‘असमावेशी ब्याक्टेरिया’विरुद्ध ध्वस्त पार्न पड्किन्छन् बेखुश ‘चित्त’

‘असमावेशी ब्याक्टेरिया’विरुद्ध ध्वस्त पार्न पड्किन्छन् बेखुश ‘चित्त’

मनका ४ आयाम : बुद्धि, मानस, अहंकार र चित्त


पूर्वीय यौगिक सोचअनुसार मानव “मन”का १६ आयाम हुन्छन् । बुझ्न सजिलो होस भनेर यिनलाई ४ किसिममा विभक्त गरिन्छ – १) बुद्धि (Intellect); २) मानस (Brain); ३) अहंकार (Identity); र ४) चित्त (Intelligence) ।

१) बुद्धि

बुद्धि तर्क र प्रमाणमा मात्र विश्वास गर्दछ । त्यसैले हरेक कुरालाई चिरफार गरेर खोजतलास गरेर सप्रमाण पत्ता लगाएपछि मात्र ‘ठीक’ या ‘बेठीक’ भन्छ । यतिसम्म कि आमाको माया कस्तो छ भन्ने कुरा सप्रमाण पत्ता लगाएर मात्र विश्वास गर्न आमालाई काटेर, चिरफार गरेर, आमाको मुटु-कलेजोका अणुअणुमाको विश्लेषण (५ इन्द्रियले आपूर्ति गरेका तथ्यांकका आधारमा) गरेर “आमाको माया”को अनुसन्धान गर्ने प्रोजेक्ट चलाउँलाझैँ गर्छ ।

सन्सारमा यही बुद्धिले शासन गर्दै आएको छ र अन्य पक्ष गौण मानिएका छन् । अफसोचको कुरा “बुद्धिमान”लाई नै सबैले “ठूलो” मान्छे ठानिन्छ जुन सत्य होइन । किनभने बुद्धिले त शिक्षा प्रणालीले, गुरु या समाजले, अध्ययनले जम्मा गरिदिएका सूचना-तथ्यांक खेलाएर, पुनः जोडजाड विश्लेषण गरेर निचोड सुनाउँदै अरुलाई “हो कि क्या हो ?” भन्ने मात्र पार्छ । अर्थात, बुद्धि खप्परको सन्दुसमा राखिएको “तथ्यांक”ले संकेत गरेकोभन्दा ठूलो सन्सार हेर्न वा देख्न नसक्ने हुन्छ । अहिलेका मानिस यही बुद्धिअनुसार मात्र चल्ने भएर नै गडबड भएको छ । जबकि मनका अनेक आयाममध्ये बुद्धि एउटा आयाम मात्र हो । 

चित्त चौबिसै घण्टा जाग्राम हुन्छ, मानिस सुतेपनि जागेपनि । तर बुद्धि त चाहिएको बेला आउँछ र जान्छ ।

मानिसले मनका अरु आयाम पनि जानीनजानी थोरबहुत उपयोग गरिरहेका हुन्छन् । तर सचेनतापूर्वक सबै आयामको उपयोग भएको छैन । यही भएर भनिन्छ, मानव शक्तिको १०% पनि उपयोग भएको छैन । किनभने मानिसलाई ९०% भन्दा बढी केवल बुद्धि चलाउन मात्र तालिम दिँदै ल्याइयो । यसले गर्दा उनीहरू अरुलाई झुक्याउने, छलछाम गर्ने, उल्लु बनाउने, आफू माथि पुग्ने आदि काममा त चतुर देखिएका छन् तर तिनलाई आफ्नै “जीवन”को अर्थ थाहा छैन । कतिसम्म भने घरको आफ्नै कोठामा, घरको आँगन-सिकुवामा र समाजमा कसरी शान्तिपूर्वक आफू बाँच्ने भन्नेबारे पनि तिनीहरू प्रस्ट छैनन् । परिणामस्वरुप काकतालिका भरमा काम गरिरहेका छन् र त्यसैलाई “सफलता” ठानिरहेका छन् । अर्थात, उनीहरू सन्सार कुनै न कुनै किसिमले चलाउन जान्ने तर आफूभित्रैको मन, ऊर्जा, संवेदना र आफ्नै शरीरलाई कसरी सञ्चालन गर्नेबारे थाहा नभएको देखिन्छ ।

