माफी अभियान काफी त छैन, थालनी भने हुनसक्छ !

माफी अभियान काफी त छैन, थालनी भने हुनसक्छ !

डोम जातिद्वारा निर्मित पूजाको सामग्री छठ पूजाको निम्ति प्रयोग हुँदा मेरो मनमा जिज्ञासा उत्पन्न हुन्थ्यो : जुन जातलाई समाजले अछूत मानेको छ उसले छोएको पानी चल्नु त टाढाको कुरा, गल्तीले जिउमा छुनु समेत पाप मानिन्छ, त्यही जातिले बनाएको पूजा सामग्री छठजस्तो महान पर्वमा कसरी प्रयोग हुन्छ !?

दलितको घरको दूध खान मिल्छ तर पानी चल्दैन । दलितले निर्माण गरेको दुर्गाको मूर्तिमा दुर्गा पूजाजस्तो महोत्सव मनाइन्छ तर पूजामा दलितलाई समावेश गरिँदैन ! जीवनको यो कालसम्म आइपुग्दा पनि मैले आफ्नो बाल्यकालमा उब्जेको उत्सुकताको सटीक जवाफ भेटेको छैन । 

मैले शुरुमा यसलाई सामान्य रुपमै लिएको थिएँ तर जतिबेला एउटा दलितको घरमा माफी माग्दै चियाखान बसेका तुलानारायणजीको तस्बिर हेरें त्यसले मेरो मन भित्रैसम्म छोयो ।

दलितमाथिको विभेद कहिलेदेखि स्थापित भयो, सामाजिक संरचनामा कुन कालमा दलितलाई अछूत बनाइयो र यो दलितमाथिको विभेद कहिलेदेखि चल्दै आएको छ यसको सही समय किटान गर्न गाह्रो छ । तर केलाउदै जाने हो भने परापूर्वकालदेखि नै दलितमाथि विभेद रहेका प्रशस्त प्रमाण भेटिन्छन् । भगवान राम, सबरीको घर पुग्दा रामभक्तिमा लीन सबरीको जुठो बयरको फल रामले खाएको र लक्ष्मणले नखाएको कथा हामीले रामायणमा पढेकै छौं । महावीर कर्ण शुद्र भएकै भ्रममा उनलाई शिक्षाबाट वञ्चित गरिएको प्रसिद्ध घटना हाम्रै धर्मग्रन्थमा भेटिन्छ । विभेदको यो शृंखला कति पुरानो र कति गहिरो छ त्यो बुझ्नलाई यी घटना र परिघटना काफी छन् ।

ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी सनातनकालदेखि नै हाम्रो समाजमा मानिसको जातमा आधारित वर्ग स्थापित भयो तीअनुसारको पेसागत कार्य पनि तोकियो । तल्लो जातको मानिने शुद्र वर्गलाई नै अछूत भनी मोटामोटी रुपमा बुझ्न सकिन्छ । मधेशमा पहिले अछूत भनिने दलित समुदायमा प्रमुख जात भनेको डोम, चमार, हल्खोर, मुसहर, दुशाध एव अन्य केही जाति रहेको भेटिन्छ । डोमले सुँगुर पालन गर्ने, चमारले सिनो उठाउने, हल्खोरले फोहोर मिलाउने, मुसहरले माटोसम्बन्धी काम गर्ने एवंप्रकारको समाजमा परिभाषित निम्न स्तरको काम गर्ने संरचना विकसित भयो/छ । 

समाजका सम्भ्रान्त एवं शासक वर्गले विभिन्न डर, त्रास, भय र लोभ देखाएर दलित महिलालाई आफ्नो “धरवी” राख्ने गरेको दिन पनि धेरै भएको छैन ।

आफ्नो जग्गाजमिन नहुनु, गाउँभन्दा पर दलित बस्ती हुनु, निम्न स्तरका काम गरेर बिहान बेलुकाको रोटी जोहो गर्नु दलित समुदायको सामान्य स्थिति हुने गर्थ्यो । मरेको गाईबस्तु चमारले नै फाल्नुपर्ने, फोहोर हल्खोरले नै सफा गर्नुपर्ने बाध्यत्कारी प्रचलन थियो । सायद, कति स्थानमा अहिले पनि छ । समाजका सम्भ्रान्त एवं शासक वर्गले विभिन्न डर, त्रास, भय र लोभ देखाएर दलित महिलालाई आफ्नो “धरवी” राख्ने गरेको दिन पनि धेरै भएको छैन ।

