सुत्केरी र बच्चाको उद्धारमा ज्यान गुमाएका रंजन लिम्बु, अल विदा !

सुत्केरी र बच्चाको उद्धारमा ज्यान गुमाएका रंजन लिम्बु, अल विदा !

भूकम्प र बाढीपहिरोको उद्धारका लागि सबैभन्दा ज्यादा हेलिकप्टर उडान भर्ने पाइलटका रुपमा रंजन चिनिन्छन् ।


नेपाली लोकतान्त्रिक राजनीतिको लागि पञ्चायती शासनविरुद्ध बन्दुक उठाउने स्वतन्त्रता सेनानी आदरणीय भूविक्रम नेम्वाङले २०७३ श्रावण २३ गते आइतबारका दिन प्राण त्याग्नुभयो । उहाँको दाहसंस्कारमा सहभागी हुन हामी तीन जना, आदरणीय दाइहरु रामभक्त कुरुङवाङ, खगेन्द्र माखिमसँगै म धुलाबारी पुग्यौँ । त्यहाँ पुग्दा नजिकको खोलामा दाहसंस्कारको कार्य करिब आधा सकिएको थियो । हामी तीनै जना विविध कार्यले गर्दा अलि ढिलो पुग्यौँ । ranjan

पुगेको करिब २० मिनेटमा खगेन्द्र दाइले मलाई हृदय झस्कने खबर सुनाउनुभयो । आदरणीय दाइ भक्तबहादुर खेवाङको छोरा रंजन लिम्बुले गोर्खाबाट काठमाडौंको लागि उडाएको हेलिकप्टर हराएको खबरले मलाई झनै निराश र भावुक बनायो । म त्यसै भूविक्रम नेम्वाङजस्तो क्रान्तिकारी व्यक्ति निधनले दु:खी थिएँ । अर्को त्यस्तो खबरले निराश पार्नु स्वाभाविकै थियो ।

भक्त खेवाङ दाइले मलाई एकपटक दमकमा राजनीतिक गफ गर्ने क्रममा उहाँको छोरा पाइलट भएको सुनाउनु भएको थियो । यो सुनेर म धेरै खुसी भएको थिएँ, मलाई ऊर्जा मिलेकोजस्तो लागेको थियो । आदिवासी समुदायका पाइलटहरु औँलामा गन्न सकिन्छ । रंजन लिम्बु पनि औँलामा गन्ती हुने महत्वपूर्ण व्यक्ति थिए ।

२०७३ श्रावण २४ सोमबार ३ दिनको सिकिस्त सुत्केरी र बच्चालाई गोरखाबाट उपचारको लागि काठमाडौं ल्याउने क्रममा नुवाकोटमा बाक्लो बादलले नदेखिएको पहाडमा ठक्कर लागेर हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यसैमा परी सानै उमेरमा मृत्यु भएका रंजन लिम्बुको श्रावण २७ गते बिहीबारको दिन लिम्बु संस्कारअनुसार झापाको चारआलीको जंगलमा अन्तेष्टि गरियो । यही क्रममा उनको बारेमा सुन्ने मौका पाएँ ।

३ दिनको सिकिस्त सुत्केरी र बच्चालाई गोरखाबाट उपचारको लागि काठमाडौं ल्याउने क्रममा नुवाकोटमा बाक्लो बादलले नदेखिएको पहाडमा ठक्कर लागेर हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । 

रंजन चारआलीकै विद्यालय लिटल एन्जल्सबाट एसएलसी उत्तीर्ण गरी ए लेबल अध्ययन गर्न काठमाडौं पुगेका थिए । उनले किङ्स कलेजबाट ए लेबल कोर्स पूरा गरेर अमेरिकाको क्यालिफोर्नियामा रहेको ओसियन इन्स्टिच्युटबाट सात महिना हेलिकप्टर पाइलटको ट्रेनिङ सक्याएका थिए । २०६५ सालमा काठमाडौंमा फर्केर आउने बितिकै उनले फिस्टेल एयरमा को–पाइलटको रुपमा काम शुरु गरे । उनले करिब ७ वर्ष हेलिकप्टर उडाए ।