मानिसलाई “फिट” रहनु भन्यो सुन्दैन । स्वाभाविक रुपमा जिउनुस् भन्यो पुटुस्सै भुँडी पाल्छ । यही हो बुद्धि मात्रको काम । “चित्त सुद्धि” छैन । बुद्धिले “तर्क” गर्दा “तुलना” गर्ने विधि (Method) पनि अपनाउँछ । उदाहरणको लागि यो सन्सारमा तिमी एक्लै छौ भने “तिमी” नै “महान” कि “तुच्छ” कसरी थाहा पाउने ? तर केही मूर्ख या बुद्धुबीच बसे त उनको “तुलना”मा आफूलाई “महान” ठान्ने आधार मिल्ने भयो । बस् बुद्धिले यही चातुर्य-चटक गरेर झुक्याउँछ ।

२) मानस

यसका पनि थुप्रै तह हुन्छन् । यो आँखाले देखिने ‘सेतो गिदी’ मात्र होइन । वास्तवमा यो शरीरका तन्तुतन्तुमा व्याप्त हुन्छ । यसको स्मरण शक्ति असाधारण किसिमको हुन्छ । यसले अहिलेको मात्र होइन लाखौँ वर्ष पुरानो कुरा पनि सम्झन सक्छ । जस्तैः तपाईंका पुर्खा लाखौँ वर्षअघि कस्ता थिए ? बुद्धिले भन्न सक्दैन तर यसबारे तपाईंको तन्तुतन्तुले भन्न भनिरहेको हुन्छ । तपाईंका आँखा, नाक, मुख, उचाइ, आँखिभौँ, चौडाइ, केश, केशको रंग र आकार-प्रकार, दाह्री, जुँगा, दाँतका आकार-प्रकार, हड्डीका लम्बाइ जाँची हेर्ने हो भने तपाईंका पुर्खा कस्ता थिए भनेर तिनले भन्छन् । अझ डीएनए जाँच गरेपछि त विज्ञानले ठ्याक्कै भन्न सक्छ । यही शरीरभरि छरिएर बसेको स्मरण गर्न सक्ने कोषलाई ‘मनोमय कोष’ भनिन्छ । शरीरका हरेक सेलमा ‘स्मरण (Memory)’ र ‘चित्त (Intelligence)’ हुन्छन् तर ‘बुद्धि (Intellect)’ हुँदैन । मानस (Brain) मा बुद्धि (Intellect) हुन्छ । पाश्चात्य मुलुकमा चलेको Mind शब्दले ले मनका सबै आयाम समेट्दैन । 

“चित्त बुझे”पछि मानिसभित्र निहित सारा शक्ति वा “ऊर्जा” त्यही चाहेको कुरा हासिल गर्न केन्द्रित हुन्छन् ।

३) अहंकार

पाश्चात्य मुलुकमा ‘अहंकार’लाई इगो भनी अनुवाद गरिए पनि त्यो मिल्दैन । अहंकार भनेको ‘पहिचान भाव’ (Sense of identity) हो । मानिसको ‘बुद्धि (Intellect)’, अहंकार (Identity)सँग सिधै जोडिएको हुन्छ । अहंकारले नै पहिचान दिन्छ र “मै हुँ” भावना मानिसमा जगाउँछ । यो भएन भने मानिस पहिचानविहीन र सबैले हेप्ने जन्तुमा परिणत हुन्छ । जब “अहंकार” सक्रिय हुन्छ तब मात्र बुद्धिले काम गर्न थाल्छ । किनभने बुद्धि अहंकारको दास हो । हाम्रो अहंकार कुनै मुलुकमा, समाजमा या कुनै पनि ठाउँमा बाँच्नको निम्ति नभई हुन्न । तर अहंकारले मात्र अघि बढ्दै र प्रगति-उन्नति गर्दै जान सकिन्न किनभने खप्पर (Brain box) मा पाँच इन्द्रियहरूले हालिदिएका सीमित तथ्यांकका आधारमा चल्ने बुद्धिको सहारामा मात्र ‘अहंकार’ चलायमान हुन्छ । यसरी अहंकारले अह्राएएजस्तो मात्र बुद्धिले काम गर्दा नै ‘अराजकता’, ‘समाजविरोधी (Anti-social) गतिविधि’ र ‘आतंकवाद’ जन्मकिने हो । मानव सभ्यता विकसित हुँदै आउने क्रममा अहंकारलगायत मानवका अन्य मन-ऊर्जा समेत सञ्चालन गरेर एकापसमा ‘द्वन्द र सहअस्तित्व (Conflict and co-existence)’ अपनाउँदै यहाँसम्म आइपुग्न सम्भव भएको हो ।

