प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सन्धिसम्झौता हुन्छ : मन्त्री थकाली

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सन्धिसम्झौता हुन्छ : मन्त्री थकाली

काठमाडौं, भदौ १९ । वाण्ज्यि मन्त्री रोमी गौचन थकालीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा द्विपक्षीय महत्वपूर्ण सन्धिसम्झौता हुने सम्भावना रहेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थकालीले विगतमा भएका सबै खाले सन्धिसम्झौताहरुलाई ईमान्दारीपूर्वक कार्यान्वयन गर्दै अघि बढ्ने र नयाँ केही सम्झौताहरु प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा हुने विश्वास व्यक्त गरेका हुन् । उनले भने,“प्रधानमन्त्रीको भ्रमणको बेला केही महत्वपूर्ण सम्झौताहरु हुने सम्भावना मैले देखेको छु, उहाँको भ्रमणसँगै व्यापारका द्विपक्षीय नयाँ ढोकाहरु खुल्नेछन् ।”
उनले नेपाल डब्लुटिओ, विमस्टेक र साफ्टाको सदस्य राष्ट्र भएपनि फाईदा लिन नसकेको स्वीकारे र भने,“हामीले किन फाईदा लिन सकेनौं, यसबारेमा भर्खरै मन्त्रालयमा पनि समिक्षा भएको छ ।”

उनले नेपालको आर्थिक विकासका लागि नेपालले उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा राखे । नेपालको बजार भनेको नै भारत र चीन भएकाले नेपाली उत्पादनको असर नपर्नेगरि डाटा बेस एनलाइसिसमा रहेर सम्झौताहरु गर्नुपर्नेमा जोड दिए ।

यसका साथै उनले विशाखापट्टनम् सुख्खा बन्दरगाह तत्काल प्रयोगमा ल्याउनेबारेमा समेत प्रधानमन्त्रीको भ्रमणको बेला कुरा उठ्ने संकेत गरे । समुन्द्रीमार्ग भएर कम पर्ने भएकोल बंगलाबन्धु पोर्ट, बिशाखापट्टनम् सुख्खा बन्दरगाह प्रयोगको लागि रेलवे आवश्यक पर्ने भएकाले यसबारेमा भारतलेसहयोग गर्नेमा आफूहरु विश्वस्त रहेको मन्त्री थकालीको भनाई थियो ।

फरक प्रसँगमा उनले प्रधानमन्त्रीको भारत भ्रमण हुनु अगावै देशै बेच्न लागेको गरि अफवाह फैलाउने काम भएको भन्दै देशलाई अहित हुनगरि कुनै सम्झौता नहुने स्पष्ट पारे । “नेपाल र भारतवीच घनिष्ठ सम्बन्ध छ, आपसी समझदारी अनुसार नै दुई चल्नुपर्छ, उनले भने ।
भारतसँगको व्यापार घाटा कम गर्नको लागि पनि नेपालले आफ्नो उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने बताउँदै मन्त्री थकालीले भने,“व्यापार घाटा कम गर्न, नेपालले एक्सपोर्टमा वृद्धि दिनुपर्छ ।”

सोही कार्यक्रममा बोल्दै उनले लाईसेन्स प्राप्त फर्महरुको अनुगमन गर्ने र गलत गरेको पाइए त्यस्ता फर्महरुलाई तत्काल कारवाही गर्ने चेतावनी दिएका छन् ।
उनले थपे,“कानुन उल्लंघन गर्ने, कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कसैले संरक्षण गर्न खोज्छ भने, त्यस्तो कसैले नसोचेपनि हुन्छ, चाहे प्रधानमन्त्रीको दबाव नै किन नओस् वा पार्टीकै दबाव आएपनि म सुन्नेवाला छैन ।”

क्याटेगोरीः समाचार