भारतीय माओवादीले प्रचण्डलाई यस्तो पत्र पठाएका थिए

भारतीय माओवादीले प्रचण्डलाई यस्तो पत्र पठाएका थिए

भारतीय कम्युनिस्ट पार्टी (माओवादी)

कमरेडहरू,

बितेको एक दशकमा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण विकासहरू भएका छन् । हामी तपाईँहरूलाई केही महत्त्वपूर्ण पक्षमा ध्यानाकर्षण गराउन चाहन्छौँ ।
गएको दशकका वर्षहरूमा भूमण्डलीकरणको करले ध्वस्त पारेको आमजनताको जीवनका कारण जनतामा यसप्रति तीव्र आक्रोस देखापर्यो । यसले जुझारु मुक्तिसङ्घर्ष र जनयुद्धलाई बलियो पार्न सहयोग पुर्यायो । मार्क्सवाद–लेनिनवाद–माओवादको स्थापनामार्फत सर्वहारा वर्गको विचारलाई तीव्रताका साथ प्रस्तुत गर्न सघाउ पुग्यो । यसको व्यापक प्रयोगले अन्तर्राष्ट्रिय स्तरमा र विभिन्न मुलुकका माओवादी पार्टीहरूबीचको सम्बन्ध र एकतालाई नजिक ल्याउन आधारको काम गर्यो । नयाँ क्रान्तिको तरङ्ग विश्वमा देख्न सकिन्छ ।

यसको बढ्दो प्रभावका कारण जनताका विरुद्ध साम्राज्यवादी मुलुकहरू खास गरेर अमेरिकी साम्राज्यवादको अगुवाइमा भीषण रूपमा विश्वव्यापी आक्रमण गरिरहेका छन् । यो नै तथाकथित “वार अन टेरोरिज्म” को मूल सारतत्त्व हो, जसमा विश्वका सबै साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरू सामेल भए अथवा समर्थन गरे ।

अफ्गानिस्तान र इराकमाथिको आक्रमण, जनअधिकारको हनन, जनताका सङ्घर्षमाथि दमन, विश्वव्यापी रूपमै फासिवादीकरण, सशस्त्र सङ्घर्ष, जनयुद्ध र माओवादी पार्टीहरूमाथि दमन अभियानको नेतृत्व र परिचालन—यसका विविध रूपहरू हुन् । तर एकल महाशक्तिका रूपमा रहेको अमेरिकी एकछत्र रजाइँलाई पनि खारेज गरियो, चुनौती दिइयो । इराकमाथिको युद्धका विरुद्ध विश्वव्यापी रूपमा सङ्घर्षको थालनी भयो र यो निरन्तर रूपमा अघि बढ्यो । इराक र अफगानिस्तानमा भएका शक्तिशाली प्रतिरोध कार्यले साम्राज्यवादका योजनाहरूलाई पछाडि धकेल्यो ।

विश्वका आमजनताले निभर्यका साथ भूमण्डलीकरण, उदारीकरण र निजीकरणले ल्याएको विध्वंशका विरुद्धको सङ्घर्षलाई निरन्तरता दिए । जनयुद्ध निरन्तर अघि बढ्यो । यी सबै कारणहरूले गर्दा अमेरिकी साम्राज्यवादले केही वर्षमै आफ्नो रणनीति बदल्यो । बुसलाई ओबामाद्वारा विस्थापित गरियो । “दशकौँको युद्ध” को नारालाई सेना फिर्ता गर्ने र नअझिल्ने भन्ने नारामा परिणत गरियो । यो विश्वमा देखापरेको सकारात्मक स्थितिको सङ्केत हो । यो अवधिमा साम्राज्यवादी शक्तिहरू, रूसी साम्राज्यवादसित द्वन्द्वको विकास हुनुले पनि अमेरिकी साम्राज्यवादको स्थिति खस्कँदै जाने अवस्था बन्यो ।
जस्तो हामी सबैलाई थाहा छ, २००८ मा साम्राज्यवादी व्यवस्थामा देखापरेको विश्वव्यापी सङ्कटले विश्वको स्थितिलाई अझ प्रस्ट पारेको छ । साम्राज्यवादी र उत्पीडित दुवै मुलुकहरूमा लाखौँ जनता सडकमा निस्किए र प्रतिक्रियावादी राज्यशक्तिका विरुद्ध सडकयुद्ध लडे, मजदुरहरूले कारखानाहरू कब्जा गरे, जनताले सडक र चोक कब्जा गरे र सरकारी कामकाज ठप्प पारे । विद्यार्थीहरू, युवाहरू महिला कामदारहरू, आप्रवासीहरू जेलमा निर्वासितहरू– सबै सङ्घर्षमा उत्रिएका छन् । अरब स्प्रिङका प्रभावशाली दिनहरूको सम्झना हाम्रो मनमष्तिस्कमा ताजै छ । जनताको जुझारु सङ्घर्षका कारण थुप्रै घृणित शासकहरूले गद्दी त्याग्नुपरेको थियो ।