आफ्नो स्वतन्त्र अस्तित्व कायम गर्न नदिइएका दलितहरुका लागि राज्य टाढा हुने नै भए । कति दलितले त जीवनभरमा कहिले पनि सरकारी कार्यालय देखेनन्, नागरिकता कुन चरोको को नाम हो, थाहा पाएनन । उनीहरुलाई त्यसको आवश्यकता नै परेन । राज्यको संयन्त्र अहिलेसम्म दलितको आँगनमा पुग्न सकेको छैन । र, दलितको हैसियत राज्यसम्म पुग्ने भएन ।

यस्तो अवस्थाबीच केही दिनअघि मात्रै सामाजिक संजालमा मधेशका केही अगुवाले दलितहरुमाथि भएको विभेदप्रति माफी अभियान शुरु गरे । मैले शुरुमा यसलाई सामान्य रुपमै लिएको थिएँ तर जतिबेला एउटा दलितको घरमा माफी माग्दै चियाखान बसेका तुलानारायणजीको तस्बिर हेरें त्यसले मेरो मन भित्रैसम्म छोयो । धेरैलाई यो एउटा सामान्य कुरा लाग्नसक्छ तर मधेशको माटोसँग जुडेका तुलाजीले गहिरो सन्देश दिँदै हुनुहुन्थ्यो ।

माफी अभियानकर्ताहरु आफ्नो सुकर्मले समाजमा उच्च स्थान हासिल गरेका व्यक्तित्वहरु हुनुहुन्छ । यो अभियानलाई डलरवाला, पीआर प्रवृतिको आक्षेप या फुट निम्त्याउने अभियान भनेर आलोचना हुनु गम्भीर विषय हो ।

मेरै गाउँमा बजारको चियापसलमा सामान्य मान्छेमाथि बेन्च र कुर्सीमा चिया खाँदै गर्दा एक कप चियाको त्यति नै पैसा तिरेर एउटा दलित आफ्नो घरबाट बोकेर ल्याएको गिलासमा भुइँमा बसेर चिया खाएको मैले आफ्नै आँखाले देखेको छु । हुनसक्छ, तुलाजीले पनि माथि बसेर कहिले चिया खानुभएको होला, उहाँको मानसपलटमा त्यो दोषले सताउँदै थियो होला, जसलाई उहाँले देवनारायण मरिकको घरमा चिया खाएर सदाको लागि समाप्त पार्नुभयो ।

उहाँहरुले थाल्नुभएको माफी माग्ने अभियानको अप्रत्याशित रुपमा आलोचना हुनु एकदमै गहिरो विषय हो, यसलाई हल्का रुपमा लिइनु हुँदैन । किन माफी अभियानको आलोचना भएको होला ?

माफी अभियानकर्ताहरु आफ्नो सुकर्मले समाजमा उच्च स्थान हासिल गरेका व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुको यो अभियानलाई डलरवाला, पीआर प्रवृतिको आक्षेप या फुट निम्त्याउने अभियान भनेर आलोचना हुनु गम्भीर विषय हो । आलोचना लोकतान्त्रिक समाजको गहना हो, आलोचनाबिना लोकतन्त्र सुदृढ हुन सक्दैन । तर आलोचना तथ्यमा आधारित हुनुपर्छ, तर्कसंगत हुनुपर्छ । आलोचना गर्नकै लागि आलोचना गरिन्छ भने त्यसभित्र निहित स्वार्थ छिपेको हुन्छ । संसारको कुनै पनि व्यक्ति आलोचनारहित हुनसक्दैन । म के कदापि भन्न सक्दिनँ भने उहाँहरु पनि आलोचनारहित हुनुहुन्छ । तर काम र यसको तौल हेरेर विरोध हुनुपर्छ । 

मधेश आन्दोलन मुद्दामा आधारित संघर्ष भएकोले मधेशी समाजमा स्थापित रहेका कमीकमजोरी र विभेदलाई पहिचान गरी निर्क्यौल गर्दै जाने हो भने यसले आन्दोलनलाई कमजोर हैन झन बल प्रदान गर्छ ।

