यो सभ्यताहरूबीच द्वन्द्वको युग हो : सामुएल पी. हन्टिङ्टन

यो सभ्यताहरूबीच द्वन्द्वको युग हो : सामुएल पी. हन्टिङ्टन

‘अब अमेरिका र युरोपको वर्चश्व स्थापित हुन नदिनका निम्ति सबैभन्दा ठूलो बाधकका रुपमा इस्लाम सभ्यता बन्ने छ । अर्थात इसाई सभ्यता भएका पाश्चात्य मुलुकहरूको युद्ध अब इस्लाम सभ्यतासँग चल्नेछ ।’


सन १९६८ तिर अमेरिका भियतनाम युद्धमा फँसेको थियो । त्यही बेला सामुएल हन्टिङटनले Political Order in Changing Societies लेखे जसले अमेरिकाको विश्व-नीति समेतमा प्रभावित गर्‍यो । हन्टिङटनका अनुसार समाजहरू आधुनिकतातिर अग्रसर हुन खोज्छन् । यसै क्रममा झन जटिलतामा फस्छन् जसको परिणामस्वरुप यथास्थितिका स्थापित सामाजिक दर्जा, श्रेणी तथा क्रमहरू भंग हुँदै जान्छन् । फेरि सामाजिक राजनीतिक संस्थाहरूले नयाँ क्रम स्थापित गर्दछन् । यो हरेक २-३ दशकमा चलिरहन्छ– कहिले ठूलो, कहिले मध्यम त कहिले सूक्ष्म किसिमले । परिवर्तन हर क्षण, हर दिन चलिरहन्छ । पुरानो कर्म भत्कँदै जान्छ र नयाँ क्रम स्थापित हुँदै जान्छ । यही परिवर्तनलाई सही बाटो देखाउन वा व्यवस्थित किसिमले अघि बढाउने कामको सहजीकरण गर्न राजनीतिक संस्थाहरू जन्मेका हुन् । यिनै राजनीतिक संस्थाहरू सक्षम भए र उचित किसिमले परिवर्तनलाई ‘गाइड’ गर्न सके परिवर्तनले गति समाउँछ, शान्तिपूर्ण किसिमले परिवर्तन हुन्छ र समाजमा खुशहाल बहाल हुन्छ । तर, राजनीतिक संस्था वा तिनका नेतृत्व तहमा रहेका मानिसहरू सक्षम भएनन्, तिनले ढंग पुर्या एनन् भने परिवर्तनको प्रक्रियामा हिंसा हुन्छ । धेरै मानिसको रगतको खोला बग्छ । मार्ने र मारिएकाहरूको द्वन्द्व सामाजिक-मनोविज्ञानका रुपमा पुस्ता-दर-पुस्ता जरा गाडेर बस्छ । मानिसहरूमा एकले अर्कोको खुट्टा तान्ने ‘एटिट्यूड’ मात्र हुन्छ ।

सन ७० को दशकमा हन्टिङटनले केही प्रजातान्त्रिक र तानाशाही शासन भएका मुलुकका सरकारमा निम्ति राजनीतिक सल्लाहकार भएर समेत काम गरे । उनैले ब्राजीली सरकारको निम्ति “Approaches to Political Decompression” लेखमा “द्रुत गतिमा उदारीकरण अपनाए प्रजातन्त्र नै बहाली नहुने खतरा होला, त्यसैले ब्राजिलमा चरणगत रुपमा उदारीकरण गर्दै प्रजातन्त्र बहाली गर्नु उचित हुन्छ” भन्ने अवधारणा लेखे । यसैको आधारमा ब्राजिलले सन् ७० को दशकदेखि काम गर्दै सन् १९८५ सम्म आइपुग्दा प्रजातान्त्रिक मुलुकमा रुपान्तरित भयो । सन् ८० को दशकमा हन्टिङटन दक्षिण अफ्रिकाका राजनीतिक सल्लाहकार थिए । उनले “total strategy” विकास गरेर अपार्थाइड (रंगभेद) को नीतिलाई सुधार गर्ने “प्रोजेक्ट” नै चलाए । परिणामस्वरुप गोरा शासकहरू विस्तारै कालाहरूप्रति नरम हुन थाले । यिनै यावत अनुभवका आधारमा सन् १९९१ मा हन्टिङटनले The Third Wave: Democratization in the Late Twentieth Century नामक पुस्तक लेखे । त्यसमा उनले अब सन्सारमा प्रजातन्त्रको तेस्रो “वेभ” आउँछ र सन्सारका ६० मुलुकलाई प्रजातन्त्रको लहरले लपेट्नेछ भनी भविश्यवाणी गरे । huntington-2

