‘भाते’ डक्ट्रिनको संविधानले निम्त्याएको सङ्कट

‘भाते’ डक्ट्रिनको संविधानले निम्त्याएको सङ्कट

राममणि आदीको आदर्श ‘भात’ नै नेपालीको नेपालीत्वका रुपमा संविधानले सर्वोपरि दर्शन ठान्ने भएपछि परिणाम के हुन्छ ?


नेपाली भाषामा धानको चामल पकाएर बन्ने खाने कुरोलाई ‘भात’ भनिन्छ । पूर्वतिरका गाउँघरमा धानको भात पनि भनिन्छ, जहाँ मकैको चामल पकाएर पनि भात खाने चलन छ । मकै पिसेर बन्ने पिठोबाट बनेको खानालाई आँटो भनिन्छ । कोदो पिसेर च्याख्ला वा चामल बन्दैन, पिठो मात्र बन्छ । सम्भवत: कोदोको दाना नै ससाना भएकाले हुन सक्छ, पिठोमात्र बन्छ र पिठोबाट बनेको खानालाई ढिँडो भनिन्छ । नेपालमा धान, मकै र कोदोपछि खानामा अत्यधिक प्रयोग हुने बालीमा सम्भवत: गहुँ, जौ, फापर तथा उवा हुन् । तर ती कुनैबाट बन्ने खानालाई भात भनिन्न । रोटा, रोटो, ढिँडो आदि बन्ला तर भात बन्दैन ।

हुन त काठमाडौँका ठकुरी, दरबारीया वर्ग वा धनी महाजनहरूले भात नभनी ‘भूजा’ भन्छन् । आजकल भने कुनै जात वा जाति विशेषको व्यक्ति आर्थिक सामाजिक प्रतिष्ठामा उँभो उक्लन थालेपछि ती समुदायले पनि धानको चामलबाट बनेको खानालाई भूजा भन्ने चलन छ ।
समतल गह्राहरूमा, सिँचित जग्गामा रोपाइँ गरेर उत्पादन हुने बाली धान हो । सिँचाइको अभावमा पहाडी भिरालो जग्गामा, काठमाडौँ उपत्यकालाई अपवादमा छाडेर, धान उत्पादन गर्नु कठिन काम हो । भिरालो जग्गामा बिनासिँचाइ धान छरेर उत्पादन हुने धानलाई घैया धान भनिन्छ र त्यसबाट निक्लने चामलबाट बनेको खानालाई पनि भात नै भनिन्छ ।

आजकालकै बोलीमा लिम्बुभाषामा भन्ने एउटा प्रचलन पनि छ, ‘वेच्छा तक’ नु ‘सा’ के खोसुआङ् हेनिङ्ग केहक्सु ?’ मतलब धानको भात र मासु खान पाएपछि के खोच्छस् !

हिमाली र पहाडी भूभागमा बसोबास गर्ने आम आवादीमा धानको खेती कम छ । आलु, कोदो, मकै, उवा, जौ, गँहु, फापर जति नै उत्पादन भएता पनि तिनको महिमा समाजमा छैन । त्यसकारण धान उत्पादन नभएको अवस्थामा उनीहरूमा एक प्रकारको सामाजिक हीनताको बोध भएको हुनुपर्छ । त्यसकारण उनीहरु भातखाने जमिनको खोजीमा भौँतारिरहेका हुन्छन् । जेनतेन चामल उत्पादन हुने जग्गा जोड्न सके भने, “यसो जौलो (खोले भात) खाने एक टुक्रा जमिन जोडियो” भनेर सुखको सास फेर्छन् । भातप्रतिको अतिरञ्जित महिमाले हिमालमा उवा, जौ, आलु, मासु, पर्याप्त मात्रामा उत्पादन गर्ने हिमाली वा भोटे आदिवासी जनजातिहरू बेँसी झर्छन् । एक मुरी धानसित दुई मुरी आलु साट्छन् । उवा वा जौसित धान साट्छन् । हुँदाहुँदा मधेस पुग्छन् । र पहाडमा मकै, कोदो, जौ, धान, आलुको खानामा भरपर्ने पर्वतेहरू पनि मधेस नै झर्छन् । र मधेस भात खान पाइने स्थानको रूपमा आकर्षक स्थान बनेको हो ।