जनताको यो जुझारुपन सही अर्थको प्रजातन्त्र र शोषण, अन्याय, अत्याचारमुक्त जनताको सत्ताको स्थितिसम्म त आइपुगेन, तर यसले ती समाजहरूको जगलाई भने तलैसम्म हल्लाइदिएको थियो । यसले विश्वका जनतामा नयाँ आशाको सञ्चार गरायो । परिणामहरू अवश्य पनि देखापर्दै जानेछन् । यो अहिलेको संसारको स्थिति हो । यसले क्रान्तिको नयाँ प्रवाहका लागि महान् सम्भावनाको स्थितिको द्योतन गर्छ । तर यसको अर्को पक्ष पनि छ, तीतो पक्ष, गद्दारीको पक्ष । एकपल्ट फेरि अन्तर्राष्ट्रिय आन्दोलनमा महत्त्वपूर्ण अवस्था निर्माण गर्न संशोधनवादले अड्चन खडा गरेको छ । नेपालको माओवादी नेतृत्व खासगरेर प्रचण्ड–बाबुराम गुटले जनयुद्धमाथि गरेको गद्दारी सबैभन्दा बढी नोक्सानदायी भयो ।

प्रजातन्त्रका मसिहा बनेर भ्रम दिइरहेका जनताका दुस्मनका कुकृत्यहरू र तिनीहरूको सच्चा अनुहारलाई जनतामाझ उदाङ्गो पारेर उनीहरूसित क्रान्तिकारी जनताको अन्तर्विरोध चर्काउँदै, साम्राज्यवाद र प्रतिक्रियावादविरुद्ध माओवादीहरूले नेतृत्व गरेको जनयुद्धको झण्डालाई माथि उचाल्दै साम्यवादी लक्ष्य प्राप्तिका लागि जनताको ठूलो हिस्सालाई साथ लिएर अघि बढ्ने उच्च सम्भावनालाई यिनीहरूले ध्वस्त पारेका छन् । अर्कोतिर हामी विसर्जनवादी कोणबाट क्रान्तिकारी विचारधारामाथि आक्रमण भइरहेको देख्छौँ, जसले मालेमाको झण्डालाई तल खसालेर अभाकियनवादी निम्न कोटीको विचारलाई स्थापित गर्न खोजेको छ । यसले पहिले नै केही माओवादी पार्टीहरूलाई ध्वस्त पारिसकेको छ, जसको एक कालखण्डमा विश्वकम्युनिस्ट आन्दोलनमा सम्मानजनक स्थिति थियो ।

यी दुवै विचलनलाई माओवादीहरूले दुत्कारेका छन्, यिनीहरू विरुद्धको सङ्घर्ष जारी छ । माओवादी पार्टीहरूलाई एकजुट गराएर नयाँ केन्द्र निर्माण गर्ने प्रयासहरू जारी छन् । तर नोक्सानी सबैका सामु छ । विश्वसर्वहारा वर्गको आत्मगत शक्ति सोचनीय किसिमले पछि परेको छ—दुस्मनको कारणले नभएर आन्दोलनभित्रबाट विकसित भएका दुस्मनहरूका कारण ।
यस अर्थमा यसमा हामी केही अन्तर्विरोध देखिरहेका छौँ ।

हामी सम्भावित सकारात्मक वस्तुगत स्थिति र माओवादी शक्तिहरूको आत्मगत पक्षबीच केही प्रस्ट खालिपन देखिरहेका छौँ । यसका लागि हामीले सङ्घर्ष गर्नुपरेको छ । हाम्रा सबै गतिविधिहरू तिनीहरूमाथि विजय प्राप्त गर्ने कुरामा केन्द्रित हुनुपर्छ । यो नै समयको माग हो र विश्वका उत्पीडितहरूको टड्कारो आवश्यकता हो । जस्तो माओ भन्ने गर्नुहुन्थ्यो— “हामीले पलपललाई आफ्नो हातमा लिनुपर्छ” । कम्युनिस्ट शक्तिहरूका लागि अहिलेको समयको आवश्यकता भनेको बढीभन्दा बढी साम्राज्यवाद विरोधी जनतान्त्रिक र क्रान्तिकारी शक्तिहरूलाई परिचालन गरेर ‘अपरेसन ग्रिन हन्ट’ को अन्त्यका लागि शक्तिशाली आन्दोलन चलाउनु र एउटा विश्वव्यापी साम्राज्यवाद विरोधी मोर्चालाई व्यावहारिक रूप दिनु हो भन्ने कुरामा हाम्रो पार्टी विश्वास गर्छ ।