सभ्यताहरूको द्वन्द्व (Clash of Civilizations 1992): यस शीर्षकमा एउटा नयाँ “हाईपोथेसिस” अघि सारेर हन्टिङटनले एउटा लेख सन् १९९२ मा लेखेर सन्सारभरका चिन्तकहरूको दिमाग रन्थनाइदिए । सोभियत संघ ढलेर शीतयुद्धपछि उनले भनेका थिए, ‘अब अमेरिका र युरोपको वर्चश्व स्थापित हुन नदिनका निम्ति सबैभन्दा ठूलो बाधकका रुपमा इस्लाम सभ्यता बन्ने छ । अर्थात इसाई सभ्यता भएका पाश्चात्य मुलुकहरूको युद्ध अब इस्लाम सभ्यतासँग चल्नेछ ।’

सोभियत संघको विघटन (शीतयुद्धको अन्त्य)पछि अब आर्थिक सम्बन्ध र सिद्धान्तका (पुँजीवादी र कम्युनिष्टको) आधारमा युद्ध समाप्त भएको छ तर अब युद्ध सभ्यताहरूबीच चल्ने छ भन्दै हन्टिङटनले सम्भावित ७-८ प्रमुख सभ्यताबीच युद्धहरू हुने भनेर नयाँ दृष्टिकोण ल्याए । ती सभ्यता हुन्– १) पाश्चात्य (इसाई) सभ्यता; २) ल्याटिन अमेरिकी सभ्यता; ३) इस्लाम सभ्यता; ४) चिनियाँ सभ्यता; ५) हिन्दु (सनातनी) सभ्यता; ६) अर्थोडक्स (रसियन) सभ्यता; ७) जापानी सभ्यता, र ८) अफ्रिकन सभ्यता ।

सांस्कृतिका आधारमा स्थापित प्राचीन सार्वभौम राज्यहरू सञ्चालन गर्ने अवधारणामा स्थापित यी संस्थाहरू एकापसमा मिल्न सक्ने आधारै छैन, बरु अनिवार्य रुपमा यिनीहरुबीच संघर्ष नै चल्ने छ । यो कुरा सरकारहरू वा पार्टीहरूलाई सतही किसिमले हेरेर होइन बरु विभिन्न सांस्कृतिमा निहित द्वन्द्वका खानी-तत्वहरू मिहिन रुपमा केलाएर हेरे मात्र बुझिन्छ । यिनै सांस्कृतिमा निहित द्वन्द्वका तत्व नै अबको युद्धका निम्ति आधार बन्ने छन् । यदि यी सांस्कृतिमा निहित मिलान-समन्वय गर्नै नसकिने स्वभावका चरित्रहरू पहिचान गरेर त्यसको विशेष व्यवस्थापन गर्न ढंग पुगेन भने अब पाश्चात्य मुलुकहरूले आफ्नो वर्चश्व विस्तारै गुमाउँदै जाने निश्चित छ । पाश्चात्य मुलुकहरूले आफ्नो वर्चश्व कायम राख्ने हो भने अब प्रजातन्त्रको सर्वव्यापी सिद्धान्तको पुरानो नारा दिन छाडेर, सैनिक हस्तक्षेपी नीति छाडेर आफ्ना पार्टी र सरकारलाई नयाँ किसिमले चिन्तन र संगठनात्मक व्यवस्थापनमा सुधार तथा तिनका स्वरुपहरू (Structures) को विकास-मिलान गर्ने काम गर्नुपर्छ नत्र जातीय द्वन्द्व तथा सभ्यताहरूबीच युद्ध अनिवार्य हुने छ । किनभने अहिले पाश्चात्य मुलुकहरूले आफ्नो सांस्कृतिलाई विश्वका ‘सबैको सांस्कृति’ बनाउने भनी दिएका नारा १) अप्राकृतिक र झुठो छ; २) यस्तो नारा अनैतिक छ; ३) यस्तो नारा खतरनाक छ । 

