आदिवासी जनताका आन्दोलनबाट ऊर्जा पाउने गर्दछु : महाश्वेता देवीसँग कुराकानी

आदिवासी जनताका आन्दोलनबाट ऊर्जा पाउने गर्दछु : महाश्वेता देवीसँग कुराकानी

लेख्नु मेरो लागि आफैमा एउटा अभियान हो 

साउन १३ गते कोलकोत्तामा भारतका विख्यात प्रगतिशील एवं विद्रोही लेखिका महाश्वेता देवीको निधन भएको छ । सन् १९२६ मा पश्चिम बङ्गालको जिन्दापुरमा जन्मेकी उनको ९० वर्षको उमेरमा निधन भएको हो । उनको निधनप्रति भारतका सबै जनताले, विशेषतः भारतका उत्पीडित जनताले आफ्नो दुःखलाई लेखिदिने पूजनीय व्यक्तित्व गुमाएको महसुस गर्दैछन् । सयौं कथा, उपन्यास, लेख रचना, आत्मसंस्मरण लेखेका महाश्वेता देवीको हजार चौरासी की माँउपन्यासको नेपाली भाषामा अनुवाद भएको छ । 
हृदयाघातका कारण केही महिनादेखि अस्वस्थ रहेकी महाश्वेता देवी संसारभरका प्रगतिशील लेखकका लागि प्रेरक व्यक्ति हुन् । उनी साहित्यकारमात्र नभएर आफै न्यायपूर्ण विषयमा बोल्ने, जुलुस गर्ने, प्रहरी दमनको सामना गर्ने, जनतालाई जागरुक बनाउने अभियन्ता पनि हुन् । उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सन् २०११ मा दिल्ली विश्वविद्यालयअन्तर्गत क्लस्टर इनोभेसन सेन्टरका अङ्ग्रेजी भाषाका सहप्राध्यापक डा. नन्दिनी चौधरी सेनले लिएको अन्तर्वार्ता अङ्ग्रेजी भाषाबाट खस नेपाली भाषाको अनुवाद प्रस्तुत छ । mahashweta-devi-1


मैले आफूले खाएको खानाभन्दा बढी किताब पढेकी छु ।

मलाई लेख्ने सामग्री त्यहींबाट तयार हुने गरेको छ ।

महाश्वेता देवीसँगको भेटघाटको अनुभव अवर्णनीय थियो । उनी कोठाभित्र रमाउने प्राज्ञहरुसँग कुराकानी गर्न त्यत्ति रुचाउँदिनन् भन्ने कुरा सुनेकी थिएँ । त्यसकारण शुरुमा त म केही आपत परिहाल्छ कि भनी डराएकी थिएँ । तर उनले चाँडै नै मेरो मनको भय शमन गरिदिइन् । एक घण्टाका लागि समय मिलाइएको अन्तर्वार्ता दुई घण्टा लम्बियो । अन्तर्वार्तामा उनले सिङ्गुर र नन्दीग्राममा आफ्नो सक्रिय अभियानको पछिल्लो अवस्थाबारे सविस्तार चर्चा गरिन् । 

महाश्वेता देवीको सबभन्दा पहिले प्रभाव पार्ने पक्ष भनेको उनका सरलता र हाकाहाकी बोल्ने स्वभाव हुन् । उनी हक्की स्वभाव निर्ममताको हदसम्म जान सक्छ तर फेरि उनी केटाकेटी जत्तिकै सरल छिन् । सबै गरिब र अभावले पिरोलिएकाहरुका लागि उनको मन सद्भावले ओतप्रोत हुने गरेको छ । उनले धेरै समय र गहिराइमा गएर अधिकांश आदिवासी र मूलधारमा नअटाएका समुदायसँग काम गरेकी छिन् र उनीहरुको निम्ति महाश्वेतादेवी माँहुन् । उनको स्वास्थ्य दिनानुदिन कमजोर बन्दै गइरहेको छ । तथापि उनी घण्टौंघण्टासम्म एक क्षण पनि आफ्नो बुढो ढाडलाई आराम नदिई लगातार काम गरिरहेकी हुन्छिन् । कोलकोत्ताको उखर्माउलो गर्मीमा कहिलेकाहीं चल्दै गरेको पङ्खा बन्द हुन्छ । तर त्यो प्रतिकूल परिस्थितिलाई पनि निमेषभरमै आफ्नो नियन्त्रणमा लिएर भन्छिन्, ‘अमार असुवेधी होए ना’ (मलाई कुनै असुविधा भएको छैन) । 