भयो के भने विगत दश वर्षमा भएका तीन वटा आन्दोलनले अधिकार र पहिचानको अनुभूति त गराए नै, तर यिनले धेरै मात्रामा महत्वाकांक्षा पनि जन्माए । नेता बन्ने लहरमा पात्रहरु बदलिए, प्रवृति बदलिएन । सामाजिक न्याय र अधिकारको आन्दोलनको आडमा आफ्नो चम्किलो करियर देख्ने पनि आए गए, आफूलाई यी माफी अभियानकर्ताको हाइटमा देख्न खोज्ने तर कर्म ननियाल्ने भए । तर अहिलेको आवश्यकता नेताको हैन अभियानकर्ताको हो, नेतृत्व एउटा प्रक्रिया हो, एकाएक उदाउन सकिदैन । एकांकी आत्मकेन्द्रित व्यक्तित्व भएका केही सीमित व्यक्तिहरुले आफ्नो मनको कुण्ठाको भार बोक्न नसकेर सबभन्दा सजिलो आक्षेप डलर र फुटको आक्षेप लगाउन पनि भ्याए ।

एउटा कोणबाट के तर्क आएको छ भने अहिले राज्यसँग लडिरहेको बेला आफूभित्रका कमीकमजोरी नकेलाऊ, एकैचोटि अधिकार प्राप्त भइसकेपछि व्यवस्थापन गर्न सकिन्छ । यो नियतवश रणनीतिक रुपमा हामीभित्रका विभेद तेर्स्याएर आन्दोलन कमजोर गर्ने प्रारूप हो । विभेद सबै ठाउँमा छ, फेरि हामीलाई मात्र किन टार्गेट गरिँदैछ ?

यहाँनेरी बुझाइमा कमी छजस्तो लाग्छ । नेपालमा प्रतिक्रियावादी शक्ति हावी भएको र माओवादीले बाटो बिराएको यो बेलामा मधेश आन्दोलनले अग्रगामी खेमाको नेतृत्व गर्दैछ, देशमा अहिले परिवर्तनको बाहक मधेशी जनता नै हुन् भन्ने स्पष्ट देखिन्छ । मधेश आन्दोलन मुद्दामा आधारित संघर्ष भएकोले मधेशी समाजमा स्थापित रहेका कमीकमजोरी र विभेदलाई पहिचान गरी निर्क्यौल गर्दै जाने हो भने यसले आन्दोलनलाई कमजोर हैन झन बल प्रदान गर्छ । 

के हामीसँग यति धेरै समय छ कि घरभित्रको फोहर थाती राखी बाहिर सफा गर्नमै सबै शक्ति लगाउन सक्छौ ? यी यावत प्रश्नको जवाफ हामीले खोज्ने बेला आइसकेको छ !

के हामी अधिकारप्राप्त भएपछिको अवस्थामा त्यही अधिकार व्यस्थापन गर्नको लागि तयार छौ ? जनयुद्धपछिको सह-उत्पादन व्यवस्थापन गर्न नसकेर माओवादी कुन अवस्थामा आइपुगेको छ, त्यो हाम्रो आँखासामु प्रत्यक्ष छ ।

यो अधिकारको लडाइँ लामो जाने निश्चित प्राय: हुँदा के हामी एउटा लडाइँ सक्याएर अर्को लडाइँ भावी पुस्ताको लागि छाड्न तयार छौं ?
राजनीतिक अधिकार र सामाजिक सुधार एकसाथ समानान्तर रुपमा किन लान सकिँदैन ?

के हामीसँग यति धेरै समय छ कि घरभित्रको फोहर थाती राखी बाहिर सफा गर्नमै सबै शक्ति लगाउन सक्छौ ?

यी यावत प्रश्नको जवाफ हामीले खोज्ने बेला आइसकेको छ !

नेपालमा केही वर्ष पहिले विप्रेषण (रेमिटेन्स) नामको जन्तु आविष्कार भए पश्चात अहिलेसम्म राज्यको संरचनाले नछोएका दलितलाई पनि यसले छोयो । विप्रेषणले केही हदसम्म आर्थिक विप्पन्नताको जालो तोड्यो । मुसहरी टोल हुँदै हाम्रो गाउँ छिर्ने बाटोमा पहिले फुस (खर) को घर मात्रै देखिन्थ्यो, अब रातो ईंटाका घरहरु देखिन थालेका छन् । मेरो भाइसँगै एक जना मेरै गाउँको चमार-पुत्रले पहिलो पटक एसएलसी पास गरे । पिता चमारले अरबमा बेल्चा हान्दै आफ्नो छोरालाई जनकपुरमा प्लस टु पढ्न पठाए । जीवनभर अछूत रहेका पिताको पुत्रले समाजमा स्वीकार्यता पायो, बजारको चियापसलमा चिया खान उसले घरबाट गिलास बोकेर आउनु परेन ।