हुन त धानको उत्पति र विकासबारे विभिन्न किंवदन्ती सुन्नमा पाउँछौँ । बर्मातिरको भनाइ के छ भने सृष्टिकर्ताले ‘काचिन’ आदिवासी जनजाति मानव समुदायलाई पृथ्वीको केन्द्रविन्दुबाट त्यस्तो ठाउँमा पठाएछ जहाँ धानको खेती गर्न उपयुक्त छ । इन्डोनेसियातिर अर्कै विश्वास छ, भगवान विष्णुले धर्तीलाई धान जन्माउन लगाए, त्यसपछि भगवान इन्द्रले त्यो धानको खेती गर्न मानिसलाई लगाए ।
चिनियाँ विश्वास झनै भिन्न छ । धान भनेको मानव जातिका लागि जनावरहरूले प्रदान गरेको उपहार हो । एक दिन ठूलो प्राकृतिक विपत्ति आएछ । उक्त विपत्तिले हरियो वनस्पति सबै लग्यो, बाँकी केही पनि नराखी । त्यहीबीच एउटा कुकुर दौडिँदै आयो, पुच्छरमा धानको बीउ बोकेर । भुखमरीले मर्न लागेका मानिसहरूले कुक्कुरको पुच्छरमा भएको धानको बीउ मलिलो हिलो माटोमा उमारे र खेती गर्न थाले अन्तत: मानिसहरूले धानको खेती गर्न जाने । र धानको विकास भयो । धानबाट चामल निकालियो र खानाको रूपमा खान थाल्यो मानव जातिले । उनीहरू भोखमरीबाट बचे ।

यो दलिल नेपालको संविधान निर्माण हुँदाको बखतसम्म यसरी विकृत र भद्दा रूपमा प्रयोग भयो कि ‘भात ठूलो कि पहिचान ठूलो’ भन्ने बहसमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अल्झियो ।

धानको विषयमा लागेका वैज्ञानिक अध्येताहरूको तर्क के छ भने चीनको याङ्जी र येल्लो नदीको किनारमा, ‘ओरिजा जापानीका’ र भारतको गङ्गा नदीको किनारमा, ‘ओरिजा इण्डिका’ जङ्गली प्रजातिका धानको बीउ खेतीयोग्य जमिनमा उमारेर धानको खेतीको विकास भएको हो । लगभग ११,५०० वर्षअघि चीनको हुनान र हुबेइमा धान खेती गरिन्थ्यो भन्ने मत एकातिर छ भने आगो र बाढीको नियन्त्रणसँगै करिब ७७०० वर्षअघिदेखि धानको खेती गर्न सुरु भएको अर्को मत छ । विभिन्न वैज्ञानिक तर्कहरूको संगति के छ भने धानको आधिकारिक खेती र खानाको उपयोगको सभ्यताको केन्द्रविन्दु चीन र गङ्गा मैदान हुनुपर्छ । नेपाल आफैमा दुई संस्कृति भोट-बर्मेली संस्कृति र इण्डोयुरोपियन संस्कृतिको सङ्गम भएको मुलुक हो । दुवै संस्कृतिमा महत्व भएको भात खाएर बन्ने भातेको महत्व नहुने कुरै भएन ।

भाते दर्शनको व्युत्पति

मधेसबाट धानको चामल सहजै आपूर्ति हुनुअगावै पहाडी धरातलमा धानको भात खान पाउने भनेको हुनेखानेकोमा मात्र सम्भव थियो । हुनेखानेकोमा धानको भात घरका परिवारलाई र मकैको भात, गोठालो-खेतालोले खान दिइन्थ्यो । भान्सामा भात उभ्रियो भने त्यो गोठालो-खेतालोले खान पाउने भनेपछि कुनै मौकामा भान्सामा धेरै उभ्रियो भने त्यो गोठालो, खेतालोले धेरै खान पाउँथे । भात फाल्नु छैन, दिनु पनि छ; सधैँ भात खान नपाउने गोठालोले उभ्रेको भात अघाउँजी खानु छ । भनेपछि गोठालेले उभ्रेको भात धेरै खाने अवसर हुन्थ्यो । धेरै खायो भनेर भित्री रिस उठेको मालिकले उसलाई ‘भाते’ भनेर गालीगलौज नगरी सक्दै सक्दैनथ्यो । यस्तै चलन-चल्तीबाट मान्छेको नकारात्मक नाम ‘भाते’ शब्दको उत्पति भएको हुनु पर्छ ।

