राज्यले तामाङहरुलाई किन शिक्षामा पछाडि पारेको होला ?

राज्यले तामाङहरुलाई किन शिक्षामा पछाडि पारेको होला ?

तथ्यांकले के देखाउँछ भने तामाङ समुदाय शिक्षामा पहाडी दलित समुदायभन्दा पनि मुनि छ । नेपालको जनसंख्याको करिब ६ प्रतिशत जनसंख्या ओगटेका तामाङ समुदाय राज्यको मूलधारमा देखिँदैन, न त शिक्षाको मूलधारमा देखिन्छ । सरोकारवाला निकाय र स्वयं समुदाय पनि त्यति गम्भीर देखिँदैन । फलस्वरुप तामाङ समुदाय शिक्षामा सबैभन्दा पछाडि परेको भन्दा अन्य अर्थ लाग्दैन ।

अहिलेसम्मको शैक्षिक प्रणाली एकल समुदायमा आधारित छ । यसले गर्दा तामाङ बालबालिका विद्यालय गएर फर्किंदा आफ्नो मौलिक संस्कार, भाषा र परम्पराप्रति गर्व होइन, हीनताबोध हुने गरेको छ । नेपालमा यस्तो शैक्षिक प्रणाली छ जहाँ शिक्षित हुन आफ्नो पहिचान बिर्सेर अरुकै धर्म, संस्कृति, भाषा, लिपि, अरुकै पहिचानको ज्ञाता हुन बाध्य छौं । भाषिक विभेदकै कारणले तामाङ बालबालिका विद्यालय छाड्न बाध्य छन् । घरमा एउटा भाषा, विद्यालयमा अर्कै भाषा, घरमा एउटा संस्कार, विद्यालयमा अर्कै संस्कार, घरमा एउटा धर्म विद्यालयमा अर्कै धर्म । उनीहरुले आफ्नो मौलिकता विद्यालयको कुनै कुनामा भेटाउँँदैनन् । अब आफ्नो पहिचानसहित शिक्षित हुन पाउने शिक्षा प्रणाली आवश्यक छ वा छैन ? यो तामाङ विद्यार्थीहरुको अधिकारभित्र पर्छ कि पर्दैन ? अहिले तड्कारो रुपमा उब्जिएको प्रश्न हो । 

अहिलेसम्मको शैक्षिक प्रणाली एकल समुदायमा आधारित छ । यसले गर्दा तामाङ बालबालिका विद्यालय गएर फर्किंदा आफ्नो मौलिक संस्कार, भाषा र परम्पराप्रति गर्व होइन, हीनताबोध हुने गरेको छ ।

अहिलको शिक्षाप्रति तामाङ बालबालिकामा वितृष्णा देखिन्छ । उनीहरुको विद्यालय भर्ना दर कम छँदैछ, त्यसमाथि विद्यालय छाड्ने दर पनि गम्भीर नै छ । २ वर्षअघि चाइल्डस्पेश फाउन्डेशन, नेपालले अभिभावक, विद्यार्थी, शिक्षक, नेता र जनप्रतिनिधिसँगै शिक्षासँग सम्बन्धित सरकारी निकायसँग समेत अन्तर्क्रिया गरेको थियो । ती अन्तर्क्रिया र अध्ययनबाट तामाङ बालबालिकाको अधिकारका उल्लंघन भएका तथ्य फेला परेको थियो ।

तथ्यांकअनुसार विद्यालयमा तामाङ बालबालिका ७८ प्रतिशत भर्ना हुन्छन् । र २२ प्रतिशतले मात्रै आधारभूत शिक्षा तह पास गर्छन् । १ प्रतिशतले मात्रै क्याम्पस तहमा अध्ययन गर्न पुगेको देखिन्छ । यस्तो डरलाग्दो अवस्था किन सिर्जना भयो त ? विकसित भनिने खसआर्य बालबालिकाले जस्तै उनीहरुले आफ्नै भाषा, इतिहास, संस्कृति, धर्म औपचारिक शिक्षा नपाउनु त होइन ? उनीहरुले जस्तै तामाङ बालबालिकाले पनि आफ्नै इतिहास, भाषा, धर्म, संस्कृति र परम्परा पढ्न पाएका भए खस आर्य बालबालिकाजस्तै अगाडि बढ्न सक्थे कि ?