यसले के दर्शाउछ भने शिक्षा र अर्थले विभेद अन्त्यमा महत्वपूर्ण भूमिका खेल्ने रहेछन् । कैयौं ठूल-ठूला आन्दोलन भए, तीन-तीन वटा मधेश आन्दोलन त आँगनमै देख्न पाइयो, जनचेतना बढ्यो । क्यापस पढ्न, विदेश जान सरकारी कागजपत्रको आवश्यकता पर्न थाल्यो, उनीहरुले यी सबै कुराको महत्व बुझे ।

पहिल-पहिले मुसहरी टोलमा गएर श्रमका लागि मुसहरहरुलाई हाँकेर लिएर आउने गाउँका सम्भ्रान्त वर्ग आजकल त्यही टोलमा मुसहरहरुलाई श्रमका निम्ति खुसामद गरेको दृश्य देख्न पाइन्छ । अरबको बाटो खुलेपछि गाउँमा श्रम गर्ने हातहरुको संख्या कम भयो, पहिलेजस्तो हुकुम दिएर काम गराउन सक्ने अवस्था पनि रहेन, दलितहरु अब पहिलेजस्तो परनिर्भर छैनन् ।

तर यति हुँदैमा दलितको अवस्था सन्तुष्ट हुनेगरी फेरिएकोचाहिँ पक्कै हैन । पचासौं वर्ष पहिले एउटा दलित बाबा अम्बेडकरले भारतको संविधान लेखे, जसको भारतमा कुनै सम्मानको कमी छैन । तर आज तिनै अम्बेडकरका एक जना सन्तान रोहिथ वेमुलाले जातीय विभेद सहन नसकेर आत्महत्या गरे । यसबाट के प्रमाणित हुन्छ भने राजनीतिक समाधानबिना दलित उत्थान सम्भव छैन । चार वटा कुरा – शिक्षा, अर्थ, राजनीतिक, सहभागिता र राज्यसत्तामा समानुपातिक साझेदारी । यी चारै विषयलाई एकसाथ लिएर अगाडि बढ्न सकियो भने परिवर्तन सम्भव छ ।

सबभन्दा महत्वपूर्ण कुरा बहसको आरम्भ हुनु हो । आशा गरौं, हाललाई माफी अभियानले आरम्भ गरेको बहस सामाजिक संजालबाट सुरु भएर सामाजिक संजालमै सीमित नहोस्, यसले निरन्तरता पाओस् । भोलि संघीय संरचनामा जाँदा हामीले फेरि नयाँ शिराबाट बहस प्रारम्भ गर्न नपरोस् । अहिलेको बहसले दिएको निष्कर्ष एकैपटकमा लागू गरेर समय बचाउन सकिन्छ ।

माफी काफी हैन, यो सत्य हो । तर यसको मतलब माफी सुरुवात नै हुन सक्दैन भन्नु सरासर दुराशयी भनाइ हो । एक जना वा दुई जना मिलेर माफी मागेर यो विभेदलाई साँच्चै अन्त्य गर्न पनि सकिँदैन । तर यो विभेद समाप्तिको शुरुवात हुन नसक्ने कुनै कारण छैन । एक जनालाई माफी माग्ने युक्ति फुर्‍यो, अर्कोलाई सह-भोजन गराउने फुरेको छ, अर्कोलाई बस्ती सारेर हातमा हात मिलाएर अगाडि बढ्ने युक्ति फुर्ला ! यसलाई हामी विभेदविरोधी कडीको रुपमा इस्तेमाल गर्दै अगाडि बढ्दै जानुपर्छ । दलितलाई समानान्तर रुपमा लिएर जाने जस्तोसुकै प्रयासको पनि सराहना गर्नुपर्छ, अर्को विकल्प छैन । केही हुँदैन भनेर केही नगर्नुभन्दा केही गर्नु राम्रो । #WeAreSorry

क्याटेगोरीः अन्तर्क्रिया

लेखक बारेः