विश्वका कम्युनिस्ट शक्तिहरूको एकतालाई थप मजबुत तुल्याएर नै हामी भारतीय क्रान्तिलाई पनि दरिलो सहयोग पुर्याउन सक्छौँ ।
वर्तमान समयमा विश्वको वस्तुगत सम्भावनाको स्थितिलाई एउटा एक्लो कम्युनिस्ट पार्टीको आत्मगत स्थितिले भ्याउने कुरा नभए पनि सामूहिक प्रयासद्वारा कम्युनिस्ट लक्ष्यसित सम्बद्ध थुप्रै कामहरू गर्न सकिन्छ । यताका दिनहरूमा मे दिवस वक्तव्य, भेला र गोष्ठीहरू लगायतका कामहरूले हाम्रो अनुभवलाई समृद्ध पारेका छन् । र यस्ता कामहरूले नवसंशोधनवाद विरुद्धको अभियान र सयुक्त मोर्चासम्बन्धी काम जस्तो अन्तर्राष्ट्रिय समर्थन कमिटीले गरेका ऐक्यबद्धताका कामहरू फलदायी भएका छन् । हामीले यी कामहरूको स्वागत गरेका छौँ र यसप्रति हाम्रो निरन्तर सहयोग रहिरहनेछ ।

हामीले यस्ता गतिविधिहरूलाई थप प्रभावकारी बनाउन नयाँ सम्बन्धको खोजी र उपाय गर्नुपर्छ र एकता प्रक्रियाको विस्तार गर्दै वैचारिक–राजनीतिक कार्यलाई अघि बढाउने आधार तयार पार्नुपर्छ । जसरी भारतीय क्रान्तिले विश्वसर्वहारा क्रान्तिको सेवा गर्छ, त्यसैगरी यो माओवादी विचारको विकास र विस्तारसित पनि अभिन्न रूपले गाँसिएको छ र यसले विश्वको क्रान्तिका लागि परिस्थितिको निर्माण र विकासलाई अघि बढाउँछ । ह्याम्बर्ग कन्फरेन्समा कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन गरिएका उच्च आकाङ्क्षाप्रति हामी विश्वस्त छौँ– जसमा खास देशमा समान प्रकृतिको क्रान्तिलाई अगाडि बढाउने अठोट गरिएको छ ।

नक्सलबाडी आन्दोलनको विरासतलाई अगाडि बढाइरहेको हाम्रो पार्टी, जसले आफूलाई विश्वसर्वहारा वर्गको अग्रदस्ता शक्तिको रूपमा स्वीकार्छ, भारतमा चलिरहेको नयाँ जनवादी क्रान्तिलाई विश्वसमाजवादी क्रान्तिको अभिन्न अङ्ग मान्दछ । हाम्रो क्रान्तिमा जनता र हाम्रा कमरेडहरूले गरेको अमूल्य र अकल्पनीय बलिदानलाई पनि विश्वसमाजवादी आन्दोलनमा खास देशका प्रिय सहिद कमरेडहरूले गरेको बलिदानको एउटा अभिन्न अङ्गकै रूपमा लिन्छ ।
अन्त्यमा, समापन गर्नुअघि, भारतमा चलिरहेको जनयुद्धको समर्थनमा तपाईँहरूले चलाएको अभियानका बारेमा हामी केही भन्न चाहन्छौँ ।

तपाईँहरूको अभियानको समाचार, यससित सम्बद्ध विविध फोटाहरूलाई हाम्रा खुला र आन्तरिक पत्रिका तथा अन्य माध्यमद्वारा हामीले हाम्रो पार्टी पङ्क्तिभित्र जनसेनाका योद्धाहरू र क्रान्तिकारी जनतामाझ व्यापक रूपमा पुर्याउँदै आएका छौँ । जब उनीहरू टाढा रहेका हाम्रा दाजुभाइ दिदीबहिनीहरू हामीप्रति ऐक्यबद्धता जनाएर हाम्रा साथ उभिएका रहेछन् भन्ने थाहा पाउँछन्, जब उनीहरू हाम्रो समर्थनमा भारतीय राजदूतावासका अगाडि टाँसिएका पोस्टरहरू देख्छन्, जब उनीहरू ती देशका जनतासम्म सन्देश पुर्याउन भित्ताभित्तामा टाँसिएका पोस्टरहरू देख्छन्, उनीहरूको हृदय खुसी र गर्वले गदगद हुन्छ उनीहरूलाई, हामी— एक्लै रहनेछौँ, हाम्रा साथीहरू त्यहाँ पनि रहेछन्, हामी— चारैतिर रहेछौँ भन्ने लाग्छ । तपाईँहरूको कामले हामीलाई उत्प्रेरित गरेको छ र हामी अझ दृढ भएका छौँ ।

तपाईँहरूले हामीप्रति गरेको विश्वासलाई पूरा गर्न हामी अथक प्रयास गर्नेछौँ । हाम्रो भविष्य, विश्वक्रान्तिको भविष्य, विश्वसर्वहाराको भविष्य, उत्पीडित राष्ट्रहरू र उत्पीडित जनताको भविष्य निश्चय पनि उज्वल छ, तर बाटो काँढैकाँढाले भरिएको छ, उबडखाबड छ र घुमाउरो छ । अनि हाम्रा दुस्मनहरूको भविष्य र साम्राज्यावादीहरू र तिनका विश्वभरिका दलालहरूको भविष्य चाहिँ अन्धकारमय छ र तिनीहरूको विनाश अपरिहार्य छ ।
जनपार्टीबाट

क्याटेगोरीः पूर्णपाठ, प्रवास

लेखक बारेः