नेपाली भाषामा कुनै अक्षरमा एकलाखे जोडियो भने विशेषण र सङ्ज्ञा बन्छ । जस्तो रातो रङ्ग गाढा भयो भने त्यो ‘राते’, कालो रङ्गको ‘काले’ भनेझैँ भात धेरै खाने वा भात मात्र खानेलाई ‘भाते’ भनिन्छ । नेपाली भाषा बृहत् शब्दकोषकै अनुसार ‘भाते’ भन्नाले, “भातका भरमा अर्काको काम गरी जीवन बिताउने भतुवा” भनिएको छ । त्यस्तै, कुनै काम वा इलम नगरी बसेर मात्र खाने; भातमारा’ पनि भनिएको छ ।
हुन त नेपालको पहाडी भूभागमा बसोबास गर्ने आदिवासी जनजाति संस्कृतिमा धानको खेतीको प्रचलन आयातित संस्कृति हो भनिन्छ । पाङ्दुरे कोदो, घैया धान, मकै छर्ने संस्कृति धानको खेतीभन्दा अलि पुरानै मानिन्छ । मुगल शासकहरुको अतिक्रमणमा परेर गङ्गाको मैदानी भूभागबाट पर्वतीय मुलुकमा शरणार्थीको रूपमा प्रवेश गरेका हिन्दुहरूले नै धानको खेतीको प्रचलन गराएका हुन् भन्ने इतिहास छ । पूर्वको लिम्बुवान भूभागमा बसोबास गर्ने लिम्बु जनजातिले पाङ्दुरे कोदो, घैया धान, जुनेलो, मकै मात्र खान जानेको थिए ।

मकैको खस्रो चामल पकाउने र खाने, कोदोको पिठोबाट ढिँडो ओडाल्ने लिम्बुलाई धानको चामलको नरम भात खुवाइएपछि लिम्बुहरूले करिब एक शताब्दीसम्म आफ्नो गुमेको भूमिसम्बन्धी अधिकार कुनै चर्चा नै गरेनन् – क्यापलान ।

लिम्बुवानको भूमि व्यवस्थाबारे अध्ययन गर्ने अध्येता लिओनेल क्यापलानको अध्ययनमा सम्वत १८३१ मा राजा पृथ्वीनारायण शाहले पल्लो किरात लिम्बुवान हातमा लिएपछि पनि लिम्बुहरू गोर्खाली राज्यविरुद्ध विद्रोह गरिरहन्थे । विभिन्न समयमा विद्रोह गरेका लिम्बुहरूले सन् १८५०\५१ सम्म विद्रोह गरिरहेको इतिहास छ । तर सय वर्षसम्म सन् १९५०\५१ सम्म उनीहरु किन विद्रोह नगरी बसे त ?

क्यापलानको एउटा तर्क छ, जागिर र विर्तामा पाएको भूमिमा हिन्दुहरूले धानको खेती गर्न थाले । धानको खेती गर्न नजान्ने लिम्बुहरुलाई त्यत्तिकै छोडिएको सिम जग्गामा धान रोप्न र त्यही धान रोपेर फलाएको चामलको अलि नरम भात, दूध-दही, घिउ खुवाएर लिम्बुहरूलाई भुलाइयो । मकैको खस्रो चामल पकाउने र खाने, कोदोको पिठोबाट ढिँडो ओडाल्ने लिम्बुलाई धानको चामलको नरम भात खुवाइएपछि लिम्बुहरूले करिब एक शताब्दीसम्म आफ्नो गुमेको भूमिसम्बन्धी अधिकार कुनै चर्चा नै गरेनन् भन्ने उनको भनाइ छ ।