यही बिन्दुबाट ‘कम्निष्ट’ विचार सांस्कृतिक विविधता भएका मुलुकहरूमा फेल भयो । जातिगत, भाषागत, धार्मिक रुपले विविधता भएको समाजका निम्ति ‘कम्निष्ट’हरू अब अप्रासांगिक भइसके ।

अमेरिकाको नेतृत्वमा चलेको सभ्यताहरूको युद्धका निम्ति चीन र इस्लामबिरुद्ध व्यापक प्रोपोगाण्डा सुरु गरेको धेरै भइसकेको छ र धेरै पाश्चात्य मुलुकमा चीन, इस्लाम र अर्थोडक्स (रसियन) सांस्कृतिप्रति नकारात्मक धारणा विकास गरेर चिनियाँ, मुसलमान र अर्थोडक्स रसियन भनेका घृणित या अछूत मानिस हुन् भन्ने हदसम्मको सोच हरेक अमेरिकी र युरोपेलीको दिमागमा हालिएको छ । किनभने सांस्कृतिक पक्ष वा विपक्षको कुरा पहिचानको मुद्दा हो र यस मुद्दाले मानिसलाई मर्न-मार्न तैयार बनाउँछ । यही ऊर्जाले सभ्यताहरूबीच युद्ध गराउने पक्का छ ।

हन्टिङटनको पछिल्लो पुस्तक Who Are We? The Challenges to America’s National Identity (२००४) मा अमेरिकाको राष्ट्रियता वा पहिचान के हो भन्ने गम्भीर प्रश्न उठाएर “ल्याटिन”हरूको ठूलो संख्यामा भइरहेको व्यापक ‘आप्रवासन’ले अमेरिकामा समेत मानिसलाई छालाका रंग, भाषा र सांस्कृतिले विभाजन गरिहरेका छन् र यो दिनै बढ्दै गइरहेको छ भनेर अमेरिकाभित्र द्वन्द्वको निम्ति नयाँ वातावरण तैयार भइरहेको कुराको तस्बिर राखिदिए।

टिप्पणीः

हरेक मुलुकमा विभिन्न सांस्कृति विद्यमान छन् र अपवादबाहेक यो विविधता सबै मुलुकमा हुन्छ भन्ने कुरा ‘हार्डकोर तथ्य’ हो । ‘डेमोक्रेसी’ले सांस्कृति नै कमाउनु मात्र भएका ‘संभ्रान्त’हरूले खरिद-किन-बेच समेत गरेर बनाएको ‘बहुमत’को मात्र कुरा गरेर ‘सम्भ्रान्त’हरूकै स्वार्थमा संविधान, ऐन, कानुन, करनीति बनाउने एउटा हतियारको मात्र काम गर्‍यो । अल्पमलाई सधैँ हेलाहोचो गरेर राख्यो । मानौँ “अल्पमत”मा परेका मानिसहरु भनेका मुलुकका जनता होइनन् बरु अपराधी हुन । अल्पमतीय समूहहरूलाई पेलेरै ठेगान लगाएर हामीले जे भन्यौं त्यही मान्ने बनाउनुपर्छ भन्ने अवधारणाले काम गर्‍यो । यहीँबाट ‘डेमोक्रेसी’ हरेक ‘कमजोर’ समूह, पक्ष र समाजप्रति अत्याचारी हुँदै गयो र बिस्तारै फेल हुँदै गयो ।