उनको फोनको घण्टी लगातार बजिरहेको हुन्छ । उनले चिकित्सक र सहयोगीहरुलाई नन्दीग्रामको अस्पतालमा सहयोग गर्न आह्वान गरेकी हुनाले त्यही विषयमा कुराकानी गर्न उनको टेलिफोनले हल्ला गरिरहेको हुन्छ । 

महाश्वेता देवीले आफूलाई पश्चिम बङ्गालको सरकारको आँखामा खतरनाक अपराधीभएको भन्दै गर्दा उनको व्यङ्ग्यचेत चोटिलो प्रकारले अभिव्यक्त भइरहेको थियो । उनी आफू र आफ्नो कलमले बगरेको चक्कुको जस्तो धार दिने गरेको संसारको विषयमा मज्जाले हाँस्ने क्षमता राख्छिन् । उनले हरेक घटनाको मिति र घटानक्रम कत्ति पनि नअलमलीकन राखेको सुन्दा म उनको स्मरणशक्ति देखेर चकित परें । त्यसो हुनुको कारणबारे खोतल्दै उनले इतिहासप्रतिको आफ्नो मोहबाट कुरा तुनिन्त्यो इतिहास पाठ्यपुस्तकमा पढाइने खालको होइन बरु वाक्यवाक्यबीचमा अदृश्य मसीले लेखिएका इतिहासको होत्यो । 

उनी जनताका इतिहासका व्याख्याता हुन् जसलाई मूलधारले सधैं ओझेलमा राख्न खोजिरहेको हुन्छ । तर उनलाई कहिल्यै ओझेलमा परेकाहरुको पक्षमा बोलिरहेको जस्तो लाग्दैन । उनका अनुसार खासमा गरिब, उत्पीडित र ओझेलमा परेकाहरु सधैं बोलिरहेका छन् । तर उनीहरुका आवाजलाई नसुनिएको मात्र हो र मूलधारको डिस्कोर्सले ओझेलमा धकेलेको मात्र हो । उनी त मात्र ती ओझेलमा धकेलिएको आवाजलाई शब्द भर्ने काम गर्छिन् र प्रकाशमा ल्याउने काम गर्ने गर्छिन् । ओझेलमा परेकाहरु बोल्न मात्र सक्तैनन्, बरु उनीहरु युगौंयुगदेखि बोल्दै आइरहेका छन् । उनीहरुको आवाज सुन्न संवेदनशील कानको जरुरी पर्दछ र महाश्वेता देवीजस्ता लेखकहरुको कलमले जनताको इतिहास निर्माण गर्न सहायता गर्ने गर्दछ । 

भारतको पद्मश्री, पद्मविभूषण, ज्ञानपीठ र म्यागासेसे पुरस्कारबाट पुरस्कृत उनी एक जना जीवित विभूति हुन् । लेखक र अभियन्ता एकै समय सँगसँगै हुन सक्छ र दुवैतिर उही उचाइको इमान्दारीको साथ हुन सक्तछ भन्ने कुरा महाश्वेता देवीले आफ्नो जीवनकालमा प्रमाणित गरेकी छिन् र सबै कामदार तथा ओझेलमा पारिएकाहरुका लागि न्यायका लागि उनको यो काम उदाहरणको रुपमा निरन्तर रहनेछ । 

उनै महाश्वेता देवीसँगको अन्तर्वार्ता :

mahashweta-devi-2

तस्बिर : तहलका अार्काइव

नन्दिनी सेन :  महाश्वेती देवी, तपाईंले आफ्नो अभियान र लेखनलाई कसरी सँगसँगै लानुभयो, यसको जन्मकथाबारे हामीलाई केही बताइदिनुहुन्छ कि ?

