव्यक्तिको हो । त्यो ट्विट https://twitter.com/RedRenu/status/732964069423128576 मा पढ्न सकिन्छ । आफूलाई पछ्याउने नै ३७ हजार ३ सय जना भएकी ती महिला सर्वसाधारण हुन सक्दैन । तिनले अहिले सम्म ४६ हजार १ सय वटा ट्विट गरिसकेकी छिन् र तिनका ट्विट मनपराउने पनि ७ हजार ८ सय ८४ जना छन् । यस्तो सामाजिक सञ्जालमा चिनिएकी ती महिलाको सोचाइको स्तर तिनका हरेक अभिव्यक्तिमा झल्किन्छ ।

अहिले प्रसंगमा आएको ट्विटमा तिनले भनेकी छिन्— “नेवार त मेरो वर्गशत्रु हो हेर्नुस् कुनै हिटलर निस्केर सबै नेवार टिपटाप पारेर ग्याँस च्याम्बरमा कोचेर जिउँदै खरानी पारे पनि बरा भन्दिनँ होला ।”

तिनका अरु अरु अभिव्यक्ति पनि त्यतिकै हिंस्रक, उत्तेजक र गालीले भरिएका छन् ।

तिनी भन्छिन् :


 

“अहिले भन्द्या छौं । सुन नेवार ख्याँक हो । या त आफ्नू थान्कामा थेचारिएर बस, या देश निकाला हुन तयार रहू । “

“पुस्तौं पुस्तादेखि व्यापार-व्यवशाय गर्दै आएको नेवार चाहिँ पिडित सर्वहारा, अनि तिर्पिन ताम गरेर जसोतसो गुजारा गर्ने बाहुन चाहिँ सामन्ती ?”

-“पोखरामा अन्तराष्ट्रिय विमानस्थल बन्न नदिने को ? काठमान्डौका नेवार !”

-“काठमान्डौमा बाहिरी चक्रपथ निर्माण गर्ने भन्दा “हुन्न ! अरू बसाइ आउँछन र नेवार अल्पसंख्यक बन्छन !” भन्ने बिकाश बिरोधि को ?”

” राजधानी काँ छ अनि राजधानीमा शक्तिशाली को छ ? बाटो बडार्ने गाडी किन्न खोज्दा फोहोर नउठाउने को ? नेवार ! अनि दोष चाहिँ बाहुन-क्षेत्रीको ?”

” त्यो घरबेटी ज्यापूले बिना कारण मेरो मुखमा हानेको मुक्काको मूल्य बहुत चर्को पर्नेछ तेसका नाति पनातिसम्मलाई !”

“म ५४ सालमा राजधानी आएर पहिलो पटक बसेको घर र फोकटमै मेरो मुखमा मुक्का हान्ने ज्यापु घरबेटी अहिले पनि तेही छ ! त्यो मुक्काको मूल्य …”

-“मधेशी र पहाडी भनेर गरिने बिभाजन चाहिँ प्रगतिशील अनि नेवार र गैह्र नेवार भन्ने चाहिँ प्रतिगामी ? बात कर्ता है !”

-“बाहुन-क्षेत्रीलाई खुइल्याउदा क्रान्तिकारी र प्रगतिशील अनि असभ्य कूजात नेवारको तथ्यगत पोल खोल्दा चाहिँ racist, hateful र discriminating ?”

” नेवारहरू मान्छे होइनन, भुस्याहा कुकुर नै हुन ! यो भने बापत जेल, नेल र गोली खान परे पनि तयार छु म, सकेको ख्याँसे हुन्छ ख्याँकहरूले !”

“जन्मेर यत्रो भएँ, हजारौं नेवारहरूको संगत गरें, तर श्रेष्ठ थर लेख्ने एउटा नेवार पनि मान्छे भन्न लायक भेटेकी छैन !”

“नेवार पनि मान्छे ? कुकुर हो कुकुर ! भुस्याहा कुकुर !”