‘कम्निष्ट’ले ‘आर्थिक वर्ग’को कुरा मात्रै गर्‍यो । मानौँ मानिस भनेको ‘आर्थिक प्राणी’मात्र हो; उसको आफ्नै सांस्कृति, भाषा, भावना, आँसु, मुस्कान, माया-मोह, फरकफरक रक्तसमूह, जात, इतिहास, पहिचान केही पनि हुँदैन र भिन्न छ भन्नेहरू गद्दार हुन् । तर नेतृत्वमा भएकाहरूले मान्दै आएका संस्कृति, भाषा, जात, इतिहासलाई नै सबैले चुपचाप कुनै प्रश्न नगरी खुरुखुरु मान्नु पर्छ आफ्नो फरक फरक संस्कृति, भाषा, भावना, आँसु, मुस्कान, माया-मोह, फरकफरक रक्तसमूह, जात, इतिहास, पहिचानको कुरा गर्न बन्द गरेर हाम्रो कुरा मान्नुपर्छ । नमान्ने मानिस “गद्दार” हो । यही बिन्दुबाट ‘कम्निष्ट’ विचार सांस्कृतिक विविधता भएका मुलुकहरूमा फेल भयो । जातिगत, भाषागत, धार्मिक रुपले विविधता भएको समाजका निम्ति ‘कम्निष्ट’हरू अब अप्रासांगिक भइसके । ‘कम्निष्ट पार्टी’ नाम राखेर पसल थाप्नेहरू समेत अब ‘समाजवादी पार्टी’ लेख्न आतुर छन् । झण्डाबाट ‘हँसिया हथौडा’ हटाउन र झण्डा नै बदल्न लालायित भइरहेको देखिएकै छ ।

सबैलाई ‘होलेसेल’मा सम्बोधन वा समाधान गर्न खोज्नु मूर्खता हो । सभ्यतागत तथा सांस्कृतिकगत विविधतालाई नबुझेझैँ गरेर सनातनी ‘सुप्रिमेसी’ लाद्न खोज्ने षड्यन्त्र हो ।

पुँजीवादले ‘बाइबल’, ‘बन्दुक’, ‘व्यापार’, ‘शेक्सपियर’का भरमा कब्जा गरेर दुनियाँलाई लुट्ने ‘साम्राज्यवाद’को बाटो समायो । उसको निम्ति सन्सार भरका स्रोतहरू ‘कब्जा गर्नु’ बाहेक ‘मानव अधिकार’, ‘न्यायसंगत समाज’, ‘महिला अधिकार’, ‘जनजातिको अधिकार’, ‘समावेशी’, ‘दलितको अधिकार’, ‘कल्याणकारी राज्य’, ‘सुशासन’, ‘साना र कमजोर मुलुकहरूको अधिकार’को कुरा “मुखको लोलोपोतो” मात्र हो । यी आधुनिक राक्षस मुलुकहरू जसरी पनि लुटेर सम्पति कमाउने मात्र उद्देश्य राख्छन् । यिनीहरू अहिले सरकार, बन्दुक, पार्टीहरू सबैलाई किनेर व्यापारमार्फत सन्सारभरि लुट्ने काममा व्यस्त छन् ।

विश्व रंगमंचमा ‘पुँजीवाद’ र ‘चीन’बीच द्वन्द्व छ भने ७-८ वटा सभ्यतामध्ये ‘इसाई’ र ‘इस्लाम’ सभ्यताहरू एकअर्काका रगतै खाने चरम द्वन्द्व र युद्धमा सामेल छन् । एसिया महादेशमा चिनिया, सनातनी, जापानी, बौद्ध, इसाई र इस्लाम सभ्यताहरू भित्रभित्र (Latent) या खुला (Open) प्रतिस्पर्धा र द्वन्द्वमा छन् । दक्षिण एसियामा खास गरेर भारतीय द्वीपमा पनि यिनै सभ्यताहरू प्रतिस्पर्धा र द्वन्द्वमा छन् ।

