पहिचानको पक्षमा संघर्ष गर्न जरुरी छ – उपराष्ट्रपति पुन

किराँत याक्थुम चुम्लुङको २८ औँ स्थापना दिवस

ललितपुर, भदौ १७ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका आदिवासी जनजातिको मौलिक पहिचानको संरक्षण गरिनु पर्नेमा जोड दिएका छन् । नेपालका आदिवासी जनजातिहरु धार्मिक तथा सांस्कृतिक रुपमा उत्पीडनमा परेको बताउँदै पुनले राज्यले अब उनीहरुको पहिचान संरक्षण गर्नु पर्ने बताए ।

उनले भने ‘हिजोको राज्य सत्ताबाट आदिवासी जनजाति, ,दलित, मधेसीलगायतलाई पछाडि परेका वर्गलाई राज्यको मूलधारमा ल्याउन सकेन । अब मूलप्रवाहीकरणमा ल्याइनु पर्दछ ।’

देशमा भएको भएको राजनीतिक परिवर्तनले थालेको राज्यका हरेक निकायमा समानुपातिक समावेशीको अभ्यास सकारात्मक रहेको बताउँदै संविधानमाबाट नै उनीहरुको अधिकारको ग्यारेन्टी गरिनु पर्ने बताए । उनले भने ‘राज्यले अपनाएको समानुपातिक निर्वाचन आदिवासी र अन्य पछाडि परेका समुदायको आवाज राज्यलाई सुनाउन सहयोग पुगेको छ, तर फेरि पनि पहिचानको पक्षमा संघर्ष गर्न जरुरी छ ।’

किराँत याक्थुम चुम्लुङको २८ औँ स्थापना दिवसको अवसरमा शुत्रबार आयोजित कार्यक्रलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् ।

उनले लिम्बु समुदाय मौलिक पहिचानमा सबैभन्दा धनी समुदाय भएको बताउँदै नेपालका अदिवासी जनजातिहरुभित्र लिम्बु समुदायको छुट्टै विशिष्ट पहिचान रहेको बताए । उनले भने ‘लिम्बु समुदाय भाषा, लिपि, धर्म, संस्कृति र साहित्यमा अति नै धनी समुदाय हो । यो पहिचान लिम्बुकोे मात्र नभई सिंगो देशको पहिचान र साझा सम्पति हो ।’

उनले लिम्बु समुदायको परम्परा, भाषा, लिपि र संस्कृतिको संरक्षणमा किराँत याक्थुम चुम्लुङले पुर्‍याएको योगदानको प्रशंसा समेत गरे ।

क्याटेगोरीः समाचार