तामाङहरु शिक्षामा पछाडि पर्नुका ३ कारण

bhukamp-tamang-basti-1

१. विद्यालयमा भाषिक तथा सांस्कृतिक वातावरण

स्थलगत अध्ययनको क्रममा भाषिक तथा सांस्कृतिक विभेदका कारण विद्यालय छाड्ने तामाङ समुदायका विभिन्न उमेर समूहका व्यक्तिलाई भेटिएको थियो । बालबालिकादेखि वयस्क र वृद्धसम्मको भनाइमा तामाङ बालबालिकाले विद्यालय छाड्नुको मुख्य कारण हो, विद्यालयमा भाषिक तथा सांस्कृतिक वातावरणमा शिक्षण सिकाइ वातावरण नहुनु । घरमा र विद्यालयमा भिन्नाभिन्नै भाषा, धर्म, संस्कार हुनु एवं आफूले जानेका भाषा, धर्म र संस्कारको प्रयोग गर्नमा विद्यालयमा बन्देज हुनु । बालबालिकाले प्रयोग गरीहाले पनि हाँसोको पात्र बनाउने, अपहेलना गर्ने हुनु थप समस्या हो ।

यसरी तामाङ बालबालिकाले विद्यालयमा कहिल्यै पनि आफ्नोपन भेट्टाएनन् । आफू र आफ्नो समुदायप्रति नै हीनताबोध गर्न बाध्य बनाइयो । ज्ञानका अनेक मुहान थुनिए । अरुकै पहिचानबाट आफू शिक्षित हुनुपर्ने बाध्यताले शिक्षाप्रति नै वितृष्णा जगायो र विद्यालय छाड्ने बाध्यता बन्यो । यसरी राज्यले नै बालबालिकालाई पढ्न पाउने जन्मसिद्ध अधिकारबाट वञ्चित गरायो । समावेशी शिक्षाको वातावरण विद्यालयमा बनाइएन । तामाङ समुदायको पहिचानलाई पाठ्य विषय बनाइएन । आफ्नो पहिचानप्रति घृणा जगाउने खालको शिक्षा प्रणालीको विकास भयो । 

विद्यालयमा तामाङ बालबालिका ७८ प्रतिशत भर्ना हुन्छन् । र २२ प्रतिशतले मात्रै आधारभूत शिक्षा तह पास गर्छन् । १ प्रतिशतले मात्रै क्याम्पस तहमा अध्ययन गर्न पुगेको देखिन्छ ।

अहिलेको नयाँ संविधानले बालबालिकालाई विद्यालयमा भाषा, संस्कृति, धर्म, जातिको आधारमा विभेद गर्न नहुने र बरु विद्यालयमा उनीहरुका भाषा, संस्कृतिको प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । धेरै कुरा अस्पष्ट त छँदैछन्, तर कार्यान्वयन तहमा एकल जातीय समुदायको बाहुल्यता भएकोले विद्यालयमा यी अधिकार प्रयोग हुन गाह्रो छ । त्यसका लागि सबै बालअधिकारवादी संस्थाले यस्तो संवैधानिक अधिकारलाई विद्यालय तहमै कार्यन्वयन नजिकबाट सहयोग गर्नु जरुरी छ ।
२. तामाङ समुदायका परम्परागत शिक्षा प्रणालीप्रति बेवास्ता

राज्यले तामाङ समुदायमा भएको परम्परागत शिक्षा प्रणालीलाई पूरै नामेट बनायो । उनीहरुको परम्परागत शिक्षा प्रणालीलाई औपचारिक शिक्षाको मान्यता दिइएन । तामाङ समुदायमा पनि इतिहासविद्, समाजशास्त्री, भूगोलविद्, धर्मशास्त्री आदि छन्, जस्तै ताम्बा, गान्बा, लामा, लोबोन, बोन्बो । तर उनीहरुले चलाइरहेको शिक्षालाई औपचारिक शिक्षाको मान्यता दिइएन । २० वर्ष लामा पढेकोलाई पनि शिक्षितको मान्यता दिइएन । वर्षौंंदेखि जडीबुटीको माध्यमबाट बिरामीको सेवा गर्ने बोन्बोलाई दीक्षित भनिएन । उनीहरुको ज्ञानलाई राज्यले औपचारीक शिक्षाको मान्यता दिएन । बरु लोकसेवा आयोगको परीक्षा लिँदा राज्यले रामायण, महाभारत, श्रीमतभगवतबाट प्रश्न बनायो । अनि तामाङ समुदाय फेल नभएर को हुन्छ ? त्यसैले यस अध्ययनबाट थाहा भएको छ, राज्यले तामाङ समुदायका परम्परागत शिक्षा प्रणालीलाई मानता दिएन र पाठ्य विषय पनि बनाएनन् । फलस्वरुप तामाङहरु शिक्षाको मूलधारबाट वञ्चित भए ।