महाश्वेता देवी : मैले मेरो साहित्यिक यात्रा झाँसीकी रानीको जीवनीबाट शुरु गरेकी हुँ । म इतिहासप्रति निकै चासो राख्ने गर्दछु । मेरो लागि वास्तविक इतिहास दुई वटा छापिएका पंक्तिबीचको सेतो रित्तो स्थानमा रहने गर्दछ किनभने जनताको इतिहास जोकोहीले खोजी गर्नु पर्दछ । मेरो पहिलो पुस्तक सन् १९५६ मा प्रकाशित भयो । म त्यत्तिबेला २८ वर्षकी थिएँ । त्यो पुस्तक लेख्न म झाँसी गएँ, ग्वालिएर र अरु धेरै ठाउँमा घुमें । ती सबै ठाउँ म एक्लै नापें । त्यहाँका स्थानीय जनताबाट लोकोक्ति, लोकगीत आदि सङ्कलन गरें । मलाई आज पनि याद आउँछ– डिसेम्बरको चिसो रात गाउँलेहरु सबै अगेनामा आगो ताप्दै बसेका ती दिनहरु । उनीहरुले यस्तो गीत गाएका थिए :

‘पत्थर मिट्टी से फौज बनाई,
काठ से कठवारस
पहाड़ उठा के घोड़ी बनाई
रानी चली ग्वालियर।

यो पनि सत्य हो, मेरो पूरा जीवन म एक जना व्यावसायिक लेखक भएँ वा रहें । लेखन नै म आफूलाई र आफ्नो ठूलो परिवारलाई धान्ने एउटै मात्र माध्यम हो । सन् १९७० को दशकपछि म जनताको इतिहास लेखनमा संलग्न भएकी छु । यो स्वाभाविक रुपमा मेरोसामु आएको कुरा हो । मैले यो कुरा सुनाउनैपर्छ, मैले धेरै कसौडीमा भात पाक्ने सामग्री लेखेकी छु किनभने एकजना व्यावसायिक लेखकका टाउकामा यस्ता धेरै दबाब आइलाग्ने रहेछन् । यस क्रममा मैले आनन्दबजार प्रकाशन समूहका पत्रिकामा मात्र लेखेकी होइन । वास्तवमा झाँसीकी रानीको पहिलो प्रकाशन धारावाहिक रुपमा देश नामको एउटा अखबारमा भएको थियो । अनि अरु पनि तीन चार वटा कमिसन आउने लेख लेखें । त्यसपछि मैले धेरै अखबारमा लेखें । सन् १९६० दशकयता मैले अखबारमा बङ्गाली भाषामा लेख्ने गरेको छु । आजभोलि पनि अखबारमा म लेख्ने गर्छु । कुनै समय म आर्थिक तथा राजनीतिक साप्ताहिक, द फ्रन्टियर, द बिजिनेश स्टान्डर आदि अखबारमा लेख्ने गर्थें ।

अङ्ग्रेजीमा लेख्नु अभियानको निकै महत्वपूर्ण चरण थियो । मैले पालामाओका कमैयाहरुको विषयमा लेखेको थिएँ । साथै म पश्चिम बङ्गालका असूचीकृत समुदायबारे लेख्न र उनीहरुको मानवअधिकारबारे लड्न सक्रियतापूर्वक लागेको थिएँ । सन् १८७१ मा बेलायतले अविभाजित भारतमा जम्माजम्मी २ सयदेखि २ सय ५० वटा जातिको सूचीकरण गरेको थियो । पश्चिम बङ्गालमा जम्मा तीन वटा त्यस्ता सूचीकृत जाति छन् : मेदिनिपुरका लोधा समुदाय, पुरुलियाका खेदिया शबर समुदाय र वीरभूमका धिकारोस समुदाय ।

नन्दिनी सेन : त्यो आन्दोलन कसरी भारतभरि फैलियो त ?