 

यस्तो अभिव्यक्ति त तिनले सम्मान गरेका हिटलर वा कुनै आयातुल्ला खुमेनीले पनि सार्वजनिक रुपमा गरेनन् होला । यसले हाम्रो नेपालका केही मानिस कतिसम्म असहिष्णु नस्लवादी, घृणामनोविज्ञानले ओतप्रोत भएका छन् भन्ने झल्कोसम्म दिन्छ । यद्यपि यस्ता एक दुई थोपा फोहोर कसिंगरले यो सुन्दर शान्त विशाल नेपालको दुई हजार वर्षको सहिष्णु बनेको वा दमित दलित जाति वा समुदायले सहिष्णु बनेर चुकाएको मूल्यको अगाडि कुनै खास मायना राख्दैन ।

यो अभिव्यक्ति आफैमा त्यति महत्वपूर्ण छैनजति यिनलाई पछ्याउनेहरुले यिनका यस अभिव्यक्तिमा सही थाप्दै चढाएका गुणगानका अभिव्यक्तिहरु छन् । यसको प्रशंसामा आएका केही कमेन्ट नेपालको सामाजिक मनोविज्ञान पढ्नेहरुका लागि महत्वपूर्ण हुनसक्छन् ।

यस्तो टिप्पणी त्यतिखेर आएको छ, जतिखेर नेपालका पूर्व प्रधानमन्त्रीले राजा महेन्द्रको शैलीमा कथित राष्ट्रवादको दुदुन्भी बजाएका थिए । बाइकमा हाल्न पेट्रोल नपाएको झोकमा नेपाली नेपाली सबै एक हुन भनेर फेसबुक र ट्विटरमार्फत नै भारतविरुद्ध युद्धको ललकार गरेको थियो एक हुल नेपाली नागरिकता बोकेका मान्छेहरुले । तर तिनीहरुको मुटुभित्र दुई हजार वर्षदेखि आफ्नो स्वायत्त पहिचान बोकेर नेपालको परिचय नै विश्वसामु कला र संस्कृतिको देश भनेर चिनाउने नेवारहरुप्रति कस्तो छ भन्ने यस्ता दृष्टान्तहरुले देखाउँछन् । यो कुरालाई सामान्य रुपमा लिन सकिन्न र यो आइडि बोकेका मानिसले हचुवाका भरमा होइन नियोजित रुपमै नेवारहरुलाई भड्काएर अशान्ति मच्चाउने बनियत राखेको स्पष्ट छ ।

कुरा स्पष्ट छ, हामी एक शान्तिपूर्ण, सहिष्णु, धर्मनिरपेक्ष, जाति निरपेक्ष र भाषा निरपेक्ष राज्य चाहन्छौं । हामी मिलेर बस्न चाहन्छौं र सक्छौं पनि । तर बेलाबखत निस्कने यस्ता अराजक अभिव्यक्तिले नेपालको एक प्रभुत्वशाली समुदायभित्रका केही व्यक्तिमा रहेको घृणित मानसिकतालाई झल्काउँछ । पक्कै पनि यसको विरोध गर्नु पर्दछ । यो वा त्यो कुनै व्यक्तिले एक्लै कहाँ के के बोल्छ, त्यो मतलबको विषय होइन ।

कुनै बेला जनमानसले रुचाएका पहिचानवादी नेतालाई गुरिल्ला शैलीमा समातेर हप्तौंसम्म बिना अभियोग हिरासतमा कोच्ने राज्य र प्रहरी प्रशासनले यिनीमाथि कस्तो कारबाही गर्छ, त्यो भने हेर्न बाँकी छ । यस व्यक्तिको असली नाम, ठेगाना, सम्बन्धित संस्थाको परिचय चाहिएको छ । यदि नेपालमा जातीय द्वन्द्व र भौगोलिक विखण्डन रोक्ने राज्य, सरकार, दल र प्रहरी प्रशासन छन् भने तिनले यस्तो जाति र मानवद्वेषीहरुलाई खोजेर सार्वजनिक गर्नुपर्छ । गर्दैनन् भने जनताले भन्ने छ, यसरी ने शान्ति र शान्ति सुरक्षा कायम हुन्छ प्रशासक र नेताहरु ?

लेखक बारेः