यस वर्ष अमेरिकामा महिला सकर पनि

न्यूयोर्क, भदौ १८ । शेर्पा किदुग अमेरिकाले वार्षिक रूपमा सञ्चालन गर्दै आएको खेलकुद कार्यक्रम विभिन्न खेलका साथ यस वर्ष आउने सेप्टेम्बर ३ र ४ मा हुन गइरहेको छ ।

विगतमा विशेष गरी पुरुषहरूको मात्र सहभागिता हुँदै आएको यस खेलकुद कार्यक्रमले यस वर्ष भने नयाँ मोड लिएको छ । यस वर्षको सकर (फुटबल) खेलमा पुरुषहरू मात्र नभएर महिलाहरूको पनि सहभागिता रहने भएको छ । यसरी अमेरिकाको न्युयोर्कमा पहिलो पटक नेपाली महिलाहरूबीच सकर टुर्नामेन्ट हुन गइरहेको छ ।

यस खेलमा झरना फाउण्डेशनको तर्फबाट एक टिम र शेर्पा किदुग अमेरिकाको तर्फबाट ३ टिम गरी जम्मा ४ टिमको सहमगिता रहने भएको छ । शेर्पा किदुगको टिम निर्माणमा टिम क्याप्टेन निमी शेर्पा र शेर्पा किदुगका खेलकुद संयोजक रिन्जि शेर्पाको विशेष भूमिका रहेको छ ।

शेर्पा किदुगका महिला टिमहरूलाई अभ्यास तथा तालिमका निम्ति तेन्जि शेर्पा र एण्डीले कोचको रूपमा सहयोग गर्दै आएका छन् । भविष्यमा आउने नयाँ पिँढीहरूलाई खेलकुदप्रति आकर्षण गराउने र उनीहरूलाई हौसला तथा उत्प्रेरणा दिलाउने उद्देश्यले आफूहरूले यस खेलमा सहभागिता जनाएको कुरा उनीहरूले बताए ।

–छोटी शेर्पा, न्युयोर्क ।

क्याटेगोरीः खेलकूद, समाचार