महाश्वेता देवी : सन् १९९८ मा पुरुलियाको बुधन शबरलाई प्रहरीले निर्ममतापूर्वक हत्या गर्‍यो । बेलायतीहरुले यो समुदायलाई अपराधी समुदाय करार गरेको थियो । भारत स्वतन्त्र भएपछि सन् १९५२ मा भारत सरकारले यो समुदायलाई असूचीकृत घोषणा गर्‍यो । अर्थात् उनीहरु अब अपराधी समुदायको रुपमा सूचीकृत भएनन्, बरु असूचीकृत भए । बुधनको हत्यापछि मलाई केही कुराले भित्री मनमा घोच्यो । मैले कोलकोत्ता अदालतमा गएर राज्य सरकारको विपक्षमा मुद्दा दायर गरें । सौभाग्यवश, हामीले मुद्दा जित्यौं । बुधनकी श्रीमतिले एक लाख भारु क्षतिपूर्ति पाइन् ।

दुर्भाग्यवश, सन् १९९९ मा भद्र शबरलाई ढुङ्गामुढा गरेर हत्या गरियो । किन ? असुचीकृत समुदायलाई प्रहरी, उनीहरुका छिमेकी अथवा जोकोहीले पनि मार्न सक्थे ।

सन् १९९७ देखि १९९९ को बीचमा ३७ जना लोधा समुदायका मानिसलाई मेदिनीपुरमा निर्मम तरिकाले हत्या गरियो । तर सरकारले केही गरिरहेको थिएन । सन् १९९२ मा छुनी कोटल नामकी एक जना लोधा केटी मेदिनीपुर आदिवासी छात्रा होस्टलमा सुपरिटेन्डेन्टको रुपमा भर्ती भइन् । तिनी लोधा समुदायमै स्नातक गर्ने पहिलो छात्रा थिइन् । तिनी मेदिनीपुर विद्यासागर विश्वविद्यालयमा मानवशास्त्र विषयमा स्नातकोत्तर तहमा भर्ना भइन् । सरकारले आफ्नो समुदायलाई असूचीकृत गरेको विरोधमा लड्न उनले मानवशास्त्र विषय छानेकी थिइन् । तर तात्कालीन विश्वविद्यालय प्रशासन र स्थानीय प्रशासनले तिनलाई अघि बढ्नबाट रोक लगाए किनभने तिनी लोधा थिइन् । लोधा भएकै कारण उनलाई आफ्नो उच्च अध्ययन पूरा गर्नमा रोक लगाइयो र आफ्नो समुदायको सेवा गर्न दिइएन । तिनले एक जना लोधा समुदायकै असल केटासँग विवाह गरेकी थिइन् र उनीहरुको जीवन सुखसँग अघि बढिरहेको थियो । तर मूलधारसँग लड्न नसकेकै कारण तिनले आत्महत्या गरिन् ।

बुधनको मुद्दा अदालतमा चल्दै गर्दा सन् १९९८ मा डा. जी.एन. देवीले मलाई बोरोडामा आफ्नो भाषा केन्द्रको इल्विन भाषण श्रृङ्खलाका लागि आमन्त्रण गर्नुभयो । मैले त्यहाँ भनें, ‘आदिवासीहरुका लागि मात्र काम गर्नु पर्याप्त छैन । असूचीकृतहरुको विषयमा पनि बोल्नु पर्दैन ?’