४) चित्त

चित्तको स्मरण गर्ने क्षमता हुन्न । यो सिरिफ चित्त (Intelligence) हो, ब्रह्माण्डजस्तो जोडदार अस्तित्वसहित उपस्थित छ यो मनको आयाम । यो छ र नै सबथोक हुन्छ । यो ‘स्मरण’को आधारमा चल्ने हुँदैन तर आफ्नै किसिमले चल्छ । बुद्धिअनुसार होइन यो चित्त चित्तजस्तै चल्छ । चित्त मनको सबैभन्दा अन्तिम विन्दु हो । यो जिउँदो-जाग्दो हुन्छ र यो नै मानवलाई रचना (Creation) र चेतना (Consciousness) सँग जोड्ने आधार बन्छ ।

चित्त चौबिसै घण्टा जाग्राम हुन्छ, मानिस सुतेपनि जागेपनि । तर बुद्धि त चाहिएको बेला आउँछ र जान्छ । मानिस जागिरहेको भए पनि बुद्धि फेल हुन सक्छ । तर, चित्त निभ्यो भने मानिस जीवित रहन्न । चित्तले नै मानिस जिउँदो भएको प्रमाण दिन्छ, मानिसलाई सधैँ केही न केही गर्न उचाल्छ र जीवनलाई वास्तविक ‘जीवन’ बनाउँछ । यही “चित्त बुझे”पछि नै मानिसले आफ्ना सारा ऊर्जालाई जोडेर-संयोजन एकोहोर्यासएर परिचालन गर्छ । परिणामस्वरुप कुनै पनि कुरा हासिल गर्न मानिस लागिपर्छ र हासिल गरीछाड्छ । सफल मानिसको रहस्य पनि यही हो । “चित्त” बुझे मात्र कुनै पनि काम गर्ने नत्र नगर्ने गरे, जसले पनि आफूले ‘ताकेको’ वा चिताएको पुग्छ । मन्दिरहरूमा वा पूजास्थलमा मानिसले “वर” माग्ने वा “योगा” गर्ने वा “ध्यान” गर्ने पनि कतै अलमल नगरी एकोहोरो हुनको निम्ति यही ‘चित्त’लाई गरिने तालिम हो । 

बाधा-अवरोध गर्ने निकाय, राजनीतिक व्यवस्था, अर्थतन्त्र, शैक्षिक तथा सामाजिक प्रणालीलाई बदल्न, उखेलेर फाल्न नै सबै मानिसको बुद्धि, मानस, अहंकार, चित्त युद्धस्तरमा दिनरात लागिरहन्छन् ।

५) दैव नै कमारो (The Devine Enslave)

मनभित्रको “चित्त”लाई एकोहोर्‍याउन ‘ईश्वर प्रानिध्यान (ईश्वरलाई समेत सेवक बनाउने)’ योग गर्नुपर्छ भनिन्छ । यो योग गरे ईश्वरलाई समेत आफ्नो निम्ति भनेजस्तो काम गर्ने कमारो बनाउन सकिन्छ । यसैले “योगी-ध्यानी”हरू भन्ने गर्छन्– “शिव मेरो कमारो हो । मेरो निम्ति शिवले सबथोक गरिदिन्छ, जुटाइदिन्छ ।”