नेपालको मानचित्रभित्रका राजनीतिक पार्टीहरू सबै भारतको गोठाला-खेतालाजस्तो मात्र काम गरिरहेछन् । ओह्रालो लाग्दै गरेको सामन्ती संस्कार र सभ्यताले भारत हुँदै नेपाल पसेको पुँजीवादलाई थुनछेक गर्न खोजिरहेको छ तर पुँजीवादले चारैतिर घेरेर पेलेको पेलै गरिरहेको छ । नेपालका मौलिक सभ्यता : किरात, सनातनी र बौद्धमध्ये सनातनी सभ्यताले किरात सभ्यतालाई घाँटी अँठ्याउँदै आएको छ भने बौद्ध सभ्यतालाई पनि ‘मागी खाने भाँडो’ मात्र बनाएर राखेको छ । यही यथास्थिति कायम राखेर आफ्नो वर्चश्वलाई कायम राख्नकै निम्ति ‘सामाजिक सद्भाव खलबलिन दिनु हुन्न’ भनिरहेका छन् सनातनी सभ्यतावालाहरू ।

इसाई, इस्लाम, जैन, बहाई आदि सभ्यताले पनि नेपालमा संवैधानिक हिसाबले नै ‘मान्यता’ प्राप्त गरी आफ्नो ‘स्पेस’ बढाइरहेका छन् । यी सबै फरक-फरक सभ्यताको विश्व दृष्टिकोण, जीवन दृष्टिकोण, भाषा, लिपि, संस्कृति, खानपान, पहिरन, कुल देवी-देउता, इतिहास, सभ्यताले प्रशिक्षित गरेको सोच्ने ढंग (Thought process), सभ्यतागत समस्याहरू तथा सबल पक्षहरू फरक-फरक छन् ।

यी सबैलाई ‘होलेसेल’मा सम्बोधन वा समाधान गर्न खोज्नु मूर्खता हो । यो ‘निरंकुश’ अवधारणा हो । सभ्यतागत तथा सांस्कृतिकगत विविधतालाई नबुझेझैँ गरेर सनातनी ‘सुप्रिमेसी’ लाद्न खोज्ने षड्यन्त्र हो । यसको प्रमाणका रुपमा नेपाल सरकारले मानव अधिकार, युएनड्रिप, आइएलओ १६९ लगायतका अन्तर्राष्ट्रिय महासन्धि र कानुनलाई नेपालको संविधान बनाउँदा र ऐनकानुन तर्जुमा गर्दा बेवास्ता गरेको तथ्यबाट पनि यो कुरा प्रस्ट भइसकेको छ ।

यस किसिमको षडयन्त्र नेपालको इतिहासमा धेरै चल्यो तर अब सबै सभ्यताका मानिसले बुझिसके- सनातनीहरूले कसरी अन्याय गर्दै आए भन्ने कुरा । अब बिस्तारै कवि लेखनाथले सिकाएको “मै खाउँ मै लाउँ सुख सयल मै गरूँ…” भन्ने धारणा र देवकोटाले ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भन्दै अरु सभ्यताका मानिसलाई झुक्याएर ‘मुड्ने’ शैलीहरु नत्यागे यहाँ पनि सभ्यताहरूबीचको प्रतिस्पर्धा र द्वन्द्वले ‘युद्ध’को रुप लिने कुरा तर्कसंगत प्रोग्रेसन नै हो । यसको निम्ति कुनै ज्योतिषीले नेपालको चिना हेरेर भविश्यवाणी गरिरहनु पर्दैन ।

Ref.
“Clash of Civilizations” by Samuel Huntington (1992)

क्याटेगोरीः दृष्टिकोण, विश्व

लेखक बारेः

विक्रम सुब्बा

सुब्बा कवि तथा परामर्शदाता हुन् ।