त्यही दिन म, डा. देवी र लक्ष्मण गायकवाद सामेल भएर ‘असूचीकृत र घुमन्तु जाति अधिकार संरक्षण समूह’ गठन भयो । अनि हामीले महाराष्ट्र, गुजरात, राजस्थान, मध्यप्रदेश, बिहार, झारखण्ड र पश्चिम बङ्गालमा हुने हरेक नृशंसता प्रकाशमा ल्याउने काम गर्‍यौं । शुरुमा राष्ट्रिय मानवअधिकार आयोगलाई सबै राज्यमा व्यापक रुपमा मानिस परिचालन गरी स्थलगत अनुसन्धान गर्न र प्रतिवेदन तयार पार्न घच्घचायौं । मानवअधिकार आयोगका प्रमुख न्यायाधीश वर्माले निकै उत्कृष्ट काम गर्नुभयो र धेरै समस्याको हल गर्न सफल भयौं । हामीले सबै असूचीकृत जनताका लागि आधारभूत मानव अधिकारको माग गर्दैगर्दा उहाँले सबै राज्यका मुख्यसचिवको बैठक आमन्त्रण गर्नुभयो । मलाई खुशी लाग्छ, २००६ जनवरी १४ मा म र डा. देवी गएर प्रधानमन्त्रीलाई चारबुँदे माग पेस गर्‍यौं । ती मागबारे बुझ्न र भूमि, पुनर्स्थापन, विद्यालय र अरु आधारभूत मानवअधिकारमा बजेट विनियोजनका लागि सरकारलाई सहयोग गर्न बालकृष्णा रेन्केको नेतृत्वमा सरकारले एउटा आयोग गठन गर्‍यो । तर, दुःखको कुरा, रेन्केले आजसम्म पनि यो विषयका लागि उपयुक्त बजेटको माग गर्न सक्नुभएको छैन । असूचीकृत समुदायसँग सम्बन्धित काम डा. देवीको अभिलेखमा मात्र सीमित भएको अवस्था छ ।

सन् १९७० को दशकदेखि सन् २००६ सम्म मैले लगातार असूचीकृत समुदायका विषयमा पनि काम गर्दै आएको छु । डा. देवी र मैले मिलेर भारतको बरोडानजिक तेजगढमा पहिलो आदिवासी प्रतिष्ठान खोलेका छौं । मेरा प्रमुख पुस्तकमा धरी मैले यी समुदायका मानिसका विषयमा लेखेकी छु । ‘बसाई टुडु’ र ‘पेट्रोडाक्टिल’ अङ्ग्रेजी भाषामा अनुवाद भइसकेका छन्, तर सबै भइसकेका छैनन् । ‘अरण्यर अधिकार’ र ‘अण्डरमणि’ (कोबि मृत्यु) पनि अनुवाद भइसकेका छैनन् ।

नन्दिनी सेनः आफ्ना कृतिहरु अङ्ग्रेजी भाषामा अनुवाद भएकोमा तपाईं खुशी हुनुहुन्छ ?

महाश्वेता देवीः गायत्री स्पिभाकले ‘द्रौपदी’, ‘ब्रेस्ट गिभर’, ‘पेट्रोडाक्टिल’जस्ता कथा अनुवाद गर्नुभयो र अरु भाषाका पाठकले पनि ती कथा पढे । म आफै अनुवाद गर्दिनँ । त्यसकारण उनी अथवा अरु कोही पनि अनुवादकको मूल्याङ्कन गर्ने मसँग क्षमता छैन । तब म गौरवका साथ भन्छु, मेरा सबै रचना बङ्गाली भाषामा विभिन्न खण्डमा आउँदैछन् । १९ खण्ड त प्रकाशित भइसकेका छन् । सम्पादक अजोय गुप्ताका अनुसार यो काम पूर्ण रुपमा मेरो जीवनकाल वा उनको जीवनकालभरि सकिने छैन ।

मेरो लागि लेखन आफैमा एउटा अभियान हो । सन् १९८२ देखियता म पुरुलिया खेदिया शबर कल्याण समितिमा नजिक रुपमा काम गरिरहेकी छु । म दैनिक १५ देखि १८ माइल हिँड्ने गर्थें तर आजभोलि म सक्तिनँ । अब म जे गर्छु, लेखेरै गर्नेछु । सन् २००६ को नोभेम्बरदेखि म सिङ्गुर र नन्दीग्रामको विषयमा विस्तृत रुपमा लेख्दैछु । म खुशी छु, चिकित्सक र अरु सहयोगी सोनाचुरा र गोकुलनगरका स्वास्थ्यकेन्द्रमा नियमित रुपमा जान थालेका छन् । त्यसको निम्ति हामी कुनै पैसा मागिरहेका छैनौं । मैले मेरा सहयोगीमार्फत हामीलाई आवश्यक परेका जेनेरेटर, पुराना साइकल, पुराना पङ्खा आदि मागिरहेका छौं । अस्पतालहरुलाई ती सामान सहयोग गर्न हामी माग गरिरहेका छौं । चिकित्सकहरु महाविद्यालयका विद्यार्थीहरु– दुवै छात्र र छात्राले विस्तृत स्वास्थ्यकर्मी तालिम दिएर सहयोग गरिरहनु भएको छ । उनीहरुले न्यून शिक्षित गाउँका महिलाहरुलाई सुँडेनी तालिम दिइरहेका छन् ।