यो भनाइ सत्य पनि हुन सक्छ, किनभने लिम्बु जनजातिका सांस्कृतिक प्रचलनमा धानको चामलको प्रयोग अनिवार्य नै छ । लिम्बुको भाषामा धानलाई ‘या\चा\वच्छा’ भनिन्छ । चामललाई ‘स्या’ भनिन्छ, भने भातलाई ‘तक’ वा धानको भातलाई ‘वच्छा तक’, मकैको भातलाई ‘माकि तक’, र ढिँडोलाई ‘माङ तक’ भनिन्छ । विचारणीय कुरो लिम्बु भाषामा के छ भने धान, मकै र कोदो तीनवटै अन्नबाट बन्ने खानालाई ‘तक’ अर्थात् भात भनिन्छ । कोदोलाई लिम्बु भाषामा ‘पेना’ भनिन्छ । तर खानालाई ‘पेना तक’ भनिन्न, ‘माङ् तक’ भनिन्छ । जबकि ‘माङ्’को अर्थ देवताजस्तै हो । अर्थात् कोदोको खाना भनेको देवताको भात ।

जसले जे भनोस्, संविधानका प्रवर्तक केपी ओली हुन् । उनलाई भने के लागेको थियो भने संविधान जसरी, जस्तो भए पनि जारी हुनुपर्छ त्यो मूल कुरो हो ।

कोदोको पिठो ओरालेर बन्ने खानालाई नेपाली भाषामा ढिँडो भनिन्छ । ‘साम्माङ्’ भनेको लिम्बुको घरमा पुजनीय सांस्कृतिक अनुष्ठानहरू, जस्तो: माङ्गेना, चोमेन, वा अरू कुनै अनुष्ठानमा मिसेक, युमा, थेवा, तक्सम्बा, वा तेम्भोबा हुन, तिनको सम्पादन गर्दा ‘माङ्-तक’ प्रयोग गरिन्न । धानको चामल वा भातको प्रयोग अनिवार्य हुन्छ । धान आफ्नो घरमा छैन भने, पैँचो गरेर वा बेसाएर वा पाकेको बाली टिपेर मात्र आफ्नो सांस्कृतिक कार्य सम्पन्न गर्नु पर्छ । हुन पनि आजकालकै बोलीमा लिम्बुभाषामा भन्ने एउटा प्रचलन पनि छ, ‘वेच्छा तक’ नु ‘सा’ के खोसुआङ् हेनिङ्ग केहक्सु ?’ मतलब धानको भात र मासु खान पाएपछि के खोच्छस् !

‘भात’ याने कि धानको चामलको भोजनको महिमा यति गाएर मात्र पुग्दैन । विक्रम सम्बत २०१० सालतिरको कुरो राममणि आचार्यको ‘भलो कुरोको नमुना’ शीर्षकमा भातको महिमा यसरी वर्णित छ, (आदिवासी जनजातिलाई भुसतिघ्रे, स्वाँठे, जंगली भन्ने राममणि आ.दी.को किताब विमोचनमा मैले भोगेको घोर अपमान, हृदयचन्द्रसिंह प्रधान, ईसमता):

“….नेपालीको भात नै छ नेपालीत्व जगाउने ।
हाम्रो कट्टरतामा छ प्रभाव त्यही भातको । । ८० । ।
प्रभावले भातको नै हाम्रो, रगत शुद्ध छ ।
यत्रो विज्ञान महिमा त्यो जावो भातबाट छ । । ८१०
भातैले हाम्रो रक्त बगेको शुद्ध देख्छु ।
ठीमाहा बरु पोपेर दींदैनौं भात बिग्रन । । ८११ । । 