३. भौतिक हिसाबले विद्यालय दुर्गम हुनु

राज्यले विद्यालयलाई तामाङ समुदायतिर लगेको छैन, बरु टाढा नै राखेको छ । धेरै संख्यामा तामाङहरु रहेका गाउँमा विद्यालय स्थापना भएको देखिँदैन । तर थोरै जनसंख्या भएको खसआर्य समुदायका गाउँमा पनि कलेज तहसम्मका विद्यालय पाइन्छन् । तामाङ बालबालिका विद्यालय जान घण्टौंसम्म हिँडेपछि मात्र विद्यालय पुग्ने अवस्था छ । भौगोलिक रुपमा दुर्गम भएका तामाङ गाउँसम्म विद्यालयक नपु¥याइएकोले उनीहरु शिक्षाको अवसरबाट टाढा हुन बाध्य भए । फलस्वरुप तामाङ समुदाय शिक्षाको मूलधारमा आउन नसेको हो । 

लोकसेवा आयोगको परीक्षा लिँदा राज्यले रामायण, महाभारत, श्रीमतभगवतबाट प्रश्न बनायो । अनि तामाङ समुदाय फेल नभएर को हुन्छ ?

उदाहणका लागि, काभ्रेका कानपुर उमावि र रोशी उमावि सबैभन्दा पुरानो विद्यालय हुन् । यी विद्यालय पनि तामाङ समुदायबाट धेरै टाढा छन् । वरपर मूलतः तामाङ गाउँ भए पनि विद्यालय भवन भने १०÷१५ घरधुरी भएको खसआर्य समुदायकै टोलमा ठड्याइएको छ । यसरी तामाङ समुदायका लागि विद्यालय बिरानो भएको मुलुकमा राज्यले भौतिक रुपमै तामाङ समुदायबाट विद्यालय टाढा राखेको छ ।

यी तीन कारणले तामाङ समुदाय शिक्षा र राज्यको मूलधारबाट वञ्चित हुन बाध्य छन् । यी सबै अवरोधलाई हटाउन राज्यकै नीति तथा कार्यक्रमका साथ अगाडि आउनुपर्छ र अरु संघसंस्थाले त्यसलाई टेवा पु¥याउँदै अगाडि कार्यक्रम सञ्चालन गर्दै जानुपर्छ । र राज्यको सामान्य रुपमा बालमैत्री शिक्षण शिकाइ प्रणालीको विकास गर्नुपर्छ भने अरु संघसंस्थाले त्यसमा सहयोग पु¥याउनुपर्छ । त्यसको मुख्य कुरा भनेको विद्यालयमा खस आर्य समुदायका भाषा संस्कृतिभन्दा भिन्न खालका समुदायका विद्यार्थीका लागि अनुकूल भाषिक तथा सांस्कृतिक वातावरण निर्माण गर्नु हो, विद्यालयमा अन्य विद्यार्थीका भाषा र संस्कृतिको सम्मान र प्रयोग गर्न टेवा पु¥याउनु हो । यस अर्थमा तामाङ बालबालिकाका भाषिक तथा सांस्कृतिक अधिकार स्थापित गर्दै उनीहरुले बुझ्ने भाषामा शिक्षा लिन पाउने अधिकारको प्रत्याभूति गराउनु हो । यस्तो अधिकारलाई सुनिश्चित गराउन सबैतिर ‘विद्यालयमा सांस्कृतिक संवेदनशील सिकाइ’ कार्यान्वयनलाई व्यापक बनाउनु बुद्धिमानी हुन्छ ।

क्याटेगोरीः समाज