नन्दीग्राम उत्साहित छ । उनीहरु सहकार्य गरिरहेका छन् । उनीहरु विश्वको इतिहासमा नयाँ पाठ लेख्दैछन् । मैले यो काममा अखरबारमा स्तम्भ लेखेर सहयोग गरिरहेको छु । म उनीहरुको सङ्घर्षको विषयमा पनि लेख्न चाहन्छु । त्यसको निम्ति मसँग समय रहने छ वा छैन, मलाई थाहा छैन । तथापि यो मेरो लागि एउटा मूर्त सपना हो र म हरेक दिन लेख्नु पनि मेरा लागि अन्ततः एउटा अभियान भएको कुरा पुष्टि गर्दैछु ।

नन्दिनी सेन : तपाईंको साहित्यिक प्रभावबारे केही भन्नुहोस् न ।

महाश्वेता देवी : मैले बेलायती उपनिवेश समय भोगेकी छु र त्यसपछि स्वतन्त्रताको समय पनि देखेकी छु । म अझै बाँचेकी छु र अर्को थप १८ वर्ष बाँच्न चाहन्छ । अनि लेख्न चाहन्छु । (अबको १८ वर्षपछि उनी सय वर्षकी हुनेछिन् ।)

१६औं शताब्दीका कवि मुकुन्दराम चर्कोवर्तीको ‘कोबि कङ्कण चण्डी’ मेरा लागि स्थायी साहित्यिक मार्गदर्शक बनेको छ । म सन् १९३६ देखि १९३८ सम्म म शान्तिनिकेतनमा बसेको हुनाले रवीन्द्रनाथ टैगोर प्रेरणाका पुञ्ज हुनुहुन्छ । शान्तिनिकेतनबाट मैले आत्मअनुशासित बन्न सिकें । जो कोहीको जीवनमा कुनै न कुनै समय प्रकृतिबाट सिक्ने समय हुने रहेछ । कीराफट्याङ्ग्रालाई मन पराउनु, चराचुरुङ्गी र पशुको जीवनमा आकर्षित हुनु । त्यस्ता सिकाइ अद्यापि मसँग कायम भएको म पाउँछु । निसन्देह विभूतिभुषण बन्द्योपाध्याय, ताराशंकर बन्द्योपाध्याय, सतिनाथ भाडुरी, माणिक बन्द्योपाध्याय, ज्योर्तिमोयी देवी, लील मजुमदार आदि मेरा प्रिय लेखक हुनुहुन्छ ।

नन्दिनी सेनः तपाईं महाआख्यानहरु वरपर रहेर लेख्ने गर्नुहुन्छ जस्तै ‘द्रौपदी’ र ‘कुरुक्षेत्रपछि ।’ के तपाईंलाई महाआख्यानमा जात वर्गको कोण महत्वपूर्ण लाग्छ ?

महाश्वेता देवी : फेरि पनि त्यही कुरा । रामायण र महाभारतमा पङ्क्तिहरुबीचका सेता खाली ठाउँहरु हुन् । त्यहाँ राजमाता कुन्ती छिन् र निशादिन पनि छिन् जसलाई आफ्ना छोरासँगै दरबारभित्रै जलाइन्छिन् । मैले आफूले खाएको खानाभन्दा बढी किताब पढेकी छु । म निकै पढ्ने गर्दछु । इतिहासको बीचमा रहेका खाली ठाउँले मलाई आकर्षित गरिरहेका हुन्छन् र म त्यही विषयमा लेख्ने गर्दछु । ‘स्तनदायिनी’की यशोदा ऐतिहासिक नाम हो तर कुनै कल्पना होइन ।