राममणि आचार्यको ‘भलो कुरोको नमुना,’ तात्कालिन प्रधामन्त्री मातृकाप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा अनावरण गरिएको कृतिको विमोचनमा आगन्तुकहरूलाई गरिएको सामाजिक विभेदको निकृष्ट व्यवहारबाट लज्जित बनेका साहित्यकार हृदयचन्द्र सिं प्रधानले लेखेका छन्: “जावो भातमा पनि केको नेपालीत्व, यो त झन् नरक पठाउने कुरा पो हो, केको भलो ?” अपितु राममणिको कवितामा अन्तरनिहित विचारमा नेपालीत्वको मूल तत्त्व भनेको भात हो । विचारको कट्टरता वा लक्ष्मणरेखा भनेको नै भात हो । रक्त शुद्धता भनेको नै भात हो । जो जो भात खान्नन्, जस्तो ढिँडो, रोटो, च्याखला, वा आँटो खानेको रक्त शुद्धता मानिन्न राममणि आचार्यको विचारमा । विज्ञानको महिमा नै भातमा केन्द्रित छ ।

आचार्यको कवितामा अन्तरनिहित विचारले भातलाई केन्द्रविन्दुमा राखेर सामाजिक, वैचारिक, आत्मिक, दार्शनिक, सोच विचारको भेद गर्नु पर्ने रहेछ । र यहाँनिर अलमल के कुरामा हुनु हुन्न भने आचार्यले हामी भनेको आचार्य बाहुन वा त्योभन्दा पर पर्वते शासक जाति र उनको संस्कृतिको कुरो हो । अपितु सबै जनजातिलाई पनि यसले जेलेर लगेको छ, जसका कारण उनीहरू ढिँडो, रोटो, आँटो खाँदा हीनताबोध गर्ने र भातको खोजी गर्दै भौँतारिनु पर्ने विसंगतिमा छन् ।

कामरेड ओलीबाट व्यक्त उपरोक्त विचार सुन्नेले के प्रस्ट बुझ्न सक्छन् भने पहिचानले केही दिन्न, दिने भनेको भातले नै हो ।

‘भात ठूलो कि विचार’ यो फेरि अर्को विवेचनायोग्य विषय हो । म आफै पनि वामपन्थी विचारको विद्यार्थी हुँदाको सन्दर्भ यहाँ उल्लेखनीय हुन्छ । वामपन्थीहरू विशेषत: कम्युनिस्टहरू भोको सर्वहारा वर्गको कुरो महत्त्वपूर्ण हो भनेर तर्क गर्थ्यौँ । त्यो बेलाका प्रजातान्त्रिकहरू स्वतन्त्र विचार महत्वपूर्ण कुरो हो भन्थे । दुई विचारमा तर्क-वितर्क हुन्थ्यो । मेरो पनि बुझाइ भनेको भोको पेटलाई भरियो भने उसले सोच्न र विचार गर्न थाल्छ, त्यसकारण भोको पेटको मामला आधारभूत हो भन्ने थियो । विपक्षमा तर्क गर्ने मित्रहरूको विचार थियो कि विचारको स्वतन्त्ररुपले सोच्ने, काम गर्ने स्वतन्त्रता पायो भने भोको पेटको आवश्यकता पूर्ति गर्ने उपाय आउन सक्छ । आआफ्नै दलिल झैझगडाको हदसम्म पुग्थ्यो । आज आएर यो दलिल नेपालको संविधान निर्माण हुँदाको बखतसम्म यसरी विकृत र भद्दा रूपमा प्रयोग भयो कि ‘भात ठूलो कि पहिचान ठूलो’ भन्ने बहसमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अल्झियो ।

नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शन के हो ?

मानिसको जीवनयापनमा भोजन (फुड) को महिमा अपरम्पार नै छ, त्यो चर्चा गरिरहनु पर्ने विषय होइन । नेपालको शाहाकालीन, राणाकालीन, हुकुमी राज्यव्यवस्थाले विकास गरेको, संरक्षण गरेको वा निर्माण गरेको विचारबाट दीक्षित समाजमा ‘भात वा भुजा खानुहोस्, ज्युनार गरिबक्सियोस्, लिसियोस्, खाइसियोसजस्ता शब्द सभ्य औपचारिक, सर्वस्वीकार्य र समृद्ध राजकीय शब्द बने । ढिँडो, आँटो, रोटो, माङ्तक, खानु, निल्नुजस्ता शब्द अनौपचारिक एवं वर्जित शब्द र संस्कृतिका बने । त्यसको प्रभाव लिम्बु जनजातिमा पर्दाखेरी ‘वेच्छा तक नु सा केखोसुआङ् हेनिन के हक्सु (धानको भात र मासु पाएपछि के खोच्छस् ?)’ जस्ता भाष्यहरूको विकास भयो ।

लोकतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्थामा जब काँचुलि फेर्न सुरु गर्‍यो, जनताको संविधान लेख्ने प्रयत्न भड्खालोमा पर्‍यो । नेपालको विविधता सामाजिक तथा सामूहिकता विभिन्न गणको उपस्थिति हो । उनीहरूको तन्त्र वा स्वतन्त्रताको जगमा राज्य बन्नुपर्छ भन्ने मान्यता विगत ६-७ दशकमा जनताको संविधान बनाउने इच्छा पुरा हुन सकेन । करिब १० वर्षको सशस्त्र जनयुद्धपछि बनेको संविधानसभाको संविधान बनाउने सिद्धान्त के हुने ? दर्शन के हो ? यी विषयमा अलि वस्तुगत भएर चर्चा गर्न कसैले चाहेनन् । कि त राममणि आचार्यको भलोकुरोको नमुनामा व्यक्त विचार उनीहरूको साध्य थियो र त उनीहरुले बहस गर्न चाहेनन्, कित उनीहरूले आधुनिक लोकतन्त्रको वस्तु वा परिवेश बुझ्न सकेका छैनन् । राममणिको आदर्श ‘भात नै’ नेपालीको नेपालीत्व संविधानले सर्वोपरि दर्शन ठान्ने भएपछि परिणाम के हुन्छ ?

त्यसको प्रभाव लिम्बु जनजातिमा पर्दाखेरी ‘वेच्छा तक नु सा केखोसुआङ् हेनिन के हक्सु (धानको भात र मासु पाएपछि के खोच्छस् ?)’ जस्ता भाष्यहरूको विकास भयो ।

संविधानसभाको पहिलो र दोस्रो कार्यकालमा ‘भात’को ठूलो महत्त्व रह्यो । त्यो आम रूपमा मानिसहरूको असन्तुष्टि बाहिर छताछुल्ल आयो, संविधानसभाका सभासदहरूविरुद्ध । ३\४ दलका १०\१५ जना नेताको चक्रब्युहमा संविधानसभा फँस्यो, ६०१ सभासदहरूलाई प्रयोजनविहीन बनाइए । जनताको असन्तुष्टि यसरी पोखियो सञ्चार माध्यमरूमा कि ६०१ जना जनताका प्रतिनिधि सभासद केवल भातका लागि मात्र रहेछन् । उनीहरूले आआफ्ना नेताहरूलाई संविधान बनाउनु अर्जेन्सीका लागि न लबिङ गर्न सके, न संविधान बनाउन जनताको भावनाको उचित प्रतिनिधित्व गरेर विचार दिन नै सके । दोस्रो संविधानसभा झनै अन्योलतामा बित्यो । ठूलठूला राजनीतिक दलहरूले संविधान बनाउँदा उठ्न सक्ने मुद्दाका विषयमा नभै विकासको नाममा मत मागे र संविधानसभामा नेता तथा पार्टीले सबैभन्दा ठूला दलहरूको हैसियत कायम गर्न सके र के सिद्ध गरे भने जसले धेरै नेपालीलाई भात बाँड्ने भोजमा बोलाउन सक्छ, आश्वासन बाँड्न सक्छ उसले संविधान बनाउने भयो ।