हुन पनि योगी-ध्यानीहरूसँग केही हुँदैन तर चाहिएको पाएकै हुन्छन् । चित्तले जे चाहेको छ जीवनमा त्यो पक्कै हासिल हुन्छ । किनभने “चित्त बुझे”पछि मानिसभित्र निहित सारा शक्ति वा “ऊर्जा” त्यही चाहेको कुरा हासिल गर्न केन्द्रित हुन्छन् । त्यसैले “चित्त” नै बुद्धि, मानस र अहंकारभन्दा माथि, कुनै पनि सोच-विचारभन्दा बलियो, कुनै पनि विभाजनभन्दा पूर्णता भएको सर्वशक्तिमान ऊर्जा हो । यो हरेक मानवभित्रै हुन्छ । यसले हरेक क्षण घटना गर्ने र काम गराउने गरिरहेको हुन्छ । यसलाई आफूले भनेजस्तो किसिमले परिचालन मात्र गर्न जान्नु पर्छ । आज जो जसले जस्तो जीवन बाँचेको छ त्यो भित्र चित्तको तहमा उसले आफैले चाहेरै हासिल गरेको जीवन हो ।

टिप्पणीः सबैको ‘चित्त’ बुझाउने कसरी ?

उल्लेखित विवरणका आधारमा हेर्दा– ‘नेपालमा सामाजिक विविधता छ’ भन्नुको अर्थ ‘फरक-फरक बुद्धि, मानस, अहंकार र चित्त भएका मानिसले भरिएका समाज छन्’ भनेर बुझिन्छ । सबैको ‘चित्त’ बुझे मात्र तिनको बाँकी ऊर्जाहरू (बुद्धि, मानस र अहंकार) पनि मुलुकको प्रगति-उन्नतिको काममा जुट्छ । नत्र चाहे त्यो राजा होस् या सरकार होस् या सैनिक डिक्टेटर होस् बाधा-अवरोध गर्ने निकाय, राजनीतिक व्यवस्था, अर्थतन्त्र, शैक्षिक तथा सामाजिक प्रणालीलाई बदल्न, उखेलेर फाल्न नै सबै मानिसको बुद्धि, मानस, अहंकार, चित्त युद्धस्तरमा दिनरात लागिरहन्छन् । र सबैको “चित्त” बुझ्ने अवस्था आएपछि बल्ल ‘राजनीतिक स्थिरता’ हुन्छ जुन कुनै पनि मुलुकको उन्नति-प्रगतिको निम्ति पूर्वसर्त हो । नेपालमै बनेका सुन्दर मन्दिरहरू लिच्छविकालमै किन निर्माण भए ? भनिन्छ, नेपालको इतिहासमा सबैभन्दा शान्तिपूर्ण अवस्था लिच्छविकालमै थियो । परिणामस्वरुप सुन्दर मन्दिरहरूले भरिएका शहरहरूको निर्माण भयो ।

तर नेपालको इतिहासमा धेरैजसो समाजका अरु समूह र समुदायको चित्त बुझ्ने किसिमले धेरै शासकले काम गरेनन् । यही कारण हो जसले गर्दा नेपाली जनता आफ्नो चित्त बुझ्ने किसिमको अवस्था आउन नदिनेहरूको विरुद्धमा आफ्ना मन, वचन, कर्म सबै लगानी गरेर लडाइँमा सामेल हुँदै आएका छन् । यो हिजो राणाका विरुद्ध, पञ्चका विरुद्ध, राजाको निरंकुश शासनका विरुद्ध लामो समय लागेर विकसित भएको जनताको संघर्षशील ‘डीएनए’ र ‘एन्टीबडी’ पनि हुन् । जनताका शरीरका यिनै डीएनए र एन्टीबडी आजका नयाँ शासकहरूमा निहित ‘असमावेशी ब्याक्टेरिया’लाई ध्वस्त पार्न ‘बम’ भएर पडकिरहेका छन् । जनताको चित्त नबुझेसम्म यही ‘चित्त’ले जनतालाई संघर्षमा सामेल गराइरहनेछ र हुँडारजस्ता आसमावेशी शासकहरू सन्सारबाट हार्दै जाने छन् । समय लाग्ला, तर यो निश्चित छ ।

ईशा फाउण्डेशन

अनुवाद र प्रस्तुति : विक्रम सुब्बा

क्याटेगोरीः समाज