नन्दिनी सेन : ‘बेदनाबाला’मा तपाईंले यौनकर्मीहरुको विषयमा लेख्नुभएको छ …

महाश्वेता देवीः यौनकर्मीहरु पनि हामीजस्तै जीवित मानिसहरु हुन् । यौनकर्मीहरुले बेलायतविरोधी आन्दोलनको क्रममा धेरै ठूलो मद्दत गरेका थिए । उनीहरुले स्वतन्त्रता आन्दोलनमा आर्थिक सहयोग दिएका थिए । मेरो पूरा जीवन म आँखा खोलेर बाँचेकी छु । त्यसकारण म त्यही घटना र कुराबारे लेख्ने गर्छु जो मूलधारलाई लेख्न वा कुरा गर्न स्वीकार्य हुने गर्दैन ।

नन्दिनी सेन : प्रहरी दमनको तपाईंले भोगेका सबभन्दा नृशंस घटना कुन हो ?

महाश्वेता देवी : बुधन मुद्दा । उनकी श्रीमतीले उजुरी गरिन् । उनीहरुले बुधनले आत्महत्या गरेको भनाउन खोज्दै थिए । उनको समुदायका मानिसहरुले बुधनको लासलाई नजलाईकन गाडे । बुधनको बुबाले यो मुद्दालाई जीवित राखे, जो सन् १९४२ देखिका स्वतन्त्रता संग्रामी थिए ।

नन्दिनी सेन : के तपाईं आफूलाई महिलावादी भन्नुहुन्छ ?

महाश्वेता देवी : म ओझेल र उपेक्षित सबै मानिसको पक्षमा लेख्छु । जब समाजको कमजोर हिस्सा छ भने के पुरुष, के महिला र के केटाकेटी सबैलाई उही ढङ्गले उपेक्षा गरिएको हुन्छ । मेरा कथा महिलाको विषयमा मात्र छैन । म सबै उत्पीडित वर्गका लागि लेख्ने गर्छु ।

नन्दिनी सेन : तपाईं आफूलाई महिलावादी भन्नुहुन्छ कि भन्नुहुन्न ?

महाश्वेता देवी : म आफूलाई महिलावादी भन्दिनँ । मैले सबै उत्पीडित वर्गका लागि लेखेकी छु । मेरी आमा निकै व्यापक सोचकी महिला हुनुहुन्थ्यो । हामी बेहरामपुर बस्दा मेरी आमा पूर्वी बङ्गालबाट आएका सबै शरणार्थी महिलालाई सहयोग गर्नु हुन्थ्यो । उहाँ जातप्रथामा विश्वास गर्नुहुन्नथ्यो र सबैलाई समान रुपमा व्यवहार गर्नुहुन्थ्यो । गरिब र उत्पीडित मानिसलाई सशक्तीकरण गर्न जरुरी छैन । किनभने उनीहरु निकै शक्तिशाली छन् । नभए तापोसी मलिकजस्ता महिलाहरु कहाँबाट आउँछन् ? म उनीहरुबाट ऊर्जा लिने गर्दछु । म मेरो वरपर भइरहेका आदिवासी जनताका आन्दोलनबाट ऊर्जा पाउने गर्दछु । सिङ्गुर र नन्दीग्रामले मेरो जीवनमा नयाँ रङ्ग भरिदिएका छन् । मेधा पाटकर र मैले सिङ्गुरमा कुनै राजनीतिक दलको प्रतिनिधित्व गरेर भ्रमण गरेका थिएनौं । सिङ्गुरका जनताले हामीलाई त्यहाँ लगेका थिए । जनताप्रतिको मेरो आस्था पुनः जगाइदिएकोमा म उनीहरुलाई धन्यवाद व्यक्त गर्दछु । बिरसा मुन्डा होस् वा सिङ्गुर र नन्दीग्रामका जनता हुन्, म सधैं उनीहरु सँगसँगै हिँड्ने बचनबद्धता व्यक्त गर्दछु ।

अनुवादः नीरज लवजू

क्याटेगोरीः अन्तर्वार्ता