जसले जे भनोस्, बहत्तर साल असोज ३ मा जारी भएको संविधानका प्रवर्तक नेकपा (एमाले)का वर्तमान अध्यक्ष केपी ओली हुन् । र उनलाई साथ दिने नेका, सभापति स्व. सुशील कोइराला र शेरबहादुर देउवा, माओवादीमा कामरेड प्रचण्ड र डा. बाबुराम भट्टराई सहयोगी मात्र थिए । संविधानप्रतिको लालचा नेताहरूमा के देखिन्थ्यो भने ‘प्रचण्ड र भट्टराईलाई संविधानसभा आफ्नो एजेण्डा हो, जस्तोसुकै संविधान जारी भए पनि त्यो आफ्नो उपलब्धि हुने’ उनीहरूको ठम्याइ थियो । नेका सभापति कोइरालालाई के लाग्थ्यो भने ‘आफू प्रधानमन्त्री भएको समयमा जारी भएको संविधान, जस्तोसुकै भए पनि ऐतिहासिक संविधान बन्थ्यो ।’ र एमालेका अध्यक्षलाई भने के लागेको थियो भने संविधान जसरी, जस्तो भए पनि जारी हुनुपर्छ त्यो मूल कुरो हो । बाँकी मधेसी, जनजाति, दलित, महिलाजस्ता सवाल संविधान निर्माण गर्ने भाँजो भएका हुनाले ती सबै संविधान बन्नका लागि आवश्यक विषयवस्तु नै होइनन् । नेकपा (एमाले)का अध्यक्ष केपि ओलीको विचार हेरौँ:

‘के पहिचानले खान लाउन दिन्छ ?
किसानलाई कुलो, पैनी (तराई तीरको कुलो) दिन्छ ?
नाङ्गो आङको लाज ढाकिदिन्छ ?’
पहिचानले “भात”वा जागिर दिन्छ ?
बरु गुन्द्रुकले केही दिन्छ ।।

कामरेड ओलीबाट व्यक्त उपरोक्त विचार सुन्नेले के प्रस्ट बुझ्न सक्छन् भने पहिचानले केही दिन्न, दिने भनेको भातले नै हो । यो विचार, सिद्धान्त, सबैका लागि मननीय र ग्रहणीय भएकैले संविधान बन्यो र जारी भयो कथित नब्बे प्रतिशत नेपाली जनताको प्रतिनिधित्व सुनिश्चित गरी । पहिचान न मधेसीले छाड्न चाह्यो, न जनजातिले; यदि कसैले छोडेको थियो भने त्यो भातकै कारण छाडे । भातकै लागि पहिचान, विचार, सिद्धान्त छाडिएको कारण उही एउटै कुरो भनेको भात थियो, जुन कामरेड ओलीको महानवाणीले पुष्टि गर्दछ । अन्तत: त्यो राममणि आचार्यको ६ दशकअघि वाचन गरिएको नेपालीत्व, रक्त शुद्धता, कट्टरता वा विज्ञान उही भाते दर्शनको निरन्तरता कायम भयो ।
रङ्गीचङ्गी संविधानसभा निमेषमै एकल जातीय, नस्लीय, क्षेत्रीय, र वर्गीय बन्न पुग्यो केवल भातको कारण । संविधानसभामा समानुपातिक प्रतिनिधित्वको व्यवस्थाबाट सभासद् बनेका ‘जनजाति’ हरू उल्टै कुर्लन थाले, ‘म जनजातीयताको (पहिचानजनित प्रतिनिधित्व) पक्षमा छैन । किनकि जनजातीयताले मलाई केही दिन सक्दैन ।’ मधेसीहरू कुर्लन थाले, ‘मधेसी पहिचानको पक्षमा छैन, किनकि मधेसी पहिचानले मलाई केही दिन्न ।’

भूकम्पले क्षतविक्षत नेपालीहरूको मनोविज्ञानको शङ्काको लाभ लिएर जारी गरिएको संविधानले बनाएका सरकारहरूले न पुनर्निर्माणको कार्य प्रभावकारी ढङ्गबाट व्यवस्थापन गर्न सक्ने भए, न त संविधान प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने भए । संविधान जारी भएको दिनदेखि नै अर्को राजनीतिक भूकम्प मुलुकले झेली रहेको छ । कम्पन र पराकम्पन थेग्ने हो वा होइन, विचारणीय विषय बनेको छ ।

क्याटेगोरीः दृष्टिकोण

लेखक बारेः

बालकृष्ण माबुहाङ

माबुहाङ त्रिवि जनसंख्या केन्द्रीय विभागका सहप्राध्यापक हुन् ।