आजभन्दा सात महिनाअघि मात्रै उनी स्विट्जरल्याण्डमा रेस्क्युसम्बन्धी तालिम सकेर आएका थिए । त्यहाँ ट्रेनिङ दौरानमा उनले सबैभन्दा ज्यादा भारी बोकेर नयाँ रेकर्ड दर्ज गराएका रहेछन् । उनको क्षमतालाई नेपाललगायत विदेशी पाइलटले समेत मुक्तकण्ठले प्रशंसा गरेका छन् । यतिको छोटो समयमा उनले हेलिकप्टर उडानमा इतिहास रचेका छन् । २० वर्षको कलिलो उमेरमै हेलिकप्टरको पाइलट बनी उनले आफ्नो अलग छाप छाडे ।

ranjan-limbu-2

प्रविधि भर्सेस मानवीय श्रम : उत्तरी गोरखाका रिप्चेतमा रंजनले खिचेको तस्बिर र त्यसको शीर्षक

२०७२ सालको महाभूकम्पमा र यो वर्षको बाढीपहिरोको उद्धरका लागि सबैभन्दा ज्यादा हेलिकप्टर उडान भर्ने पाइलटको रुपमा रंजन लिम्बुलाई चिनिन्छ । उनले अप्ठ्यारा ठाउँहरुमा समेत धेरै पटक हेलिकप्टर ल्याण्ड गरिसकेका थिए । उनी दिनमा ३ या सोभन्दा बढी हेलिकप्टर उडाउँथे जुन सामान्य कार्य होइन ।

चित्रकलामा पनि रंजन लिम्बुको राम्रो दख्खल थियो । उनी फोटो खिच्न निकै सौखिन थिए । साहसी, जाँगरिलो, मेहनती र इमान्दारिताको पर्यायबाचीको रुपमा रन्जनलाई लिन सकिन्छ । उद्धारकै क्रममा उनले ज्यान गुमाए । उनको काम र जीवनलाई सलाम छ । उनलाई जन्म दिने बाबा संघीय लिम्बुवान पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा एकताको महाधिवेशन आर्थिक व्यवस्थापन समिति संयोजक भक्तबहादुर लिम्बु र आमा शान्तिदेवी लिम्बुलाई पनि सलाम छ ।

हामीले एउटा राष्ट्रको सम्पत्ती गुमायौ । रंजन लिम्बु २७ वर्षको कलिलो उमेरमा यति अनुभवी भइसकेका थिए कि आगामी केही महिनापछि उनी फिस्टेल एयरको इन्स्ट्रक्टरमा नियुक्ति हुने पक्का भएको थियो । उनको मृत्यु पनि मानवीय उद्धारकै क्रममा भएको छ जुन सराहनीय छ । 

स्विट्जरल्याण्डमा रेस्क्युसम्बन्धी तालिममा उनले सबैभन्दा ज्यादा भारी बोकेर नयाँ रेकर्ड दर्ज गराएका रहेछन्

यही क्रममा मैले बाबु भक्तबहादुर खेवाङबाट एउटा ठूलो पाठ सिकेँ । उहाँले यस्तो दु:खको घडीमा देखाउनु भएको धैर्य सराहनीय छ । उहाँले शोकलाई शक्तिमा रुपान्तरण गर्नुभयो । यतिका पीडाका बाबजुद पनि उहाँ सामान्य व्यक्तिको रुपमा जस्तै देखिनुभयो । उहाँले धेरै पत्रकारलाई बारम्बार अन्तर्वार्ता सहजमा दिनुभयो । उहाँ आफूलाई लागेको पीडालाई पनि सहजमा रुपमा लिन सक्नु हुनेरहेछ । हाम्रो पार्टीले उहाँजस्तो व्यक्ति पाएका छौँ, म गर्व गर्छु ।

रन्जन लिम्बुको पार्थिव शरीरमा संघीय लिम्बुवान पार्टी, नेपालको तर्फबाट सर्वोच्च नेता कमल छाराहाङ र उपाध्यक्ष खगेन्द्र माखिमले झन्डा चढाउनु भयो भने शोक मन्तव्य सर्वोच्च नेता कमल छाराहाङले राख्नुभयो । रंजनको अन्त्येष्टिमा मानव सागर नै उर्लिएको अनुभूति गरेँ । अल विदा रंजन लिम्बु ।

क्याटेगोरीः समाज

लेखक बारेः

केदार धिमाल

धिमाल संघीय लिम्बुवान पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य हुन् ।